जीवन सफल बनाउन सैद्धान्तिक भन्दा प्रयोगात्मकमा जोड दिउँ : एल पि भानु शर्मा

0

असोज ७, गैंडाकोट । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवं जीवन विकास विशेषज्ञ योगगुरु एल. पि. भानु शर्माले जीवन सफल बनाउन सैद्धान्तिक भन्दा प्रयोगात्मक अध्ययनमा जोड दिन आग्रह गर्नुभएको छ ।

जुम प्रविधिमार्फत भएको प्रतिभा जागरण शिक्षा कार्यक्रममा बोल्दै उहाँले अनुभवमा आधारित, योगदानमा आधारित र विकासमा आधारित शिक्षालाई जोड दिन आग्रह गर्नुभएको हो । आध्यात्मिक दृष्ट्रिकोणबाट हेर्दा शिक्षा भनेको सत्यम, शिवम, सुन्दरम रहेको बताउनुभयो । सान्तवान, प्रेमवान, कुशलता वा ब्रहमा, विष्णु महेश्वर भन्नु नै शिक्षा भएको उल्लेख गर्दै विद्यार्थीहरुले पनि सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा खोजेको बताउनुभयो । योगअभ्यास, प्राणायम र ध्यानमा जोड दिएमा शिक्षालाई पनि अघि वढाउन सकिने उहाँको भनाई छ ।
३० वर्ष भन्दा लामो समयदेखी योग, ध्यान, शिक्षा र सेवामा जीवन समर्पित गर्नुभएका योगगुरु एल. पि. भानु शर्माले जीवन शिक्षा र योगभ्यासबारे जानकारी गराउनुभएको थियो । देश विदेशका ८ लाख भन्दा वढि व्यक्तिलाई उहाँले योग गराईसक्नुभएको छ । नेपाल, भारत, म्यानमार, मलेसिया, अमेरिका लगायतका स्थानमा उहाँले योग र ध्यानबारे प्रशिक्षण दिनुभएको छ । म्यानेजमेन्ट र फाईनान्सियलका कन्सल्ट्यान्ट उहाँका १५० भन्दा वढि लेख रचना र पुस्तक, गीता महाज्ञान प्रकाशनमा छन् ।
कार्यक्रमका अध्यक्ष शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरका संयोजक लक्ष्मि गौतमले वर्तमान अवस्थामा शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा सचेतना प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । आध्यात्म र शिक्षालाई सँगसँगै कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा योगगुरु एल. पि. भानु शर्माका महत्वपूर्ण वाणी प्रेरणाका स्रोत हुने बताउनुभयो ।
कार्यक्रमका सहभागीको जिज्ञाशा योग गुरु शर्माले समाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक महासंघ नवलपुरका जिल्ला अध्यक्ष मोहनलाल कलवार, प्याव्सनका प्रतिनिधि भोजराज दाहाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे, जीवन विज्ञान प्रतिष्ठानका गण्डकी प्रदेशका संयोजक शंकर पोखरेल, प्रशिक्षक नवराज सुवेदी, देवचुली टेलिभिजनका प्रवन्ध निर्देशक केवी राना लगायत शिक्षाका लागि राष्ट्रिय अभियानका अभियान्ताहरु, शैक्षिक विभिन्न संघ संगठनका प्रमुख एवं प्रतिनिधी, शैक्षिक र आध्यात्मिक व्यक्तित्वको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण विजय एफएम १०१.६ का सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले गर्नुभएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुर र जीवन विज्ञान संस्थासँगको सहकार्य एवं शिक्षा विकास तथा समन्वय ईकाई नवलपुर र नेपाल शिक्षक महासंघ नवलपुरको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । मिडिया पार्टनरको रुपमा सामुदायिक रेडियो विजय एफएम १०१.६, विजय खबर पत्रिका र देवचुली टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेका थिए ।

Share.

Leave A Reply