नमुना सहरको परिकल्पना, नगरपालिका र व्यवसायीबीच फाटो, कार्यविधि बन्नुअघि रस्साकसी

0

प्रेम क्षेत्री/डोलराज रानाभाट, 
गैँडाकोट । गैँडाकोट नगरपालिकालाई नमुना सहरका रुपमा विकसित गर्न नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेसँगै कन्सल्टेन्सी र नगरपालिकाबीचको सरगर्मी बढेको छ ।
नगरपालिकालाई नमुना सहरका रुपमा विकसित गर्न आवश्यक पर्ने पूर्वाधार र खासगरी भवन तथा बस्तीलाई थप सुरक्षित, स्वस्थ र वातावरणमैत्री बनाउने प्रयोजनका लागि ७ वटा बुँदामा विभिन्न निर्णय गरेको थियो । यो निर्णयसँग जोडिएका कार्यविधि बन्नुअघि रस्साकसी बढेको हो ।
घुमाउरो पारामा प्राविधिक कन्सल्टेन्सीहरुले नक्सापास प्रक्रियालगायतका विषय सच्याउन नगरपालिकासमक्ष माग गरेका छन् । नगरकार्यपालिकाको निर्णयको विरोधभन्दा पनि नगरपालिकाको भवन संहिता र बाटोसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा सेवाग्राही, जग्गाधनी तथा घरधनीलाई निकै नै समस्या परेको तर्क कन्सल्टेन्सीहरुको छ । व्यवसायमा ह्रास आउने संकेत देखिएपछि उनीहरुले सामूहिक आवाज उठाएका हुन् । यसलाई नगरपालिकाले कार्यविधि बनाउनुभन्दा अघिको दबावका रुपमा लिइएको छ ।
कन्सलटेन्सीले नगरपालिकाका कर्मचारीको दक्षतामाथि प्रश्न गरेपछि नगरपालिकाका तर्फबाट कर्मचारीले दुःख नदिएको भन्दै बचाउसमेत गरेको छ । यस विषयमा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग उनीहरुले छलफलसमेत गरेका छन् ।
नमुना सहरका रुपमा विकसित गर्न नगर कार्यपालिकाको ६८औँ बैठकले घरनक्सा पाससम्बन्धी प्रक्रियामा सरलीकरण गर्ने निर्णय गरेको थियो । त्यस्तै सुरक्षित र स्वस्थकर घर तथा भवन निर्माणका आधार तथा मापदण्ड तयार गर्ने, गैँडाकोट नगरपालिकाका लागि उपयुक्त हुने नमुना घरको ढाँचा प्रस्ताव गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले न्यून र मध्यम आय भएका परिवारलाई १००० वर्ग फिटसम्मको एकतले घरको नक्सा निःशुल्क उपलब्ध गराउन आवश्यक कानुनी र व्यवस्थापकीय तयारी गर्ने समेत निर्णय गरेको छ ।
त्यसैगरी सुरक्षित र स्वस्थकर आवासको महत्त्वबारे नागरिक सचेतना बढाउने, भवन तथा घर नक्सासम्वन्धि कार्य गर्न योग्यता पुगेका व्यक्तिगत परामर्शदाताहरुलाई समेत २ हजार रुपैयाँ शुल्क लिई सूचीकृत गर्ने र घरपरिवारको संक्षिप्त तथ्याङ्क सङ्कलन गर्ने निर्णय गरेको छ ।
नगरकार्यपालिकाको यस्तो निर्णयले व्यवसाय नै धरापमा पर्ने प्राविधिक कन्सल्टेन्सीको तर्क छ । अघोषित रुपमा उनीहरुले यसको विरोध गरेका छन् । नक्सा पास निःशुल्क गरिदिने जस्ता कुराले व्यवसायमा धक्का पुग्ने उनीहरुको ठम्याइ छ । उनीहरुले घुमाउरो पारामा विभिन्न १२ बँुदामा आफ्ना माग राखेका छन् । ध्यानाकर्षण पत्रमा नगरपालिकाले आफै बनाउने संरचनाहरु अनिवार्य रुपमा मापदण्ड पालना गर्ने र गराउनुपर्ने जस्ता कुरा समावेश गरिएका छन् ।

नमुना सहर बनाउन नगरकार्यपालिकाले गरेका निर्णयहरू ः
घरनक्सा पाससम्बन्धी प्रक्रियामा सरलीकरण गर्ने ।
सुरक्षित र स्वस्थकर घर तथा भवन निर्माणका आधार तथा मापदण्ड तयार गर्ने ।
गैँडाकोट नगरपालिकाका लागि उपयुक्त हुने नमुना घरको ढाँचा प्रस्ताव गर्ने ।
१००० वर्ग फिटसम्मको एकतले घरको नक्सा निःशुल्क उपलब्ध गराउन आवश्यक कानुनी र व्यवस्थापकीय तयारी गर्ने ।
सुरक्षित र स्वस्थकर आवासको महत्त्वबारे नागरिक सचेतना बढाउने ।
व्यक्तिगत परामर्शदाताहरुलाई समेत २ हजार रुपैयाँ शुल्क लिई सूचीकृत गर्ने ।
घरपरिवारको सक्षिप्त तथ्याङ्क सङ्कलन गर्ने

                                                     सेवाग्राहीलाई कुनै पनि समस्या छैन ः नगरप्रमुख
गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले कर्मचारीको ढाकछोप गर्दै नगरपालिका क्षेत्रका सात कन्सल्टेन्सीले दाबी गरेजस्तो सेवाग्राहीलाई कुनै पनि समस्या नभएको दाबी गर्नुभएको छ ।
नगरपालिकामा रहेका नयाँ प्राविधिक कर्मचारीले घर नक्सापासमा सेवाग्राहीलाई दुःख दिएको भन्दै यसको समाधान गर्न नगरपालिकाभित्रका सूचीकृत प्राविधिक कन्सल्टेन्सीहरुले ध्यानाकर्षण गराएका थिए । नगरप्रमुख पौडेलले ध्यानाकर्षण पत्रमा दाबी गरिएको कुरा सत्य नभएको भन्दै नयाँ वा पुरानो कुनै पनि प्राविधिक कर्मचारीले सेवाग्राहीलाई समस्या नदिएको बताउनुभएको हो ।
नगरवासीकै सेवाका लागि अहिले नगरपालिकाकाले निरन्तर काम गरिरहेको उहाँको भनाइ छ । नगरकार्यपालिकाको ६८औँ बैठकले १ हजार वर्गफिटभन्दा कम एकतलासम्मको घरनक्सा निःशुल्क बनाइदिने निर्णय गरेको भन्दै कार्यविधि बनाएर चाँडै लागू हुने जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले पनि नगरपालिकाले छिट्टै भवन निर्माण आचारसंहिता जारी गर्ने र स्वास्थ्य, बलिया र वास्तुअनुसारका घरको निर्माणमा जोड दिने बताउनुभयो । घरनिर्माणमा नेपाल सरकारको मापदण्ड भएकाले त्यही अनुसार कार्यान्वयन हुने र कसैलाई खुसी बनाउन नियमभन्दा विपरीत स्थानीय सरकार जान नसक्ने प्रस्ट पार्नुभयो । यसअघि सातवटा कन्सल्टेन्सीहरुले ध्यानाकर्षण पत्र जारी गरी नयाँ प्राविधिक कर्मचारीले नक्सापासमा सेवाग्राहीलाई दुःख दिएको बताएका थिए ।
असन्तुष्ट पक्षसँग छलफल गरिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भुषालले ध्यानाकर्षण पत्रमा रहेका कुराहरुको बुँदाबँुदामा छलफल गरेको बताउनुभयो । कन्सल्टेन्सीले चाहे अनुसार नभई नगरपालिकाको नियमअनुसार घरनक्सा पास हुने बताउँदै उहाँले नगरपालिकाले दुईवटा नीति लिएको बताउनुभयो । अबदेखि गैँडाकोटमा नमुना घरहरुको मोडल होम बनाउने र नगरवासीलाई छनौट गर्न दिई सोही अनुसारको नक्सा बनाउने बताउनुभयो । साथै कस्तो घर बनाउँदा गैँडाकोटका लागि उपयुक्त हुन्छ भन्ने बारेमा पनि छलफल गरेर कसरी अझै सजिलै नक्सा पास गर्न सकिन्छ ? भन्ने विषयमा कन्सल्टेन्सीका प्रतिनिधि र नगरपालिकाका नक्सा शाखा प्रमुख बसेर छलफल गरिने बताउनुभयो ।

                                                    धाइरहनुपर्ने बाध्यता हटाउनुपर्छ ः कन्सल्टेन्सी
गैँडाकोट नगरपालिकामा रहेका नयाँ प्राविधिक कर्मचारीले घर नक्सापासमा सेवाग्राहीलाई दुःख दिएको भन्दै यसको समाधान गर्न नगरपालिकाभित्रका सूचीकृत प्राविधिक कन्सल्टेन्सीहरुले ध्यानाकर्षण गराएका छन् ।
‘यसअघि थोरै प्राविधिक कर्मचारीहरुको संलग्नतामा मात्र घर नक्सापास गर्दै आएकामा स्थानीय तहमा नियुक्ति भई नयाँ प्राविधिक कर्मचारीहरुमार्फत कार्य सुरु भए लगत्तै विविध समस्या र अडचन आई नक्सापास प्रक्रिया निकै गन्जागोल हुन गएको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नगरपालिकाले स्पष्ट प्रक्रिया, प्रावधान तयार नगरी भवनसंहिता र बाटोसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा सेवाग्राही, जग्गाधनी तथा घरधनीलाई निकै नै समस्या आइपरेको छ ।’
नयाँ प्राविधिक कर्मचारीका कारण नक्सापासमा कठिनाइ भएपछि घरधनी बारम्बार नगरपालिका आउनुपरेको र समाधान नहुँदा नक्सापास विना नै संरचना निर्माण हुन थालेको प्रति नगरपालिकालाई गम्भीर हुन आग्रह गरिएको छ । घरनक्सा नयाँ निर्माण परामर्शदाताहरुले लामो समयदेखि मापदण्डअनुसार काम गर्दै आइरहेको भए पनि पहिलो त्यही प्रावधान पास हुने अहिले समस्या सृजना गर्ने भन्दै यसो नगरी नक्सापासलाई सरलीकृत र सहजीकरण गर्न नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बोधार्थ दिई ध्यानाकर्षण गराइएको हो । सेवाग्राहीलाई नक्सा पासमा नगरपालिकले सहजता प्रदान गर्नुपर्ने र बारम्बार धाइरहनुपर्ने बाध्यतालाई हटाउनुपर्ने उल्लेख गरिएको छ ।
सूचीकृत सातवटा कन्सल्टेन्सीले संयुक्त रुपमा हस्ताक्षर गरी गराइएको ध्यानकर्षण पत्रमा १२ वटा सुझाव दिई तत्काल कार्यान्वन गर्न माग गरिएको छ । यी सुझाव कार्यान्वयन भए मात्रै सुन्दर व्यवस्थित सहर निर्माण हुने भन्दै करदाता नगरवासीलाई दुःख नदिन आग्रह गरिएको छ । हस्ताक्षर गर्नेहरुमा साइन इन्जिनियरिङ कन्सल्टेन्सी, नारायणी ट्रेनिङ एन्ड इन्जिनियरिङ प्रा.लि., साउथ बेस्ट मल्टी प्रपोज कन्सल्ट, ग्रान्ड भ्यू इन्जिनियरिङ कन्सल्टेन्सी, ओनल इन्जिनियरिङ कन्सल्टेन्सी, जिनियस इन्जिनियरिङ कन्सल्टेन्सी र नेवरहुड क्रियसन इन्जिनियरिङ कन्सल्टेन्सी रहेका छन् ।

Share.

Leave A Reply