१ सय किलो गाँजाको कारोवारीमा संलग्न २ जनालाई चितवन प्रहरीले पक्रियो

0

डोलराज रानाभाट, चितवन, २ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले १ सय केजि प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । गाँजा बरामद पछि थप अनुसन्धान गरेको प्रहरीले यसको कारोवारमा संलग्न २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत भदौ २१ गते राति साँढे १ बजे राप्ती नगरपालिका ८ दवाडी चोक नजिक पम्फा खोला किनारको सडक छेउमा बोरामा प्याक गरी राखिएको १ सय केजी गाँजा बरामद गरेको थियो ।

उक्त गाँजा ना ३९ प २२५८ नम्वरको मोटरसाइकल बाट ओसारपोसार भएको थाहा पाएपछि प्रहरीले सोही मोटरसाइकलमा सवार दुई जनालाई राप्ती ५ भण्डाराबाट हिजो दिउसो २ बजे पक्राउ गरेको थियो ।

उक्त मोटरसाइकलको खोजी गर्दै जाँदा राप्ती ११ आँपपानी बस्ने २५ वर्षीय दोर्जे तामाङ र सोही ठाउँ वस्ने वर्ष २४ का पदम बहादुर मोक्तानलाई हिजो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । घटनामा संलग्न मुख्य व्यक्ति अझै फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी सुर्य थापाले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्ति सहित बरामद गाँजा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

उनीहरुविरुद्ध हिजो देखि लागु हुने गरी १० दिनको म्याद थप भई अनुसन्धान जारी रहेको थापाले बताउनुभयो । चितवनको राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा गाँजाको खेती नै हुने गर्दछ ।

प्रहरी प्रशासनले पटक पटक काटेर नास गरेपनि खेती हुन अझै छोडेको छैन । बरामद गाँजा पनि सोही ठाउँमा उत्पादन भई अन्यत्र विक्रि गर्ने गरिएको आशंका गरिएको छ । यद्यपी अनुसन्धान जारी रहेको थापाले बताउनुभयो ।

Share.

Leave A Reply