डेंगु तथा स्क्रब टाईफस सङ्क्रमण देखियो

0

प्रेम क्षेत्री,
भदौ ३१, गैंडाकोट । कोरोना भाईरसको सङ्क्रमण सँगै गण्डकी प्रदेशमा डेंगु तथा स्क्रब टाईफस सङ्क्रमण पनि दिनहुँ वढिरहेको छ । यस्तो अवस्थामा सर्तकता अपनाउन स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ । प्रदेशका ८ जिल्लामा डेंगु र ४ जिल्लामा स्क्रब टाईफस देखिएको हो । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पछिल्लो ८ महिनामा प्रदेशमा डेंगु १०५ जना र स्क्रब टाईफस ५४ जनामा सङ्क्रमण देखिएको छ । गत पौष १६ गतेदेखि आज सम्म डेंगु १०५ जना र स्क्रब टाईफस ५४ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले विवरणमा उल्लेख गरेको छ ।
विवरणमा जनाईए अनुसार तनहुँ, मनाङ र मुस्ताङमा अहिलेसम्म डेंगु र स्क्रब टाईफसको सङ्क्रमण देखिएको छैन । स्क्रब टाईफसको सङ्क्रमण देखिनेमा नवलपुर, बाग्लुङ, म्याग्दी र कास्की रहेका छन् । त्यस्तै नवलपुर, स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, कास्की, लमजुङ र गोरखामा डेंगु सङ्क्रमण पाईएको छ ।
नवलपुरमा ३ जनामा डेंगु र ३ जनामा स्क्रब टाईफस देखिएको छ । सबैभन्दा वढि म्याग्दीमा ६४ जनामा डेंगु देखिएको छ । कास्कीमा २० जना र लमजुङमा १० जनामा डेंगु देखिएको छ । स्क्रब टाईफस पनि प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा उच्च छ । म्याग्दीमा ४३ जनामा स्क्रब टाईफस देखिएको छ ।
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।
स्क्रब टाइफस धेरै सरुवा रोगहरु मध्येको एक हो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । यस्तो ठाउँमा जाँदा सुरक्षा सर्तकता अपनाए यसबाट बच्न सकिन्छ ।

Share.

Leave A Reply