अन्ततः गैंडाकोटमा आईसोलेसन बनाउने तयारी शुरु

0


प्रेम क्षेत्री भदौ २७, गैंडाकोट ।
गैंडाकोटका कोरोना सङ्क्रमित राख्ने स्थल अभाव भएपछि अन्ततः गैंडाकोटमा नगर स्तरिय आइसोलेसन बनाउने तयारी शुरु भएको छ ।
जिल्ला कोभिड अस्पतालका रुपमा रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा स्थान अभाव भएपछि नगरपालिका आफ्नै आइसोलेसन बनाउने तयारीमा जुटेको हो । गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले यसका लागि विभिन्न निकायसँग छलफल शुरु गरि सकेको बताउनुभयो । त्यसका लागि भोली नगरपालिकामा छलफल समेत डाँकेको उहाँले बताउनुभयो । आजमात्रै जिल्ला कोभिड अस्पतालका रुपमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका सरोकारवालाहरुसँग छलफल गरेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमक्ष पिसिआर परिक्षण सहित दक्ष जनशक्ती माग गर्ने निर्णय गरिएको र सोही अनुरुप भेटघाटका लागि जान लागेको समेत उहाँले बताउनुभयो । नगरप्रमुख पौडेलले गैंडाकोट भेडाबारी स्थित प्रस्तावित नगर अस्पताल आसपासमा आईसोलेसन बनाउने मनशाय गराएपनि भोलीको छलफलले टुङ्गो लाग्ने बताउनुभएको छ ।
गैंडाकोटमा आज कोरोना सङ्क्रमण पुष्टि भएका सबै जनालाई होम आईसोलेसनमा राखिएको छ ।
चितवन मेडिकल कलेजमा गरिएका परिक्षणमा गैंडाकोटका ६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्ला कोभिड अस्पतालका रुपमा रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा व्यवस्थापनमा समस्या भएपछि नगरपालिकाले आज सङ्क्रमित पुष्टि भएकाहरुलाई आ–आफ्नै घरमा राखेको हो ।
गैंडाकोट नगर स्वास्थ्य शाखाका प्रमुख झलकाराज पौडेलका अनुसार २ जना भने क्वारेन्टाईन स्थल रहेको पितौजीको कभर्डहलको छुट्टै कोठामा आईसोलेसन निर्माण गरि राखिएको छ । अन्य भने आ आफ्नै घरमा नै रहेका छन् ।
यसअघि शुक्रबार भेटिएका सङ्क्रमित ३ जना पनि होम आईसोलेसनमा नै रहेका छन् । त्यस्तै विदेशबाट आएका एक व्यक्ति होटलमा क्वारेन्टाईनमा नै रहेको अवस्थामा उनलाई सोही होटल सिल गरि आईसोलेसन बनाई सोही स्थानमा राखिएको छ । त्यस्तै गैंडाकोटमा कोरोना पुष्टि भएकी एक क्रियापुत्री समेत होम आईसोलेसनमा नै हुनुहुन्छ । उहाँ होम आइसोलेसनमा नै रहि क्रियामा बसिरहनुभएको छ ।
नगरमा आइसोलेसन बनाउने विषयमा पटक पटक ध्यानाकर्षण गराईएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।
आज पुष्टि भएका ६ जना सँगै गैंडाकोटमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६३ पुगेको छ । हालसम्म गैंडाकोटमा १३९ जनामा सङ्क्रमण पाईएको छ । ७५ जना निको भएपछि घर फर्किएका छन् । एक जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply