विदेशमा बस्ने नेपालीप्रति कवि विनोदीको हृदय छुने सुझाब

0

जे जे कारणले गयौ पर भयौ पक्कै थियो बाध्यता
आकाङ्क्षा सुखका थिए तर सधैँ सङ्कष्ट भोग्यौ यता
मान्छे खोज्छ सदैव सौख्य-सुविधा खोज्यौ तिमीलेपनि
बस्तैछौ जुन देशमा बस उहीँ सम्पन्नशाली बनी

तिम्रा सन्तति छन् उतैतिर पढी रम्दै बसेका उतै
आ-आफ्ना व्यवसाय जागिरसँगै जम्दै बसेका उतै
फर्कन्छौँ पछि भन्दछौ किन तिमी ढाँटेर आफैप्रति
फर्कन्छौ कसरी यता र सहजै छाडी उता सन्तति ?

जो बस्छन् युगको नयाँ प्रविधिको सौविध्यछायामुनि
चाहन्नन् तिनले त आउन यता जस्तै परे तापनि
जे चाह्यो सब मिल्न सक्तछ उता गाडी तथा बङ्गला
पाइन्छन् सबथोक किन्न ऋणमा छन् मार्ग सारा खुला

“दुःखी छन् जनता यतातिर निकै पीडा छ सन्ताप छ”
भन्ने यो तिनका अदृष्ट दिलमा मैलो कुनै छाप छ
आए तापनि घुम्न क्यै दिन यता मान्दैन बस्नै मन
फर्कन्छन् सुविधामुखी शहरमै खोजी सुखी जीवन

छौ यूरोप अमेरिकातिर कि वा अष्ट्रेलिया क्यानडा
जोगाई बस है निरन्तर तिमी आफ्नो स्वयं अस्मिता
सक्छौ खोल्न उतै पवित्र मनले संस्थाहरू शैक्षिक
नेपाली पनि पढ्न लेख्न जनले पाऊन् भलै ऐच्छिक

बस्नै हो नि, जहाँ बसे पनि तिमी नेपाल बोकी बस
आफ्नो हृत्तलमा सदैव “जननी नेपाल” रोपी बस
नेपाली पनि बोल है दिनदिनै ती बालबच्चासित
नेपालीपनमै सदा बस तिमी भै नित्य सम्मानित

केही छैन तिमी र सन्तति यता आए नआए पनि
नेपाली म हुँ गर्वसाथ भन है निर्द्वन्द्व आफू बनी
फैलाऊ अनि विश्वमा अति महान् पौरस्त्य यो दर्शन
साझा मानववादमा अडिग होस् तिम्रो सदा चिन्तन

आफ्नो संस्कृति वा कला नभुल है कैल्यै कुनै सर्तमा
नेपाली नफसून् कुनै पनि कतै दुष्कर्मको गर्तमा
निष्ठावान् सब बन्नुपर्छ जहिल्यै त्यो मातृभाषाप्रति
यै वाणीसित शिष्ट, जागृत बनोस् तिम्रो नयाँ जागृति

बोलायो प्रिय देशले यदि भने, सोधेर आत्मासित
सक्छौ आउन फर्किएर घरमा आमा हुनिन् हर्षित
राख्छिन् आँचलभित्र हृद्-रस दिई वात्सल्यकी सागर
हुन्नन् है जननीनिमित्त कहिल्यै सन्तान आफ्ना पर

Share.

Leave A Reply