सुरक्षित रुपमा जितिया मनाउन थारु कल्याणकारिणी सभा गैंडाकोटको आग्रह

0


प्रेम क्षेत्री
भदौ २३, गैंडाकोट । थारु कल्याणकारिणी सभा गैंडाकोट नगर समितिले थारु समुदायको महान पर्व जितिया पर्व सुरक्षित रुपमा मनाउन सम्पूर्णमा आग्रह गरेको छ । समुदायमा फैलिएको कोभिड १९ ले थप संक्रमण निम्ताउने जोखिम भएको भन्दै सुरक्षित हुँदै चाडपर्व मनाउन समितिले एक विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।
भाद्र कृष्ण पक्ष अष्ठमी तिथिका दिन मनाईने महालक्ष्मी व्रत अर्थात जितिया पर्व यस वर्ष २५ गते परेको छ । जितिया पर्व मनाउँदा चेलीबेटीलाई निम्ता गरी बेलाउने वा लिन जाने (लेलहारी), चेलीबेटीको लागि कोसेली (पहुरा) पु¥याउने, ब्रतालुहरुले दर (डट्खट्) खाने, बेल्पाती टिप्ने, बदहा गाउने चलन छ । यस्ता कार्य सामुहिक रुपमा नगरि सामाजिक दुरी कायम गर्दै मनाउन थारु कल्याणकारिणी सभा गैंडाकोट नगर समितिका अध्यक्ष लक्ष्मिप्रसाद चौधरीले आग्रह गर्नुभयो । जितियाका दिन गरिने पूजापाठ लगायतका कार्यहरु घरपरिवारमा भएका सदस्यहरुमै सीमित भई गर्न र सामूहिक रुपमा गरिने क्रियाकलापहरु बदहा गाउने, झम्टा पार्ने, बेल्पाती लोर्ने जस्ता कार्य नगर्न पनि उहाँको आग्रह छ । आफ्ना धर्म, संस्कृति र परम्पराको रक्षार्थ सबै जुट्नुपर्ने बेला भएपनि असहज परिस्थिती बुझी स्वास्थ्यको ख्याल गर्न उहाँले आग्रह गर्नुभयो ।
थारु कल्याणकारिणी सभा गैंडाकोट नगर समितिले सदाका वर्षहरुमा जस्तै गर्दै आएको झाम्टा नृत्य प्रतियोगिता यसवर्ष स्थगित गरेको समेत उहाँले बताउनुभयो । साथै उहाँले जीतवाहन भगावनले सम्पूर्ण मानवजातीलाई कोरोनालाई जित्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दै सम्पूर्णमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
सामुहिक रुपमा चाडपर्वहरु मनाउँदा समुदायमा फैलिएको कोभिड १९ ले थप संक्रमण निम्ताउने जोखिम भएको भन्दै सुरक्षित हुँदै चाडपर्व मनाउन समितिले विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो ।

Share.

Leave A Reply