अनलाइन सट्टाबाजी खेल्ने खेलाउने ४ जना पक्राउ

0

चितवन, २२ भदौ  । वेस्टइन्डिजमा चलिरहेको क्यारेवियन प्रिमियर लिग सीपीएल टी २० क्रिकेट खेलमा सट्टाबाजी खेल्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षीय रिनाज आचार्य, सोही ठाउँका २८ वर्षीय सन्जिल लामिछाने, नवलपुर जिल्ला गैडाकोट नगरपालिका वडा नम्वर २ बस्ने २८ वर्षीय सविन कंडेल, सोही ठाउँ बस्ने ३४ वर्षीय राजेश सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुर्यवहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरुले बाजी राख्न नेपालमै बसी ईन्टरनेट ब्राउजर डव्लु डव्लु डव्लु डट डाइमण्ड एक्सचेन्ज लगायतका अनलाईन प्रयोग गरेर बिभिन्न ब्रोकर मार्फत आ-आफ्नो व्यक्तिगत खाता बनाई सोही खातामा रकम जम्मा गर्ने गराउने थाहा पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

 

उनीहरुलाई भदौ २० र २१ गते चितवन जिल्ला अन्तर्गत विभिन्न स्थानबाट पक्राउ गरी खेलमा प्रयोग गरिएको नगद रू.१ लख ७२ हजार ५०० र सट्टाबाजीको लागि प्रयोग गरेका मोबाइलहरु समेत वरामद गरी उनीहरुविरुद्ध सट्टाबाजी मुद्दा (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर) मा चितवन जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको थापाले बताउनुभयो ।

Share.

Leave A Reply