समुदायमा अझै कोभिड नफैलियोस् भन्ने हेतुले तयारी गरिरहेका छौं – भूषाल

0

गैँडाकोट नगरपालिका नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा नै सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेको पालिका हो । समुदायस्तरमा कोरोना देखिरहेको अवस्था छ । यहाँ हालसम्म सङ्क्रमितको सङ्ख्या एकसय बढी नाघेको छ । गैँडाकोट २ मा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ । गैँडाकोटमा सङ्क्रमण रोक्न लकडाउन, गैँडाकोट बन्ददेखि निषेधज्ञासम्म गरियो । यसै सन्दर्भमा कोरोना सङ्क्रमण रोक्न र विकासका विषयमा नगरपालिकाको अबको तयारीलगायतका विषयमा हामीले गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, समाचार प्रमुख डोलराज रानाभाटले गर्नुभएको कुराकानीको सम्पादित अंश ः

समुदायस्तरमा कोरोना देखिएपछि अबको तयारी के छ ?

समुदायमा फैलिएको कोरोना हाम्रा लागि चुनौतीको विषय बनेको छ । क्वारेन्टाइनबाट स्वाब सङ्कलन कार्य नियमित थियो । अब त्यस्तो अवस्था रहेन । समुदायस्तरमा देखिएपछि यसलाई रोक्न गैँडाकोटमा आवश्यकता अनुसार बन्द गरिएको अवस्था र जिल्लाबाट लकडाउनको आदेश पनि जारी रहेको अवस्थामा समुदायमा अझै नफैलियोस् भन्ने हेतुले सचेत रहदै तयारी गरिरहेका छाँै ।
गैँडाकोटमा प्रत्येक घरबाट स्वाब परीक्षण गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको छ, के यसो गर्न सम्भव छ ?
यस विषयमा छलफल पनि भएको छ तर यो इच्छा हुँदैमा हाम्रो स्रोत र साधनले सम्भव हुँदैन । यो खर्चिलो विधि पनि हो । स्वाब परीक्षणको नतिजा ल्याउन पनि ढिला हुन्छ । पहिलोपटक देखिएकाहरुको कन्ट्रयाक्ट टे«सिङमा आएकाहरुको स्वाब सङ्कलन र त्यसपछि क्रमशः विस्तार गर्नुपर्ने हुन्छ ।

क्वारेन्टाइनको अवस्था के छ ?

गैँडाकोट नगरपालिकाको २ स्थानमा क्वारेन्टाइन रहेका छन् । भेडाबारी कभर्डहल र मौलाकालिकाको फेदीमा एक होटललाई क्वारेन्टाइन बनाइएको छ । अहिले पनि क्वारेन्टाइनमा जानेआउने क्रम जारी छ तर सङ्ख्या कम छ । अहिलेलाई व्यवस्थापन राम्रो र पर्याप्त छ । भोलिका दिनमा आवश्यक परे त्यसलाई विस्तार गर्न सकिन्छ ।

गैँडाकोटमा नै आइसोलेसन बनाउने कुरा के छ ?

रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसन जिल्ला कोभिड अस्पताल हो । यसको क्षमता करिब ४ सय छ । त्यहाँ पर्याप्त रहेको छ । अहिले यसले नै थेगिरहेको छ । र थेग्न सक्छ भन्ने हो । अब भोलिका दिनमा रजहरको आइसोलेसनले थेग्न नसक्ने अवस्था आयो भने मात्रै गैँंडाकोटमा स्थापनाका लागि सोच्ने छौँ ।

नगरपालिकाका तर्फबाट नगरका सरोकारवालाहरुसँग सहकार्य र समन्वय कसरी गर्दै हुनुहुन्छ ?

हामी नगरपालिकामा रहेका सबै सरोकारवालाहरुसँग सर्वपक्षीय बैठक पनि बसेका छौँ । नगरलाई सुरक्षित राख्ने विषयमा गहन छलफल पनि भएका छन् । अहिले पनि काम बाँडफाँड गरेर अघि बढेको अवस्था छ । यसका लागि नगरपालिकाले समन्वय गरिरहेको छ ।

नगरपालिकाका तर्फबाट चेतना अभिवृद्धिका काम कसरी गर्दै हुनुहुन्छ ?

अहिले हामीले त्यसरी संघसंस्थालाई परिपत्र गरेका छैनौँ र पनि नगरपालिकाको अनुरोध पत्रमा यी कुराहरु समावेश गरिएका छन् । सङ्क्रमणको प्रभाव कम गर्न बेलाबेलामा तातोपानी पिउने, तातोपानीले मुख कुल्ला गर्ने, योग तथा व्यायाम गर्ने र ध्यान गर्ने कुरामा सचेत गराइएको छ । प्राकृतिक चिकित्सालयमा गरेको विधिले नै यसको सङ्क्रमण रोक्न र निको गर्न सकिन्छ भन्ने देखियो । अब यसलाई स्वयंसेवक, टोल विकास संस्थामार्फत प्रत्येक घर घरमा पु¥याउन सकियो भने यसलाई कम गर्न सकिन्छ ।

कन्ट्र्याक्ट ट्रेसिङको मापदण्ड के हो ?

यो कन्ट्राक्ट ट्रेसिङ गर्ने एउटा टिम छ । त्यो टिमले नै पहिचान गर्ने गर्छ । कन्ट्रयाक्ट ट्रेसिङमा को को पर्छन् भन्ने एउटा विधि छ, सोही अनुरुप पहिलो भेट कोसँग छ ? त्यही अनुरुप नै हुने गर्छ । यो स्वास्थ्य शाखाले नै गर्ने गर्छ । उसलाई आवश्यक सहयोग र तयारीको काम अघि बढाउने गरेका छौँ ।

प्रदेश सरकारसँगको समन्वय र सहकार्य कसरी गरिरहनुभएको छ ?

अब पालिकास्तरका लागि भनेर अलग अलग माग गर्न पनि समस्या हुन सक्छ । सबै पालिकाका लागि भनेर जिल्लास्तरबाट कुरा भइरहेको छ । रजहरमा रहेको आइसोलेसनका लागि ५७ लाख प्राप्त भएको छ । यो सबै पालिकाका लागि भनेर बुझ्नुपर्ने हुन्छ । बजेट पनि प्राप्त भइरहेको छ ।

गैँडाकोटमा आइसकेपछि तपाईंको योजना के छ ?

प्रशासनिकतर्फ हुने हरेक काममध्ये मेरो पहिलो काम सूचना सम्प्रेषण हुनेछ । सार्वजनिक निकायले गरेका हरेक सूचना हरेक नागरिकले पाउनुपर्छ र त्यो दिनुपर्छ भन्ने मान्यताबाट काम गर्छु । म र मेरो मातहतमा हुने काम हरेक नागरिकले थाहा पाउनेछन् । यो उनीहरुको मौलिक हक हो, मौलिक अधिकार हो । गैँडाकोटबाट कोभिडसम्बन्धी सूचना पनि प्रकाशन र प्रसारण हुन नसकिरहेको अवस्थामा म आउनेबित्तिकै कामको सुरुवात गरिसकेको छु । नगरपालिकाले गर्ने हरेक दैनिक कामको विवरण पनि थाहा पाउनुहुनेछ । अहिले त्यसको तयारी पनि गरिरहेको छु ।

विकासका सन्दर्भमा के योजना छ ?

अब यो स्थानीय सरकारले गर्ने कामहरु हुन् । यसका लागि मैले सहजीकरण गर्नेछु । मैले मेरो पदबाट हुने र गर्नुपर्ने परामर्श, प्रस्ताव वा भएका निर्णय कार्यान्वयनका लागि मेरो टिम (कर्मचारी) लाई उत्प्रेरित गर्दै गैँडाकोटको विकास र सुशासनका लागि काम गर्नेछु । अझ यसलाई ४ भागमा विभाजन गर्दै आर्थिक विकास (उद्योग, कृषि र पशु विकासको प्रवद्र्धन), सामाजिक विकास (शिक्षा र स्वास्थ्यलाई निरन्तरता), पूर्वाधार विकास (बाटो, पुललगायतका विकास निर्माण) र सुशासन विकास (कर्मचारीलाई सहभागिता गराई समन्वय) गर्दै गैँडाकोटलाई समृद्ध गराउनुपर्छ भन्ने मान्यताअनुरुप अघि बढिरहेको छु र साथीहरुसँग पनि त्यही अनुसारको छलफल बढाएको छु ।

विजय खबर पत्रिकाबाट साभार

Share.

Leave A Reply