मतदाता शिक्षा कार्यकर्ता आजदेखि गाउँगाउँ जाँदै

0

काठमाडौं २ वैशाख

आउँदो ३१ गतेका लागि तोकिएको स्थानीय चुनावका लागि शनिबार देखि मतदाता शिक्षा कार्यकर्ता परिचालन हुँदैछन् । सबै जिल्लामा तालिम दिइसकेकाले शनिबारदेखि मतदाता शिक्षा कार्यकर्ता गाउँगाउँ जाने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । एउटा निर्वाचन केन्द्रमा एकजना मतदाता कार्यकर्ता अनिवार्य खटिने उहाँले बताउनुभयो ।

आयोगले सबै मतदान केन्द्रका लागि २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता खटाइएको जनाएको छ । यसैबिच निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि खरिद गरिएका ३० हजार मतपेटीका सोमबारसम्म प्राप्त हुने बताएको छ ।

देशभरका ७ सय ४४ स्थानीय तहको चुनावका लागि ८४ हजार मतपेटिका आवश्यक रहेकोमा ३० हजार थान खरिद गरिसकिएको आयोगले जनाएको हो । त्यस्तै चुनावका लागि आवश्यकपर्ने १२ प्रकारका समानको पनि जोहो भइरहेको आयोगका सचिव गोपिनाथ मैनालिले जानकारी दिनुभयो । यही वैशाख ३ गतेबाट चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने जनाउँदै उहाँले मधेसलगायत समग्र देशभर चुनावको काम सहजरुपमा भइरहेको बताउनुभयो ।

Share.

Leave A Reply