सोह्रश्राद्धमा पुरोहित र यजमानको दुरी ३ मिटर

0


माया कंडेल

भदौ १५, गैंडाकोट ।

गैंडाकोट नगरपालिकाले सोह्रश्राद्धमा गरिने पितृपुजन कार्यमा पुरोहित र यजमानको बसाईको दुरी ३ मिटर कायम गर्न अनुरोध गरेको छ । प्रत्येक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने महालय श्राद्ध अर्थात पितृपुजन कार्यका लागी कोरोना भाईरसको संभावित सङ्क्रमणबाट बच्ने गरि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई एक वा दुईजनाले मात्र पितृपुजन श्राद्ध कार्य गर्न आग्रह गरेको हो ।
गैंडाकोट नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा बढ्दै गईरहेकाले पितृपक्षमा गरिने पितृपुजन कार्यमा दुरी कायम गर्दै र सकेसम्म भर्चुअल माध्यमबाट पुजन कार्य गर्न नगरपालिकाले सूचना जारी गरेको छ । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलद्वारा जारी सूचनामा पितृपुजन कार्यमा आफन्त छरछिमेक, ईष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरि परिवारका सदस्य मात्रै सामेल भई गर्न अनुरोध गरिएको छ ।
साथै एकजना पुरोहित सोह्रश्राद्ध कार्यमा एकै दिनमा समेत धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा सम्भव भएसम्म भर्चुअल माध्याबाट पुजन कार्य गर्न भनिएको छ । त्यस्तै जन्म, न्वारान, ब्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता पारिवारिक तथा सामजिक जमघट जस्ता क्रियाकलापमा सहभागिता न्युन गराउने र सम्भावित कोरोनाको जोखिमबाट सुरक्षीत रहन पनि सचेत गराईएको छ ।
पूजा सामग्री तयार गर्दा र प्रयोग गर्नुपूर्व साबुन पानीले हात धुने, कोरोना संक्रमणको प्रभाव कम गर्न मनतातो पानी पिउने, मनतातो नुन पानीले मुख कुल्ला गर्ने, योग अभ्यास र ध्यान गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । पितृपक्ष यहि भाद्र १७ गते बुधबारबाट शुरु हँुदैछ ।

Share.

Leave A Reply