‘हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ’

0

कविता :

मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ ।

    अरुको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

 

उसलाई थाहा छ, उसको बाबा कोरोना सङ्क्रमित हुनुहुन्छ ।

ऊबाट धेरै पर आइसोलेसनमा बस्नुहुन्छ ।

 तर पनि उसको मन आत्तिएको छैन,  बाबालाई भेट्न तड्पिएको छैन ।

ऊ बुझ्छे बाबा छिट्टै निको हुनुहुन्छ, फेरि फर्किएर उसैगरी काखमा लिनुहुन्छ, काँधमा चढाउनुहुन्छ !!

 

उसको घोडा बनेर बरन्डामा फेरि डुलाउनुहुन्छ

उसको थोते दाँत हेरेर उसको बाबा मुर्छा परिपरि हाँस्नुहुन्छ,

त्यसैले ऊ ढुक्क छे, मनको त्रासलाई हटाएर ऊ मख्ख छे !!

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ । अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।

 

मास्क नलगाए बाबालाई पनि गाली गरिदिन्छे ऊ,

दुरी कायम नगरे कट्टी गर्दै बोल्न छाडिदिन्छे ऊ,

तातो पानी र औषधिका बारेमा पटकपटक सोधिरहन्छे ऊ,

साबुनपानीले हात धुनुभयो भनेर सम्झाइरहन्छे ऊ,

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ । अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

 

उस्तै वयका उसका साथीलाई खेल्न नआऊ है भन्छे

नडुल, नहिँड र भिडमा नजाऊ है भन्छे

साबुनपानीले हात नधोई केही नखाऊ है भन्छे

गजब त के छ भने कोरोनासँग बिनासित्तै नडराउ है भन्छे

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ । अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

 

 उसलाई पनि बाबासँग खेल्न कहाँ मन नभएको हो र

ओल्लो खाट र पल्लो खाट गर्दै चल्न कहाँ मन नभएको हो र

तर पनि सायरा अजिबकी छ,उल्टै मलाई बल दिन्छे

अनेक तर्कना आइरहने मेरो मस्तिष्कमा शीतल जल दिन्छे

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ । अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

 

उसलाई अरुले हेपेको मन पर्दैन,

बिनासित्ती कसैले चेपेको मन पर्दैन,

सङ्क्रमितलाई हेपे चिच्याएर कराइदिन्छे,

तोते बोली नै किन नहोस् सबैलाई चुप गराइदिन्छे

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ । अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

 

भिडियोकलमा सधैँ मलाई हाँस्न भन्छे ऊ,

दिल खोलेर मजैसँग नाच्न भन्छे ऊ,

मेरो छोरीको हिम्मत देखेर म आफैँ छक्क छु,

सायराको बाबा भएकोमा त्यसै त्यसै मख्ख छु ।

हो, मेरो सानी छोरी सायरा बुझ्ने खालकी छ । अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

 

सायराको कुरा मनमा सारै गढेको छ,

सानी छोरीको कुराले आत्मबल बढेको छ,

त्यसैले म मस्त नाचेकै छु,

कोरोनासँग लडेकै छु,

छिट्टै छोरीलाई घाकुती खेलाउँला,

घोडा बनेर बरन्डामा फेरि डुलाउँला

हो, मेरी सानी छोरी सायरा बुझ्ने खालकी छ । अरूको तुलनामा समस्यासँग जुध्ने खालकी छ ।।

 

                                                         

 

                                 – रमेश बस्ताकोटी २०७७/०५/१४ राति ८:४५ बजे सामुदायिक प्राकृतिक चिकित्सालय, रजहर

Share.

Leave A Reply