संक्रमित सहकर्मीहरुको हौसला वढाउन महासंघ नवलपुर रजहरमा

0

गैंडाकोट, १३ भदौ । कोरोना संकटको महामारीमा पनि अग्र भागमा रहेर जनतालाई सूचना दिँदा दिँदै कोभिड १९ को संक्रमण पुष्टी भएका पत्रकारहरुको हौसला वढाउन नेपाल पत्रकार महासंघ नवलपुर आज रजहर आइसोलेसन पुगेको छ । महासंघ अध्यक्ष होमराज रानाभाटको नेतृत्वमा पुगेका पत्रकारहरुले आइसोलेसन रहनुभएका पत्रकारहरुको स्वास्थ्य अवस्था वारे जानकारी लिदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

सो अवसरमा महासंघले आइसोलेसनमा रहनुभएका सवैमा फलफूल उपलब्ध गराएको थियो । आइसोलेसनमा रहनुभएका सहकर्मीहरुलाई सम्वोधन गर्दै महासंघ अध्यक्ष रानाभाटले संकटको यो समय पनि निरन्तर कलम चलाएर जनतालाई सूचना दिन खेलेको भूमिकाको उच्च सम्मान व्यक्त गर्दै यहाँ रहदा पनि मनोवल उच्च राख्न आग्रह गर्नुभयो ।

देशभर ७१ जना पत्रकारहरु संक्रमित हुनुभएको र जिल्लामा ७ जना पत्रकार साथीहरु संक्रमित हुनुभएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै अग्रमोर्चामा खटिने पत्रकाहरुका लागि विभिन्न स्थानीय तहसँग सहकार्य गरी पीसीआर परीक्षणको व्यवस्था मिलाएको भन्दै उहाँले सकेसम्म आफू सुरक्षित भइ पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

आइसोलेसनमा रहनेहरुमा आफू संक्रमित हुँ भन्ने भाव नै आउन नदिने गरी रजहर प्राकृतिक चिकित्सालयले उपचार गरिरहेको भन्दै त्यहाँ खटिने सवैमा आभार व्यक्त गर्नुभयो । सद्भावका लागि चिकित्सालयमा आएर फलफूल सहयोग सहित हौसला वढाउन भूमिका खेलेको भन्दै निर्देशक डा विनोद पौडेलले धन्यवाद दिनुभयो । कार्यक्रममा प्रदेश सांसद रोशन गाहा मगर, चिकित्सालयका व्यवस्थापक हरि सापकोटा लगायत जिल्लामा क्रियाशील पत्रकारहरुको पनि सहभागीता रहेको थियो ।

Share.

Leave A Reply