सडककै सकस, समन्वय नहुँदा अवरुद्ध सडकले खाद्यान्न ढुवानीमा समस्या

0


प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोट नगरपालिकाको वडा नम्बर १८ मा ४ महिनादेखि यातायातका सवारी चल्न सकेका छैनन् । खाद्यान्न ढुवानीमा समेत समस्या उत्पन्न भएको छ ।
यहाँ कुनै बन्दाबन्दी वा निषेधाज्ञा नभई मुख्य राजमार्ग जोड्ने सडक खण्डको एक दर्जनभन्दा बढी स्थानमा गएको पहिरो र सडकमा ढलेका रुखका कारण अत्यावश्यक सवारी साधन पनि चल्न नसकेका हुन् । पहिले लकडाउनका कारण र त्यसपछि सडकमा पहिरो र रुख ढलेपछि त्यो पन्छाउने पहल नहुँदा सवारी साधन ठप्प छन् । मुख्य राजमार्ग जोड्ने भेडाबारीदेखि उत्तरतर्फ गैँडाकोट १८ को आहाले जोड्ने गैँडाकोट ११ मा भेडाबारी सामुदायिक वनअन्तर्गतको सडकखण्ड पहिरो र रुख ढलेका कारण अवरुद्ध बनेको हो ।
स्थानीयवासी, वडा कार्यालय, सडक खण्डमा पर्ने सामुदायिक वन, गैँडाकोट नगरपालिकाको कार्यालय, सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनी, डिभिजन वन कार्यालय नवलपुरबीच समन्वय हुन नसक्दा स्थानीयले सास्ती बेहोर्दै आएका छन् । जिम्मेवार निकायहरु नै एकअर्काको मुख ताकेर बसेका छन् । एकले अर्कालाई दोषारोपण गर्ने र उसको दायित्व हो भन्दै पन्छने गरेका छन् । सडकमा पहिरो गएको र रुख ढलेका कारण सो सडकखण्डमा यातायात चल्न नसकेका विषयमा सम्बन्धित सबै निकाय जानकार छन् तर यस विषयमा चासो नदिएकै कारण सडक मर्मत हुन सकेको छैन ।
लकडाउनका समयमा चैतमा सो सडकखण्डमा रुख काटेर सडक अवरुद्ध गरेको विषयमा अहिले पनि मुद्दा चलिरहेको छ । सो घटनापश्चात् रुखहरु पन्छाएर सडक सुचारु गरिए पनि लगत्तै असारको पहिला हप्ता परेको पानी र विभिन्न समयमा गएको पहिरोका कारण गैँडाकोट १८ जोड्ने सडकखण्डमा यातायात चल्न सकेको छैन ।
स्थानीय गगनसिंह सुनारीले खाद्यान्न ढुवानीसमेत गर्न नसकिएको बताउनुभयो । वडामा अत्यावश्यकीय सामग्री ढुवानी गर्न सकिएको छैन । बिरामी परेकाहरुले बोकेर नै बिरामी अस्पताल पु¥याउने गरेका छन् । सडककै कारण स्थानीय सामाजिक सुरक्षाभत्ता लिन जान सकेका छैनन् भने वडामा आवश्यक कागजातका लागि सामान्य फोटोकपीका लागि पनि घण्टाँै हिँडेर जानुपर्ने बाध्यता छ । अहिले कम्तीमा ९ किलोमिटर पैदल हिँड्नुपरेको छ । सडक खण्डका २ दर्जनभन्दा बढी स्थानमा गएको पहिरो र ढलेका रुख हटाउन र सडक मर्मत गर्न मात्रै काम सुरु भएको दिनदेखि १ महिनासम्म लाग्न सक्ने अनुमान गरिएको छ ।
गैँडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरे स्वयम्ले नातिनीलाई उपचारका लागि बोकेर अस्पताल पु¥याउनुपरेको बताउनुभयो । मौखिक रुपमा सबैलाई जानकारी गराए पनि लिखित जानकारी नगराएको बताउँदै उहाँले दुर्गम वडा भनेर तल्लो दर्जाको नागरिकको व्यवहार गर्ने गरेको आरोप लगाउनुभयो । यस विषयमा आपूm चिन्तित रहेको र पहल भइरहेको उहाँको भनाइ छ ।
सोही सडक खण्डमा पर्ने भेडाबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गुरुप्रसाद पौडेलले सब डिभिजन वन कार्यालयमा मौखिक जानकारी गराए पनि काठ काट्न नपाइने भएका कारण लिखित जानकारी नगराएको बताउनुभयो तर वनका तर्फबाट कुनै रोकावट नभएको उहाँको तर्क छ । यसअघि सोही स्थानमा अवैध रुपमा काटिएका रुख र यससँग जोडिएको मुद्दाका कारण प्रक्रिया जटिल बन्दै गएको उहाँको भनाइ छ । यात्रामा कुनै असहज नहोस् भन्ने आपूmहरुको चाहना रहेको बताउँदै उहाँले सबै समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले तत्काल जनतालाई मर्का पर्ने विषयमा नगरपालिकाले तदारुकताका साथ काम गर्ने बताउनुभयो । नगरवासीलाई यात्रामा कुनै असहजता हुन नदिने बताउँदै कोरोनाका कारण केही असहज भए पनि छिट्टै यसलाई प्रक्रियामा लैजाने र बाटो खुलाउने बताउनुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सहायक वन अधिकृत शिवप्रसाद श्रेष्ठले सो विषयमा सब डिभिजन वन कार्यालयमार्फत जानकारी प्राप्त भए पनि सडकका रुख हटाउने सम्बन्धमा कुनै निवेदन नआएको बताउनुभयो । वडा, वन, नगरबाट कुनै पत्र प्राप्त नभएको उहाँले बताउनुभयो । प्राकृतिक रुपमा ढलेको रुख हटाई हिँडडुल गर्न सकिने भएपनि प्रक्रिया नपुगेको उहाँले बताउनुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका निमित्त प्रमुख, डिभिजनल वन अधिकृत शरदकुमार अधिकारीले निकास खोल्न पाइने तर रुख काट्न नपाइने बताउनुभयो । बाटो खुलाउने सम्बन्धमा कुनै माग नआएको बताउँदै माग आएमा अनुमति दिइने उहाँले बताउनुभयो । आवश्यक परेका खण्डमा कर्मचारी परिचालन गर्ने उहाँको भनाइ छ । सबैसँग समन्वय हुन नसक्दा समस्या ज्युँकात्युँ रहेको उहाँको तर्क छ । वनले हटाउने नभई अनुमति दिने काम भएको र हटाउने काम सडक वा स्थानीय तहले गर्नुपर्ने उहाँले बताउनुभयो ।
मानिससमेत हिँड्न नमिल्ने गरी ढलेको रुख नपन्छाउँदा एम्बुलेन्ससहित सवारी चल्नै पाएको छैन । यसअघि एम्बुलेन्स जान नसक्दा र बिरामीलाई समयामा नै अस्पताल पु¥याउन नसक्दा गैँडाकोट १८ का २ जनाले अकालमै ज्यान गुमाउनुपरेको थियो ।

Share.

Leave A Reply