बेलुका प्राविधिक कक्षमै सुतेर विहानै रेडियोको पहिलो कार्यक्रम सञ्चालन गरेको थिँए

0

 

समाज रुपान्तरणको एउटा आधार सञ्चार हो । विगत केहि वर्ष यताको अवस्थालाई हेर्ने हो भने सञ्चार क्षेत्रकै कारण अन्य क्षेत्रमा पनि आमुल परिवर्तन भएका छन् । सञ्चार जगतकै कारण समाजको चेतनाको स्तर माथि उठेको छ । समाजको चेतनाको स्तरलाई सबल बनाउन सञ्चार माध्यमले सकारात्मक र प्रशंसनिय काम गरेका छन् । समुदायको प्रत्यक्ष ऐना बनेर सञ्चार माध्यमले समाजको रुपान्तरणमा अग्रणी भूमिका निभाई रहेका छन् । अझै गहिरिएर हेर्ने हो भने आफ्नै आफन्त जस्तो लाग्छ सामुदायिक रेडियो । वि.सं.२०५४ साल जेठ ९ गतेबाट सगरमाथा एफ.एमको स्थापना सँगै नेपालमा समुदायिक रेडियो जन्म भएको हो । नेपालमा मात्र नभएर दक्षिण एसियाकै पहिलो रेडियोको रुपमा रहेको छ । यसरी सामुदायिक अवधारणाका साथ रेडियो स्थापना हुनेक्रम सँगै गैंडाकोटमा पनि सामाजिक क्षैत्रमा क्रियाशिल विजय विकास स्रोत केन्द्रको प्रवर्धन एवं अग्रज सामाजिक व्यक्तित्वहरुको सक्रियतामा विजय सूचना तथा सञ्चार सहकारी संस्था लि.द्वारा वि.सं.२०५७ सालमा स्थापना भई वि.सं.२०६१ भदौ ५ गतेबाट आफ्नो प्रशारण यात्रा शुरु गरेको हो ।

 

समाजका हरेक पिर मर्का होस् या समस्या, ओझेलमा परेका खबर र सन्दर्भ नजिकबाट केलाउने कार्य र समुदायको प्रत्यक्ष आवाज ल्याउने काममा सामुदायिक रेडियोको अहम् भूमिका रहन्छ । सामुदायिक रेडियोमा काम गर्दाको अनुभव अलि फरक खालको हुन्छ । यसमा काम गर्ने सञ्चारकर्मी पनि आँफुलाई समाजको एक अभिन्न अंगको रुपमा उभ्याउने गर्दछन् । घरको परिवारसँग जति नजिकको सम्बन्ध रहन्छ ,त्यस्तै गाढा सम्बन्ध रहन्छ । समुदायका हरेक पिरमर्कामा सामुदायिक रेडियोले आफ्ना कार्यक्रम केन्द्रित गर्नुपर्ने हुन्छ । जसमा कार्यरत सञ्चारकर्मी समुदाय प्रति उत्तरदायि हुनु स्वभाविक हो ।

सामुदायिक रेडियो विजय एफ.एम को स्थापना सँगै आफुलाई विजय एफ.एमसँग नाता जोड्ने अवसर प्राप्त भयो । स्वयंसेवक प्रस्तोताको रुपमा मैले सेवा गर्ने अवसर पाएँ । रेडियोमा कसरी मान्छे बोल्छन् ,टाढा सम्म आवाज कसरी जान्छ भन्ने सानै देखिको कौतुहल्ता मेटाउने अवसर मात्र नभएर आफुलाई आवाजको दुनियामा भुलाउने मौका प्राप्त भयो । रेडियोमा काम गर्दा धेरैले चिन्छन् ,आफ्नो नामलाई आवाजको दुनिँयामा परिचित हुन्छ ,समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि आँफुलाई उभ्याउन सकिन्छ भन्ने सपना सामुदायिक रेडियो विजय एफ.एममा आबद्धता सँगै कति पुरा भयो भन्दा पनि समाजमा हरेक दृष्ट्रिकोणबाट सफल बन्न सकिन्छ केवल लगनशिलता चाहिन्छ भन्ने पाठ मैले सिक्ने अवसर पाएँ ।

 

सामुदायिक रेडियो विजय एफ.एमसँग जव मेरो नाता जोडियो काममा लगनशीलता र समाज प्रति जिम्मेवारी बन्न सिक्ने अवसर पाएँ त्यो आज मेरो लागि जीवन जीउने कला बनेको छ । म कमै बोल्ने मान्छे हो ,तर विजय एफ.एममा जव आवद्ध भए पछि म मा वाक कलाको विकास भएको छ । त्यही कलाले गर्दा नै आज आफुलाई सञ्चार, राजनीति, शैक्षिक तथा समाज रुपान्तरणका अभियानमा आफ्नो नाम स्थापित गर्न सफल भएको छु । स्थापना कालमा रेडियो काम गर्दाका अत्यन्त रोचक र कहिलेकाँहीका पिडादायि अनुभव अझै ताजा छन् । जसले मलाई हरेक मोडमा उर्जा प्रदान गरिरहेको छ । रेडियोमा काम गर्ने भोक जगाउने अग्रज सञ्चारकर्मीहरुको आवाजले मलाई विजय एम.एमगँग सम्बन्ध गाँस्न प्रेरित गरेको थियो । वि.सं.२०६० साल देखिको त्यो जीवन्त सम्बन्धले अझै प्रेरणा प्रदान गरिरहेको छ ।

 

रेडियोमा परिक्षण प्रसारणकै क्रममा २०६१ भदौ ७ गतेबाट नेपालगञ्जमा नेपाल प्रेस इन्टिच्युटको १५ दिने अभ्यासमा आधारित रेडियो कार्यक्रम उत्पादन तालिमले मलाई झन् थप प्रेरणा मिल्यो । नेपालकै पहिलो सामुदायिक रेडियो सगरमाथाका पहिलो कार्यक्रम निर्देशक रघु मैनाली ज्यूको उर्जा थप्ने शैलिले हामीलाई अझै सञ्चार जगतमा सर्मपण हुने प्रेरणा मिल्यो । १५ दिनको तालिम पश्चात घर फर्कने क्रममा इराकमा १२ जना नेपालीको हत्या भएको कारण देश पुरै शोकमा डुबेको थियो । देशैभर आन्दोलन भएकोले तालिम सकेको दुई दिन पछि नेपालगञ्जबाट रात्री सेवामा हिंडे तर दिन रात बाटोमा नै विताएर आफ्नो घर आइपुगें ।

 

इराकमा भएको घटनाको कारुणिक दृश्यले गर्दा बाटोमा यात्राकै क्रममा धेरै मनमा कुराहरु चलिरहन्थे । कहिलेकाँही विदेश जानुपर्छ कि भनेर मनमा खेल्ने तरङ्ग पनि हराएर गए । जव कर्मथलो रेडियोमा आएँ त्यसपछि यहि भूमिमा मेरा पसिना सिंचित गर्नुपर्छ भनेर मनमा लाग्यो । सञ्चार जगतमा नै रमाउने प्रण गरेँ । सामुदायिक रेडियो विजय एफ.एमको एक महिने तालिम धेरै कुरा सिक्ने चौतारी बन्यो । वि.सं २०६१ भदौ १६ बाट असोज १६ सम्म विजय विकास स्रोत केन्द्रको सभाहलमा प्रमुख प्राविधिकमा खगराज पौडेल कार्यक्रम प्रस्तोतामा सन्ध्या सापकोटा, रञ्जना लम्साल, रामकान्त न्यौपाने, रञ्जु रेग्मी, सुरभी शर्मा लगायत हामीहरु अथक मेहनतका साथ तालिममा सहभागि भयौं । तालिमकै दौरानमा रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालन सीपहरु र समुदाय सँग कसरी सम्बन्ध बढाउन सक्छौं भन्ने बारेमा खेमराज सापकोटा,हरिलाल सापकोटा,इन्द्रराज ज्योति पौडेल र भुवन तिमिल्सिना लगायतका अग्रजहरुको सहजीकरणले कडा मेहनत गर्ने बानीको विकास भयो जसले गर्दा जीवनका हरेक मोडमा पे्ररणाका स्रोत बनेका छन् ।

जगन्नाथ उपाध्याय

तलिमकै क्रममा मैले बनाएका रिपोटमा समाजका समस्याका विषयवस्तु भल्कने गर्दथे । समुदायको ज्वलन्त आवाजलाई टिपेर ल्याउन सक्ने व्यक्तिको रुपमा आँपmूलाई स्थापित गर्न सफल भएँ । जसले गर्दा मेरो क्षेत्र समाचार कक्ष तिर मोडियो । अन्य धेरै किसिमका कार्यक्रम को नमुना तालिममा बनाए पनि भुवन तिमिल्सिना सरले र्र्धािर्मक कार्यक्रम गर्ने कोहि भएन भनेर एउटा स्कृप बनाएर प्रस्तुत गर्न लगाउनु भयो ।

 

सत्सङ्ग नाम राखेर मैले कार्यक्रम बनाएर प्रस्तुत गर्दा एकै पटकमा स्विकृत भयो र कार्यक्रम प्रशारण गर्ने तय भयो । परिक्षण प्रशारण पछि सामुदायिक रेडियो विजय एफ.एमको पहिलो कार्यक्रम सत्सङ्ग प्रशारण हुने तय भयो । आवाजको दुनियामा रमाउने मेरो चाहना र सपना अनुसार रेडियो कार्यक्रम विहान ७ः०० बजे प्रत्यक्ष प्रसारण गर्ने भने पछि पुरा तयारीमा रहेँ । प्राविधिकको रुपमा खगराज पौडेल मामा हुनुहुन्थ्यो । विहान ७ः०० बजेको कार्यक्रममा निदाएर पूर्वतयारी गर्न छुट्छ कि भनेर खगराज पौडेल मामा र म रेडियोको प्राविधिक कक्षमै सुतेर विहान सामुदायिक रेडियो विजय एफ.एमको पहिलो कार्यक्रम प्रशारण गरेका थियौँ । विजय एफएमको पहिलो कार्यक्रम सत्संग थियो । जुन मैले सञ्चालन गर्ने सौभाग्य पाएको थिएँ ।  मलाई खेमराज सापकोटा सर, हरिलाल सापकोटा सर ,खगराज मामाले धेरै प्रेरणा र हौसला प्रदान गर्नु भएको थियो ।

आवाजको दुनिँया रमाउँदै धेरै कार्यक्रम उत्पादन र प्रशारण गरे पनि मेरो जीवनमा सत्सङ्ग कार्यक्रमले विजय एफ.एम सँग जीवन्त अविश्मरणीय सम्बन्ध राखेको छ । आज विभिन्न क्षेत्रमा आफुँलाई स्थापित गर्न सफल भएको छु ,आज हजारौं मान्छेको माझमा घन्टौं बोल्न ,साक्षात्कार गर्न सक्छु त्यसको श्रेय सामुदायिक रेडियो विजय एफ.एम नै हो ।
रेडियोमा काम गर्दाको अनुभव अत्यन्त अविश्मरणीय छ । शुरुवातको क्षणमा रेडियो आर्थिक रुपमा सबल भएको थिएन । स्वयंसेवकको रुपमा दिन भरि काम गरेर खाजा खाने पैसा हुँदैनथ्यो । घरमा पनि त्यतिकै पिडा झेल्नु पर्थ्र्यो । घरमा माता पिताले मलाई हौसला र प्रेरणा दिनुहुन्थ्यो तर पनि रात दिन रेडियोमा काम गरेर घरमा पैसा माग्न पनि अफ्ठ्यारो लाग्थ्यो । तर पनि आफ्नो काम प्रति इमान्दारिताका साथ काम गर्दा धेरै सिकाइ प्राप्त भएको महशुष गरेको छु ।
समाचार कक्षमा रिपोटिङ्गको रुपमा काम गर्दा शुरुवातका दिनमा अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन हस्तलिखित समाचार रिपोर्ट तयार गरेर प्रशारण गर्नुपर्ने हुन्थ्यो । कतिपय राष्ट्रिय समाचार रेडियोबाट सुनेर कपीमा लेखेर तयार गर्नुपर्ने बाध्यता थियो तर पनि पेशा पे्रतिको इमान्दारिता र लगनशिलता हुनुपर्छ भन्ने शिक्षाका कारण सबै सहकर्मीहरु विच सहयोगात्मक रुपमा कार्य सम्पादन गर्ने गर्थ्यौें । विना स्रोत साधन पनि कार्य सम्पादनको मजा व्यग्लै थियो ।
समुदाय प्रति उत्तरदायी सामुदायिक रेडियो विजय एफ.एम मेरो जीवनको एक पाठशालाको रुपमा जीवन्त छ । जुन पाठशालाले समाज प्रति उत्तरदायी भएर हरेक क्षेत्रमा काम गर्नुपर्छ भन्ने सिकायो । आज मेरो जीवन जीउने क्रममा ति सिकाइहरुले संर्घष गरेर बाँच्न सिकाएको छ । सामाजिक सेवा प्रति सक्रिय रहने प्रेरणा मिलेको छ । समुदाय प्रति उत्तरदायि सञ्चारकर्मी बन्ने अवसर ,सामाजिक सेवा ,वाक कला, व्यक्तिक विकास,राजनितिक सचेतनाको पाठ सिक्ने अवसर र शैक्षिक यात्राका सफलताका सुत्रहरु सिक्ने अवसर मिलेको छ । मेरो प्रेरणाको स्रोत सामुदायिक रेडियो विजय १७ औं र्बािषकोत्सवको अवसरमा संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना ।

उहाँ सामुदायिक रेडियो विजय एफएम १०१.६ को स्थापनाकालको सञ्चारकर्मी हुनुहुन्छ । विजय एफएमको पहिलो कार्यक्रम सत्संग कार्यक्रमको सञ्चालक । हाल पनि विजय एफएमको स्वयंसेवी रिपोर्टरको रुपमा कार्यरत रहनुभएको छ । पत्रकार महासंघ नवलपुर, नेपाल प्रेस युनियन लगायत दर्जनौँ सामाजिक संघसंस्थामा आवद्ध रहनुभएको छ । पेशाले अहिले शिक्षण पेशामा रहनुभएको छ ।

Share.

Leave A Reply