ब्लड क्यान्सर पिडित सत्यको जीवन रक्षाका लागि आग्रह, नवलपुर समाज जापानको सहयोग

0


प्रेम क्षेत्री
साउन ३१, मध्यविन्दु । ६ वर्षदेखी उपचारार्थ ब्लड क्यान्सर पिडित मध्यविन्दु १० का सत्य अधिकारीको जीवन रक्षाका लागि परिवारजनले हार गुहार गर्दै आएका छन् । पिडित सत्य अधिकारीका हजुरबुवा थानप्रसाद अधिकारीले नातीलाई बचाईदिन सार्वजनिक समारोहमा रुँदै विलौना गर्नुभएको छ । आफ्नो पुँजीले भ्याएसम्म घर सम्पत्ती बैंकमा राखेर उपचार गरिरहेको बताउँदै उहाँले अहिले नातीको उपचार र बैंकको किस्ता तिर्न नसकेको भन्दै सहयोगका लागि विलौना गरिरहनुभएको छ ।


नातीको उपचारका लागि पैसा जुटाउन उहाँले भएको घर जग्गा सम्पत्ती बैंकमा राख्नुभयो । बुवा तेजप्रसाद र आमा सरस्वती अधिकारीका १२ वर्षिय छोरा सत्य अधिकारीको अहिले कान्ती बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार चलिरहेको छ । ६ वर्ष अघि बैंकमा घर जग्गा राखेर पैसा निकालेर भारतको दिल्लीमा रहेको गंगाराम अस्पतालमा उपचारमा खर्च गरेको अधिकारीले बताउनुभयो ।
नातीको उपचारका लागि बैंकमा घर जग्गा राखेर निकालेको १५ लाख रुपैयाँ उपचार गर्दागर्दै सकियो । हालसम्म ३६ लाख रुपैयाँ उपचारका क्रममा खर्च भएको उहाँले बताउनुभयो । सत्य अधिकारीको उपचारमा संलग्न कान्ती बाल अस्पतालका चिकित्सकले उपचारका लागि २५ लाख लाग्ने बताउँदै आएका छन् । अहिलेसम्म सहयोग रकम १८ लाख जुटेको उहाँले बताउनुभयो । तर अझै रकम अपुग भएको र बैंकले समेत ताकेता गरिरहेका कारण अफ्ठ्यारोमा परेको उहाँले बताउनुभयो ।


सोही दुःखलाई देखेर शनिबार नवलपुर जापान समाजले ब्लड क्यान्सर पिडित सत्य अधिकारीलाई आर्थिक सहयोग गरेको छ । नवलपुर समाज जापान माफर्त संकलन गरेको ५० हजार जापानी येन र नवलपुर समाज जापान कान्साई क्षेत्रिय समितिमार्फत संकलन गरिएको ३७ हजार जापानी येन गरि नेपाली ९६ हजार ५ सय रुपैयाँ शनिबार एक समारोहका बीच मध्यविन्दु १० अधिकारी निवासमा पुगी सो रकम हस्तान्तरण गरेको हो ।


रकम हस्तान्तरण कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चुराबहादुर थापाले सबैको सहयोगले विपन्न परिवारको उद्धार हुने बताउँदै सहयोगी समाजप्रति धन्यवाद् ज्ञापन गर्नुभयो ।
गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलले नवलपुर समाज जापानले निरन्तर रुपमा गरेको सहयोगको साक्षि बनेको बताउँदै दिनदुःखीको सेवामा समाजले प्रशंसनिय कार्य गरेको र यस्ता कार्यमा सबै लाग्नुपर्ने बताउनुभयो ।
नवलपुर समाज जापान कान्साई क्षेत्रिय समितिका अध्यक्ष डिपी सापकोटा ‘सुरेश’ ले सत्य अधिकारीको ज्यान बचाउन जापानमा अभियाननै चलाएको बताउँदै सबै युवाहरुमाफर्त संकलन गरिएको रकम हस्तान्तरण गरिएको बताउनुभयो । समाजका सदस्यसँगै क्षेत्रिय समितिबाट रामप्रसाद खरेलका बुवा घनश्याम खरेल लगायतको पहलमा रकम संकलन गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै गैंडाकोट ८ निवासी सि.आर. कंडेलले नवलपुर समाज जापानका युवाहरुले आफुले गरेको कमाईबाट केही पैसा दुःखी र पिडित परिवार तथा समाजसेवामा खर्चने काम सराहनिय रहेको बताउनुभयो । सो अवसरमा समाजका सदस्य अर्जुन सापकोटा, सामाजिक अभियान्ता गणेश सापकोटा लगायत स्थानीय वासिन्दाको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply