कोरोना सङ्क्रमितलाई उपेक्षा होइन हौसलाको आवश्यकता (अनुभूति)

0


सिर्जना न्युरे

जीवन सङ्घर्ष हो । हरेक उकाली ओराली हँुदै यात्रा गर्नुपर्छ । कहिले सुखैसुख त कहिले नसोचेको दुःख पनि आउँछ । त्यही सुखदुःख अनि समयसँगै निरन्तर बहेर अघि बढ्नुपर्छ । सबैले जस्तै मैले पनि मेरो जीवनका असहजतालाई सहजतामा बदल्दै अघि बढ्दै छु । हो कति दुःख गरेको मान्छे पनि कहिलेकाहीँ सानो कुरामा कमजोर हुन्छ । मैले त्यस्तै महसुस गरेँ नदी आडैमा उभिए पनि कुनै व्यक्ति पानी पिउन नपाएर छटपटिएझँै । सबैथोक छ तर केही छैन जीवन शून्य छ । अब कुरा गरौँ यस्तो किन भयो त ?
तपाईंले अनि मैले मात्र नभएर यस विशाल संसारमा रहेका हरेक देश हरेक व्यक्तिले अहिले सङ्घर्ष गरिरहेको कोरोनाका कारण । हुन त म आपूm कोरोना सङ्क्रमित होइन तर कोरोनाका कारण नेपाल लकडाउन हँुदैछ भनेपछि कामकै सिलसिलामा काठमाडौं गएकी म लकडाउनपूर्व नै घर फर्कें । हाम्रो समाजमा कोरोनाले यति छाप छोडेको रहेछ भन्ने त्यतिबेला बल्ल महसुस गरेँ जब म घरमा आएँ तब केही छिमेकीले मसँग सोध्नुभयो– “विमानस्थलबाट किन आएकी ? त्यहाँ विदेशबाट जहाजमा आउनेलाई कोरोना लागेको छ रे ∕” मानौं जहाजमा आउनेलाई मात्र कोरोना लाग्छ अरूलाई लाग्दैन ।
कोरोना संक्रमण फैलनुभन्दा दुईमहिना पहिला म छिमेकी देशबाट घर आएकी थिएँ र त्यसपछि काठमाडौं गएकी थिएँ । कोरोनाकै कारण पुनः दुईमहिना नहुदै म घर फर्कें । दुईचार दिन त घरबाट बाहिर निस्कन पनि मन लागेन । त्यति मात्र त सामान्य थियो तर यहाँ त जिम्मेवार व्यक्तिको असावधानीले गर्दा मैले मानसिक तनाब बेहोनुप¥यो । एकजना साथीले एकदिन हाम्रो घर अगाडिबाट हिँडिहँदा बोलाएर मलाई सोध्नुभयो– “काठमाडौं भनेर तिमी भारत गएकी हौ र किन घर बसेकी ? तिम्रो नाम त भारतबाट आउनेको लिस्टमा छ ।” उहाँको कुरा सुनेर म छक्क परेँ । जिम्मेवार व्यक्तिले नसोधीकन र नबुझीकन मेरो नाम पनि लिस्टमा राख्नुभएछ । म भारत त गएकी थिएँ तर २०७६ माघ १ गते नै घर आइपुगेकी थिएँ । त्यसपछि १५ दिनको घरको बसाइपछि काठमाडौं गएकी थिएँ ।
कोरोनाका समाचारहरू सुनिरहँदा लाग्यो परिवार सबैभन्दा ठूलो हो र म परिवारसँगै हुनुपर्छ । ममी र भाइको खुब याद आयो । विमानस्थल हुँदै घर फर्केको हो । घर आएपछि ममी र भाइ त सँगै हुनुहुन्थ्यो तर बाबा र सानो भाइ रोजगारीका सिलसिलामा भारतमा रहेका कारण चिन्तित हुने विषय नै त्यही बन्यो । नेपालमा भन्दा बढी जोखिम भारतमा छ भन्दा अझै डर लाग्थ्यो । डराएर अनि चिन्तित भएर पनि केही हुँदैन भन्ने थाहा थियो तर मनले कहाँ मान्थ्यो र दिनहँु समाचारका हेडलाइन यति सङ्क्रमित र यति व्यक्तिको मृत्यु भन्ने आउँछ । भारतबाट नेपाल आउने सबैलाई कोरोना पोजेटिभ देखिएपछिको अवस्थामा भारतबाट आउने व्यक्तिका हरेक परिवार र आउने व्यक्तिलाई समाजले गरेको तुच्छ व्यवहार मैले नजिकबाट नियालिरहेकी थिएँ । म आफैले पनि त्यो सबै भोग्नुपर्छ भनी अरुको देखेर आत्तिएकी थिएँ । मैले कसरी आफैले त्यस्तो उपेक्षात्मक व्यवहारको सामना गर्नुपर्छ भनेर सोचिरहेकी थिएँ ।
आनै गाउँठाउँमा काम गर्ने र घरमा बस्नेलाई समेत कोरोनाले बिहानबेलुकाको छाक टार्न धौ धौ भएर राहतको लाइनमा थिए । कोरोनाले आर्थिक क्षेत्र धराशायी बनाएको छ । कतिले रोजगारी गुमाए । रोजगारी गुमेसँगै बिहानबेलुकाको छाक टार्न मुस्किल परिरहेको छ । लकडाउनका कारण रोजगारी गुमाएपछि सहर पसेका गाउँ फर्किए । त्यो पनि हजारौँ किलोमिटर भोकभोकै, तिर्खाले तड्पिँदै र खाली खुट्टा नै हिँडेर घर फर्किन लागेका विषयहरू समाचारका हेडलाइनमा दिनहँु सुनिथ्यो । जसका कारण अति अजिब छ है दुनियाँको सोच नै मेरो दिमागमा यही आउँथ्यो । हो, यस्तै समस्या संसारभरिका मान्छेले भोग्दा म र मेरो परिवार पनि कहाँ अछुतो रहन्थ्यो र ? बाबा चेन्नइमा होटल व्यवसायमा आबद्ध हुनुहुन्थ्यो । भारतमा सङ्क्रमित बढेसँगै त्यहाँको सरकारले पनि लकडाउन ग¥यो १ दिन २ दिन वा हप्ता वा महिना दिन यति मात्रै हुन्थ्यो भने दैनिकी सहज हुन्थ्यो तर कहिलेसम्म लकडाउन भन्ने थाहा नभएपछि र काम नभएपछि सबैलाई आआनो देशको सम्झना आउनु, मरे पनि बाँचे पनि परिवारसँग बस्न मन लाग्नु त मानवीय स्वभाव नै हो । हो, यस्तै रहर बाबाका मनमा पनि आयो । हामीलाई पनि लागेको थियो बाबा, ठूली ममि अनि भाइहरु आइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । दिनहुँ कुरा त हुन्थ्यो फोन म्यासेन्जरमा तर नजिकै भएको महसुस फोनमा बोल्दैमा नहुँदो रहेछ । अरु कोही आउनुभएन अथवा भनौँ परिस्थिति मिलेन तर बाबा असार २ गते बसबाट नेपाल आउनुभयो । बाबा आउनुभयो भन्ने खुसी एकातिर थियो भने अर्कातिर समाजले गर्ने व्यवहारमा आउन थालेको परिवर्तनले मन दुखाएको थियो । जे होस् बाबाको माया सबैभन्दा ठूलो लाग्यो त्यतिबेला । दुःखलाई सामान्य सोचेँ अनि खुसी पनि भएँ । म मात्रै कहाँ हो र बाबा आउने भएपछि ममी र भाइ पनि उत्तिकै खुसी । बाबाआमालाई सन्तानको खुसी देख्दा जति खुसी लाग्छ त्यसभन्दा बढी खुसी ममीको अनुहारको खुसीले मलाई दिलायो ।
बाबा त आउनुभयो तर भारत भनेर नाम नै काफी भएको ठाउँमा भारतमा नै बसेर आएको मान्छेलाई हेर्ने दृष्टिकोण यति नकारात्मक थियो कि जो भारतबाट आउँछन् उनीहरुले कोरोना नै उपहारजस्तै लिएर आउँछन् र जबरजस्ती कोरोना सारिदिन्छन् । भारतबाट आउने मान्छे अनि उसको परिवारका सदस्य सबैभन्दा ठूलो अपराध गरेका अपराधी हुन् कि जस्तै भन्ने ठानेर समाजमा व्यवहार गरिन्छ । बाबा आउनुभयो र जनक माविमा निर्माण गरिएको क्वारेन्टिनमा उहाँलाई पनि राख्ने व्यवस्था मिलाइयो । बाबासँगै क्वारेन्टिनमा घरबाट म मात्र गएकी थिएँ । आफै सञ्चारक्षेत्रमा रहेर काम गर्ने अनि स्वास्थ्य कार्यक्रम चलाउने मान्छे सजग र सचेत पक्कै पनि थिएँ । केही दिनपछि बाबासँगै घरमा हुन्छौँ, केही दिनलाई किन हेलचक्र्याइँ गर्ने भन्ने सोचले नै म एक्लै गएको थिएँ । विश्वभर फैलिएको कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनका मापदण्ड नियम सबैले पालना गर्नुपर्छ नै गर्न हँुदैन त कहाँ भनेका थियौँ र ? सर्तक हुनुपर्ने ठाउँमा सान्त्वनाका शब्द कसैले किन खर्च गरोस् ? घरमा आएर बसे उनीहरुसँग बोल्दा नै कोरोना सर्छ, त्यो बाटो हिँड्न हँुदैन समेत गाउँभरि नै भनेको सुनियो । बाबालाई क्वारेन्टिनमा राखेर आउँदाको मानसिक तनाब अनि भारतबाट आएका सबैलाई कोराना लागेका समाचारले झन् चिन्ता थपेको थियो ।
क्वारेन्टिन व्यवस्थापन राम्रो छ, खाना र खाजाको व्यवस्था राम्रो छ भन्नुहुन्थ्यो बाबाले तर अन्य व्यक्तिको व्यवहार भने पूरै परिवर्तन भएको थियो । दिनहुँ हाम्रो घरमा आउने छिमेकी र साथीभाइहरु बाबालाई क्वारेन्टिनमा राखेको थाहा पाएपछि घर आउनै छाडे । अरुले जे भने पनि जे गरे पनि बाबालाई ठीक छ भनेर मैले चित्त बुझाउँथे । ९ दिन क्वारेन्टिनमा बसेपछि बाबाको आरटी पिसिआर परीक्षणका लागि स्वाब परीक्षण गरियो । यसबीचमा अपराधीझैं व्यवहार गर्ने अनि माया र हौसला दिने दुवैथरिका मान्छेलाई नजिकैबाट चिन्ने मौका मिल्यो । धेरैले सोध्थे रिपोर्ट के आयो कस्तो छ ? भनेर । त्यसले चिन्ता झनै बढाउँथ्यो । के गर्न नै सक्थेँ र ठीक छ रिपोर्ट केही दिनमा आउँछ रे भन्थेँ । बाबा स्वस्थ देखिनुहुन्थ्यो हामी पनि ढुक्क थियौं कि बाबाको रिपोर्ट नेगेटिभ आउँछ भनेर तर सोचेजस्तो कहाँ हँुदो रहेछ र नसोचेको रिजल्ट आयो । कोरोना सङ्क्रमितको नाम र संख्यामा मेरो बाबाको नाम पनि थपियो अनि एउटा संख्या बढ्यो । अरुका लागि १ संख्या बढे होला तर हाम्रा लागि सारा संसारका मान्छेलाई कोरोना लागेजस्तै भयो । त्यसपछि त झनै हामीलाई हेर्ने नजर फरक भयो ।
लाग्यो, बाबाको त पोजेटिभ रिपोर्ट आयो त्यही रिपोर्ट हाम्रो पनि हो । ममी, भाइ अनि मेरो अवस्था शब्दमा पोख्न नमिल्ने जस्तै भयो । बाटामा हिँड्ने छिमेकीहरु हामीले कुनै ठुलै अपराध गरेका छौं कि झैँ गरी हेर्थे र कानाखुसी गर्दै हिँड्थे । कता कता हामीलाई समाजबाट बहिष्कार भएजस्तै आभास हुन्थ्यो । यस समयमा म र मेरो परिवार मात्र होइन मसँग जोडिएका मेरा साथीभाइ अनि परिवारसँग जोडिएका आफन्तले समेत यो समस्या भोग्नुपरेको थियो । टोलका गन्यमान्यको व्यवहार र मेडिकल पढेर स्वास्थ्य क्षेत्रमा काम गर्छु भन्नेको व्यवहार पनि नकारात्मक थियो । सरोकारवाला जनप्रतिनिधिहरु र नजिकैकाले पनि सान्त्वनासमेत दिएनन् । सायद प्राथमिकता फरक परेर हो कि आशा चाहिँ बढी नै लाग्ने रहेछ ।
बाबालाई रजहर प्राकृतिक चिकित्सालयमा लगेर राखियो । सुविधा राम्रो थियो, हुन पनि किन नहोस् देशकै उत्कृष्ट आइसोलेसनको ताज पहिरिएको थियो । खाना र खाजा प्राकृतिक चिकित्सालयमा अर्गानिक थियो । योग र ध्यान सिकाइन्थ्यो । सङ्क्रमितलाई छिटै स्वस्थ बनाउने काम भइरहेको थियो । नगर, प्रदेश र केन्द्रबाट अनुगमन हुन्थ्यो । विशेष गरी अस्पतालका निर्देशक डा. विनोद पौडेलप्रति आभारी छु । समयसमयमा फोन गरेर जानकारी दिने र नआत्तिईकन बस्नू, ठीक हुन्छ भनेर सान्त्वना दिनुहुन्थ्यो । हामी पनि केही दिनको अन्तरमा पुग्थ्यौँ । यता समाजमा सान्त्वना दिने आफन्त त थिए नै तर धेरैले हतोत्साही बनाउँथे । बाबालाई रजहर प्राकृतिक चिकित्सालयमा राखेको २÷३ हप्तासम्म पनि आरटि पिसिआर परीक्षण गर्दा पाजेटिभ रिजल्ट आउँदा मन आत्तिन्थ्यो । डा. विनोद पौडेलको फोनले धेरै राहत महसुस गथ्र्यौं । यसैबीच एकदिन डा. पौडेल सरको फोन आयो अनि भन्नुभयो तपाईं आत्तिनुभएको छ, नआत्तिनुस् ह,ै निको हुन्छ, कसैलाई छिटो र कसैलाई ढिलो मात्र हो । एकदिन पहिला मात्रै फोन गरेर कुरा गर्नुभएका सरले भोलिपल्टै फोन गरेर नआत्तिन भन्दा डर लाग्यो, धेरै समय हँुदा पनि बाबालाई निको नहुनु, यसरी फोन आउनु । नाइँ आत्तिएकी छैन भनेँ अनि उहाँले मलाई गैँडाकोटबाट फोन आएको थियो किन निको नभएको के हो भनेर भन्नुभयो । त्यसपछि बल्ल महसुस गरेँ हाम्रो परिवारलाई मात्रै मानसिक तनाव नदिएर अस्पतातलमा नै अप्रत्यक्ष फोन गरेर सोध्ने मान्छे पनि रहेछन् ।
बाबालाई रजहरस्थित प्राकृतिक चिकित्सालयमा राखिएको ३६ दिनका दिन विनोद सरले नै फोन गरेर खुसीको खबर भनेर सुनाउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङज्यूले बाबालाई कोरोना जितेको प्रमाणपत्र दिनुभयो । लाग्यो मैले नै कोरोना जितेँ । शरीरमा स्फुर्ती आयो अनि मन चङ्गा भयो । हुन त कोरोना जितेर आए पनि हरेक व्यक्तिको मानसिकतालाई परिवर्तन गर्न नसकिने रहेछ । आशा छ, हाम्रो परिवारलाई मात्र होइन यो समस्या दिनानुदिन सङ्क्रमितको संख्या बढ्दै छ । भोलि तपाईंको परिवारमा भयो भने कस्तो हुन्छ ? सर्तक र सचेत रहेर सहयोग गर्नुपर्ने होइन र ? आशा छ, कसैको परिवारले यस्तो पीडा भोग्न नपरोस् । कोही सङ्क्रमित र मृत्यु भएको खबर सुन्न नपरोस् । सङ्क्रमितलाई छिटो निको होस् शुभकामना अर्पण गर्छौं । यस्तो समयमा साथ दिने आफन्त, साथीभाइ, जनक कलेज क्वारेन्टिन व्यवस्थापन समिति, जनप्रतिनिधि अनि रजहर प्राकृतिक चिकित्सालय परिवारप्रति आभारी छु ।
आउनुहोस् सबै मिलेर कोरोनालाई जितौँ । सङ्क्रमित व्यक्ति र उसको परिवारलाई उपेक्षात्मक दृष्टि र व्यवहार होइन माया र हौसला प्रदान गरेर आत्मबल बढाउने प्रयत्न गरौँ ।
(लेखक, विजय एफएमकी पूर्व सञ्चारकर्मी हुन् ।)

Share.

Leave A Reply