रजहरमा २ महिनामै ३१७ कोरोना संक्रमित निको ः ‘योग र नेचुरपेथीमा रिसर्चको आधारशिला वन्यो’

0

कोभिड १९ को संक्रमणबाट मुक्त भएपछि निरोगिताको प्रमाणपत्र लिदै । एकैदिन २० जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

डोलराज रानाभाट, गैंडाकोट, २५ साउन । जेठ १ गते नवलपुर जिल्लामा पहिलो कोभिड १९ संक्रमित फेला परेपनि स्थानीय तह र प्रशासनले आइसोलेसन सहितको अस्पताल कहाँ निर्माण गर्ने भन्ने निर्णयमा पुगेका थिएनन् । जेठ १ का संक्रमितको जिम्मा चितवनकै अस्थायी कोभिड १९ अस्पतालले लियो । त्यसपछि पनि संक्रमित थपिन सुरु भए । भारतबाट आउनेहरुपनि विस्तारै वढे । अनि वहस सुरु भयो प्राकृतिक चिकित्सालय रजहरलाई अस्थायी कोभिड १९ अस्पताल निर्माण गर्ने ।

जिल्ला समन्वय समिति सहितको छलफलपछि प्रदेश सरकार र स्थानीय सरकार सहितको बजेट व्यवस्थापनमा सुरु भएको एक मात्र अस्थायी कोरोना अस्पताल प्राकृतिक चिकित्सालय रजहरले २ महिनामै ३१७ जना कोरोना संक्रमितलाई निको बनाएको छ । यसले योग र नेचुरपेथीमा रिसर्जको आधारशिला तय भएको व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । समुदायले संचालन गरेको चिकित्सालयले २०६७ सालदेखि योग ध्यान र प्राकृतिक पद्धतीवाट उपचार गराउँदै विरामीलाई निको बनाएको छ । अस्पताल धाउँदा धाउँदै वाँच्ने आशा मारेका समेत यहाँ आएर उपचार पछि निको भएका धेरै छन् । जसले आफ्नो खुशीयाली सहित चिकित्सालयमा भवन निर्माण गरिदिएका छन् भने अन्य विभिन्न सहयोग गरेका छन् ।

निरोगिताको प्रमाण दिँदै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङ

अहिले कोभिड १९ संक्रमितलाई निको बनाएको सफलताबाट यसको अध्ययन र खोजमा आधारशिला वनेको दावी गरिएको हो । व्यवस्थापक हरि सापकोटाका अनुसार संक्रमितबाट मुक्त भएकाहरुवारे अध्ययन र खोज भए यसबाट कोभिड १९ को भाइरस निको हुने विधिवारे थप सफलता प्राप्त हुनेछ । केही समय आयुर्वेद तथा विज्ञान संकायका प्राध्यापकहरुले कोभिड १९ को औषधि हुन सक्छ भनी दावी गरेको समाचार वाहिर आएपनि व्यवस्थापक सापकोटाले भने आफूहरुले काम गरेर वास्तवमै निको वनाई पठाएकाले अध्ययनको आधारशीला हुने बताउनु भएको हो।

हुन पनि उपचारमा खटिनुभएका चिकित्सालयका निर्देशक डा विनोद पौडेलका अनुसार आइसोलेसन पुगेको ५ दिनमै निको हुने पनि छन् भने ढिलामो ३५ दिन सम्म । अहिले सम्म एक जनाले ज्यान गुमाउनु परेको छैन । जेठ २४ मा ३ जना संक्रमित सहित उपचार सुरु गरिएको यहाँ आजसम्म ३१९ जना संक्रमित मध्ये आजमात्रै २० जनाको अन्तिम पीसीआर रिपोर्ट नेगेटिभ आएर घर गएपछि २ जनामात्रै सक्रिय संक्रमित छन् । ३ वर्षदखि ७८ वर्षसम्मका संक्रमित साथै दुई जना गर्भवती महिलाहरुको समेत सफल उपचार गर्न सकेको उहाँको भनाई छ । उपचार सफल हुनुको मुख्य कारण तनाव व्यवस्थापन,भाइरल लोड घटाउने विधिहरु प्रयोग गर्ने, आहारविहार, दैनिक योग अभ्यास भएको बताउनुभयो । यही अभ्यास घरमा समेत गर्न सकिने भन्दै निको हुनेहरुले जीवन पद्धती समेत सिकाएको बताए । घरमा गएरपनि चिकित्सालयले दिएको तालिका लागुगर्ने बताएका थिए ।

यसको थप अध्ययन र अनुसन्धान भए के प्राकृतिक उपचार पद्धतीवाट कोभिड १९ चाँडै निको हुन्छ त ? भन्ने तथ्य पत्ता लाग्न सहयोग पुग्ने छ । तर यसका लागि खोज अनुसन्धानमा सरकारले सहयोग गर्नभने आवश्यक छ । नवलपुर जिल्लाको एक मात्रै कोभिड १९ अस्थायी अस्पताल रजहर प्राकृतिक चिकित्सालय कोरोना संक्रमितलाई चाँडै निको पारी उदहारणीय अस्पताल वनेको हो । जिल्ला अस्पतालको समेत व्यस्थित भवन नभएको नवलपुरमा संक्रमित थपिदै गएपछि आइसोलेसन सहितको व्यवस्थापन कहाँ गर्ने भन्ने चिन्ताले सताएको वेला रजहर प्राकृतिक चिकित्सलाय अग्रसर भएको थियो ।

सरकारले १५ दिन आइसोलेसनमा वसेपछि लक्षण नभए घर पठाउन भनेपनि गण्डकी प्रदेशले भने अन्तिम पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउन निर्देशन गरे अनुसार सवैको अन्तिम स्वाव संकलन गरी परीक्षण पश्चात नेगेटिभ आएर नै घर गएका हुन् । कुनै समय ५१ जना सम्म भएको चिकित्सालयमा अहिले शुक्रवार मात्रै संक्रमण पुष्टी भएका एक जना र अन्तिम पीसीआर रिपोर्ट आउन वाँकी १ जना मात्रै अहिले आइसोलेसनमा रहेका छन् । शनिवार निको भएर जानेले उपचारमा खटिने चिकित्सकहरुलाई भगवानको र चिकित्सालयलाई मन्दिरको उपमा दिएर विदा भएका थिए । चिकित्सालयका निर्देशक डा पौडेलले नेगेटिभ आएको नामावली सुनाउदा खुशी हुँदै निको हुनेले भुईमा ढोग्दै सामुहिक नाचगान समेत गरेका थिए ।

विदाई कार्यक्रममा पुग्नु भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले अस्पतालको काम गराई र व्यवस्थापन पक्ष उदाहरणीय रहेको भन्दै घर जानेहरुलाई निरोगिताको प्रमाण पत्र प्रदान गर्नुभएको थियो । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले चिकित्सालयको उपचार पद्धतीले नेपालमा नयाँ अवसर दिन सक्ने भन्दै सरकारले यहाँको उपचार पद्धती अपनाउन अन्य ठाउँमा पनि निर्देशन दिनुपर्ने बताउनुभयो ।

चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले संकटको समयमा समेत अस्पतालहरु व्यवसायीक वन्न खोजेका कारण देशका अन्य ठाउँमा मृत्यु हुने र संक्रमित वढ्ने गरेको बताउनुभयो । राज्यले जिम्मेवारी दिन तयार रहे क्षमता अनुसार अन्य जिल्लाका संक्रमितलाई पनि उपचार गराई निको पार्न तयार रहेको बताउँदै जनताले स्थापना गरेको चिकित्सालय भएकाले समुदायले जे निर्देशन दिन्छ सो पालना गर्दै उपचारमा खटिन तयार रहेको बताउनुभयो ।

Share.

Leave A Reply