गैंडाकोट स्मार्ट सिटीः ‘हरेक नगरवासीलाई एउटा कार्ड, उक्त कार्डबाट सवै सेवा’

0

डोलराज रानाभाट, गैंडाकोट, २३ साउन । गैंडाकोट नगरपालिकालाई स्मार्ट सीटी बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । वदलिदो परिवेश र विकसीत प्रविधिको उच्चतम प्रयोग गर्दै नगरपालिकालाई स्मार्ट सीटी बनाइने भएको हो ।

स्मार्ट सीटी भएपछि जनतालाई उपलब्ध गराउने सेवा सुविधा र तथ्याङ्क राख्ने विधिहरुको आज डेमो (अनलाइनबाट उपलब्ध गराइने सेवाहरुको उहाहरण) प्रदर्शन गरिएको छ । स्मार्ट सीटी टेक्नोलजी काठमाण्डौले जिम्मा लिएको यस कार्यको प्रमुख पक्ष इ–गर्भनेन्स (विना कागज अनलाइनबाट कसरी सेवा प्रवाह गर्ने ) को कार्य सकिएको हो ।

त्यसैको डेमो आज प्रस्तुत गरिएको निर्माण कम्पनीका अध्यक्ष शिव ढकालले जानकारी दिनुभयो । उहाँले नै आज नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकाहरु माझ डेमो प्रस्तुत गर्दै अहिले बाट यसलाई संचालन गर्न सकिने बताउनुभयो । सवै तयार भइसकेको बताउँद ढकालले यो कार्यक्रम लागु गरे स्मार्ट सेवा प्रवाह गर्नेमा गैंडाकोट नगरपालिका देशमै पहिलो हुने पनि उहाँले बताउनुभयो ।


नगरप्रमुख छत्रराज पौडेलले पनि ढिलोमा ८ महिना पछि कार्यक्रम लागु हुने विश्वास व्यक्त गर्नुभयो । डेमो हेरेपछि प्रतिक्रिया दिँदै नगरप्रमुख पौडेलले भन्नुभयो,“हामीले जे खोजेका थियौँ त्यो बनेको छ । अव यसलाई वडा हुँदै टोल र जनस्तरमा लगेर जानकारी गराउँछौँ र कार्यक्रम लागु गर्छौँ । ”
नगरप्रमुख पौडेलले स्मार्ट सीटीका सवै कार्यक्रम लागु गर्न ५ देखि साँढे ५ करोडको लागत अनुमान रहेपनि सवैभन्दा पहिला गर्नुपर्ने कार्यको लागि नगरपालिकाले ५० लाख बजेट छुट्याएको र संघीय सरकारसँग १ करोड माग भएको बताउनुभयो । उक्त बजेट प्राप्त हुनासाथ पहिलो चरणमा नगरपालिकाबाट लिने र दिने सवै प्रकारका सेवा पेपरलेस (विना कागज सवै अनलाइनबाट) हुनेछ ।


साथै नगरप्रमुख पौडेलले यो कार्यक्रममा कसैले विरोध नगर्ने भन्दै सवैको साथ र सहयोग सहित अन्तराष्ट्रिय रुपमा लगानी गर्ने इच्छुक निर्माण कम्पनीले पनि साथ दिने बताउनुभयो । पहिलो चरणको सफल भएपछि दोस्रो चरणमा प्रवेश गर्ने उहाँले बताउनुभयो । पेपरलेस सेवाका लागि कर्मचारीहरुलाई तालिम र हरेक टोटोल घर घरमा पुग्ने गरि २०० वढि भोलन्टीएर परिचालन गर्ने नगरपालिकाको योजना रहेको पौडेलले बताउनुभयो ।

नगरउपप्रमुख विष्णुकुमारी कडेँलले पनि आजको डेमोले आफूहरुलाई धेरै खुशी बनाएको भन्दै चाँडै लागुगर्न आफूहरु सक्रिय रहने बताउनुभयो । साथै यसको प्रयोग गर्न सक्ने गरी जनतालाई सचेतनाको कार्यक्रम संचालन गर्ने बताउँदै डेमोमा देखाइजस्तै गरी कार्यक्रम लागु भएपछि नगरपालिकाको चालु खर्च घट्ने देखि जनताले सहज र छिटो छरितो सेवा पाउने बताउनुभयो ।

डेमो हेरिसकेपछि गैंडाकोट ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले कार्यक्रम राम्रो भएको तर यसको उपयोग कसरी गर्ने भन्ने ज्ञान दिन जरुरी रहेको बताउँदै त्यसमा आफूहरु लागपर्ने बताउनुभयो । गैडाकोट १३ का वडाअध्यक्ष पदम पौडेलले यो कार्यक्रम लागु गर्ने सुनौलो अवसर भएको भन्दै आफूहरुकै समय कार्यक्रम संचालन गरी जनतालाई समयमै सेवा दिनेगरी काम गर्ने बताउनुभयो ।

स्मार्ट सीटी वनाउन आवश्यक पर्ने अनलाईन सेवाहरुको निर्माण तथा डेमोमा थपघट गर्नुपर्ने विषयमा अन्तरक्रिया समेत भएको थियो । नगरपालिकाबाट कार्यक्रम निर्माणको जिम्मेवारी इन्जिनियर शंकर कडेँल र आइटी अफिसर विनोद न्यौपानेले जिम्मा लिनुभएको छ ।

 

 

 

 

 


स्मार्ट सीटीको पहिलो खण्ड नै सवै नगरवासीको तथ्याङ्क संकलन गर्ने र अनलाइनमा प्रविष्ट गराउने गरिन्छ । त्यसपश्चात प्रत्येक नगरवासीलाई नगरपालिकाले एउटा परिचय पत्र प्रदान गर्दछ । उक्त परिचय पत्रमा रहेको नम्वर वा त्यहाँ रहेको वार कोडको सहायताले वडावाट, नगरकार्यपालिकाबाट र समग्र नगरपालिकाबाट जतिपनि सेवा लिनुपर्ने हो ती सवै सेवा प्राप्तीका लागि उक्त नम्वर लिएर नगरपालिका गएपछि वा घरमै वसेर पनि मोवाइलबाट उक्त नम्वर पठाई सेवा लिन सकिन्छ । उक्त नम्वर प्रयोग गर्न नगरपालिकाले एउटा आइडी पासवर्ड उपलब्ध गराउने छ । मोवाइलमा उक्त आइडी पासवर्ड प्रयोग गरी नगरपालिकाको मोवाइल एप्लीकेशनमा गई आफूलाई आवश्यक सेवा लिन सक्नेछन् । उक्त परिचय पत्रमा नागरिकता नम्वर देखि मतदाता परिचय पत्र नम्वर , लाइसेन्स नम्वर, व्यक्तिको पूर्ण ठेगाना उल्लेख हुनेछ ।

भने संस्थाहरुलाई पनि नगरपालिकाले अनलाईनबाट निगरानी र सल्लाह सुझाव दिन सक्ने व्यवस्था गरिएको छ । साथै हरेक संस्थामा भएका तथ्याङ्कको जाँच पनि गर्न मिल्ने व्यवस्था गरिनेछ । त्यसका लागि प्रत्येक संस्था (विद्यालय, सहकारी, विभिन्न एनजीओ आइएनजीओ , मन्दिर) जति पनि नगरभित्रका संस्था उद्योगहरु छन् सवैलाई आइडी र पासवर्ड उपलब्ध गराइन्छ र त्यसको माध्यमद्धारा सेवा लिने र दिने गरिन्छ ।

जस्तै कुनै एक सेवाग्राहीलाई नगरपालिकाबाट सेवा लिन आवश्यक पर्यो भने आफ्नो आइडी पासवर्ड प्रयोग गरेर आफ्नो नम्वर हान्ने त्यसपछि उपलब्ध फर्म भरी के सेवा आवश्यक परेको हो सो खुलाएर सवमिट गर्ने त्यसपश्चात नगरपालिकाले उक्त सेवा अनलाइनबाटै उपलब्ध गराउने छ भने अनलाईनबाट उपलब्ध गराउन सम्भव नभए अर्थात प्रिन्ट कागजात आवश्यक परे हुलाक मार्फत घर घर मा पुर्याउने व्यवस्था गरिने योजना रहेको छ ।

 

त्यस्तै विद्यालयहरुको पनि प्रत्येक दिन कति र कुन कुन शिक्षकको उपस्थिती भयो कति विद्यार्थी उपस्थित भए सो को विवरण भर्न विद्यालयलाई लगाउने र त्यसरी भरिएका विवरण नगरपालिकाको अनलाइनमा देखिने गरी व्यवस्था मिलाइएको छ । साथै प्रत्येक विद्यार्थी र अभिभावकले आफ्नो वालवालिकाको नतिजा, तिर्नुपर्ने शुल्क आदि लगायतका विवरण अनलाइनमै हेर्ने र त्यहीवाट तिर्न मिल्ने व्यवस्था गरिने भएको छ ।

साथै नगरपालिकाको महत्वपूर्ण सूचना प्रवाहका लागि नगरपालिकाको आफ्नै अनलाईन रेडियो रेडियो गैडाकोट संचालन गर्न पनि सुझाव दिइएको छ ।

Share.

Leave A Reply