विजय महिला समूहका उदाहरणिय काम, भवन समुद्घाटन

0


प्रेम क्षेत्री
साउन २१, गैंडाकोट । समूहमा आवद्ध भएपछि गैंडाकोट ८ का महिलाहरुले समाजमा उदाहरणिय काम गरेका छन् । चुल्हो चौकामा सिमित दिदिबहिनीहरु समूहमा आवद्ध भएपछि गाउँमा मर्दापर्दादेखी सर–सहयोग जुटाउनेदेखी गाउँमा आवश्यक सामग्री खरिद लगायत विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरेका छन् । गैंडाकोट ८ मा २०६६ सालमा स्थापना गरिएको विजय महिला समूहले बुधबार समूहको भवन उद्घाटन गरेको छ । विजय विकास स्रोत केन्द्र, सापकोटा कुल मन्दिर एवम् नन्दन सामुदायिक वनको भवन नजिक विजय महिला समूहको भवन निर्माण गरिएको हो ।


महिला दिदिबहिनीहरु तथा समुदायका व्यक्तिको सक्रियतामा १ सभाहल र शौचालय सहितको व्यवस्थित भवन निर्माण गर्न सफल भएको समूहका अध्यक्ष विष्णु गौडेलले जानकारी दिनुभयो ।
समूहका दिदिबहिनीहरुले समूहमार्फत विवाहमा जन्ती स्वागत, रत्यौली खेलेर, व्रतवन्ध, पूजापाठमा भजनकिर्तन गाएवापत आएको रकमबाट भवन निर्माण गर्न सफल भएको समूहका उपाध्यक्ष हरिकला गिरीले जानकारी दिनुभयो । सो कार्यका लागि समूहमा आवद्ध सदस्यहरुले प्रति सदस्य तीन हजारका दरले रकम समेत उठाएको समूहका सचिव रिता सापकोटाले जानकारी दिनुभयो । समूहमा हाल गैंडाकोट ८ बेलटाँडी टोल विकास संस्था अन्तर्गतका ५२ जना सदस्य रहेका छन् ।


भवन निर्माणका लागि गैंडाकोट नगरपालिका, टोलमा रहेका संघ संस्था तथा विभिन्न दाताहरुले धेरै थोरै सहयोग गरेको समूहका कोषाध्यक्ष पार्वती सापकोटाले जानकारी दिनुभयो । उहाँले भवन निर्माणमा करिब ८ लाख खर्च भएको जानकारी दिनुभयो । संस्थालाई थप व्यवस्थित गर्न अझै केही रकम आवश्यक रहेको उहाँले बताउनुभयो ।
समूहमार्फत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागि भई विजेता भई आएको रकम, महिला समूहमार्फत लगानी गरि आएको ब्याज समेत भवन निर्माणमा खर्चिएका छन् । समूहले वाद्यवादनका सामग्री, विवाह व्रतवन्धका लागि आवश्यक भाँडाकुडा समेत खरिद् गरि गाउँमा परिचालन गर्दै आएको छ । समूहमार्फत टोल सरसफाई, टोलमा बिजुलीको पोलमा चिम राख्ने, समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग, गाउँमा मर्दापर्दा तथा विभिन्न मठ मन्दिरमा पूजापाठ व्यवस्थापन कार्यमा सहयोग गर्दै आएको छ ।


विजय महिला समूहले बुधबार मात्रै १० औं साधारण सभा तथा ५ औं अधिवेशन तथा भवन समुद्घाटन समारोह सम्पन्न गरेको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि, गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले महिला दिदिबहिनीहरुको कामको प्रशंसा गर्नुभयो । उहाँले सामाजिक विकास र भवन निर्माणमा महिलाले देखाएको सक्रियताले थप उर्जा मिलेका बताउँदै समूहमा बसेर काम गर्दा सामाजिक एकताको सन्देश गएको बताउनुभयो । महिलाको उत्थान र समूहका विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै गैंडाकोट ८ का वडा अध्यक्ष डिलाराम रिजालले वडामा रहेका अन्य टोलका महिलाहरुले यस कार्यलाई सिको गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । वडाले यसै टोलबाट उपप्रमुख समेत पाएको प्रशंग उल्लेख गर्दै संसद्मा समेत प्रतिनिधित्व गर्न सक्षम महिला वडामा रहेको बताउनुभयो ।

समाजसेवी तिलकप्रसाद सापकोटाले महिलाहरुको एकताले समाजमा सकरात्मक सन्देश प्रवाह भएको उल्लेख गर्दै समुन्नत समाजको निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा वडा सञ्जाल संयोजक खगेश्वर गौडेल, वडा महिला सञ्जालका अध्यक्ष ज्ञानु घिमिरे, सापकोटा कुल मन्दिरका अध्यक्ष ज्ञानेन्द्र सापकोटा, विजय विकास स्रोत केन्द्रका कोषाध्यक्ष पार्वती कंडेल लगायतको उपस्थिती रहेको थियो ।
अधिवेशनले भुमा सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गायत्री पौडेल, सचिवमा कोपिला न्युरे सापकोटा, कोषाध्यक्षमा धनु सापकोटा, सहसचिवमा पार्वती भुषाल, सदस्यहरुमा अञ्जु ज्ञवाली पौडेल, सिला रिजाल, कमला रिजाल, हेमा काफ्ले, माया कंडेल, बिष्णु गौडेल सर्वसम्मत चयन हुनुभएको नव निर्वाचित सचिव कोपीला न्युरे सापकोटाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply