पर्यटकीय नगरी सौराहा खुल्ने सन्देश सहित साइकल यात्रा

0

डोलराज रानाभाट, चितवन, १० साउन । लकडाउन र कोभिड १९ ले चार महिना थलिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य चितवनको सौराहा यही साउन १५ वाट खुल्ने भएको छ । सौराहा खुल्दै छ भन्ने सन्देश प्रवाहका लागि आज व्यवसायीहरुले साइकल यात्रा गरेका छन् । सौराहाबाट सुरु भएको यात्रा चितवनको राष्ट्रिय निकुञ्ज प्रशासन कसरामा गएर अन्त्य भएको थियो । तत्काललाई अन्तराष्ट्रिय पर्यटक आउने सम्भावना नरहेको भन्दै आन्तरिक पर्यटकलाई आकर्षंण गराउन साइकल यात्रा गरिएको क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिुनभयो ।

गत चैत्र ११ देखि सौराहामा संचालित करिव ११० वटा होटलहरु पूर्ण रुपमा वन्द रहेका छन् । चार महिनाको वन्दले उकुश मुकुश भएका व्यवसायीहरु आफ्नो व्यवसायबाट उपलब्ध गराउने सेवासुविधामा लाग्ने लागत घटाउने तयारी गरेका छन् । आन्तरिक पर्यटक भित्राउन उपलब्ध सेवाको मूल्य समायोजन गर्ने तयारी भएको घिमिरेले बताउनुभयो ।

 

होटल खुलेपछि कोभिड १९ को संक्रमण हुन नदिन स्वास्थ्यका सवै उपाय अवलम्वन गर्ने र सरकारले वनाएका सवै मापदण्डको पालना गरिने उहाँको भनाई छ ।

साउन १५ वाट सवै होटल खुल्ला हुने सरकारको निर्णय भएपनि पर्यटकका लागि भने यो समय अफसिजन (व्यवसाय नहुने) रहेकाले ५० प्रतिशत होटल मात्रै संचालनमा आउने सम्भावना भएको उहाँले बताउनुभयो ।

सौराहामा आउने पर्यटकले जीप सफारी, हात्ती सफारी गर्दै निकुञ्जभित्रका जनवारको अवलोकन गर्न पाउनेछन् । यो सहित सौराहाबाट जतिपनि सेवा उपलब्ध हुन्छ ती सवैको दर रेट केही कम गरेर समायोजन गर्न छिट्टै क्षेत्रीय होटल संघ, रेवान सौराहा,वाघमारा सामुदायिक वन लगायतका सघ संस्था वसेर निर्णय गर्ने घिमिरे बताउनुभयो ।

साइकल यात्रामा १७ जनाको सहभागीता रहेको थियो । हरेक हप्ता अन्य विभिन्न गन्तव्यमा यो कार्यक्रम गरिने भएको छ । साथै सामाजिक दुरी कायम गर्न सकिने भरपर्दो माध्यम साइकल भएकाले साइकल संस्कृतिको विकासमा पनि यसले टेवा पु¥याउने घिमिरेको दावी छ ।

Share.

Leave A Reply