विकू गत आर्थिक वर्षमा ११८.७३ प्रतिशतको वित्तीय उपलब्धी हाँसिल गर्न सफल

0

प्रेम क्षेत्री ,साउन ७, गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ११८.७३ प्रतिशतको वित्तीय उपलब्धी हाँसिल गर्न सफल रहेको छ । सम्रग नेपालमा रहेका सहकारीहरु मध्ये उच्च आर्थिक वृद्धि हाँसिल गर्न सफल संस्थाको रुपमा परिचिय बनाउन सफल रहेको संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले बताउनुभयो ।

कोरोनाको माहामारीका बीचमा पनि व्यवस्थापन पक्षको मेहनतले यो सफलता हात पार्न सफल रहेको बताउनुभयो । बुधबार संस्थाको आर्थिक बर्ष २०७७÷७८ को लागि प्रस्तावित बार्षिक नीति तथा कार्यक्रम एवंम योजना तर्जुमा सम्बन्धि गोष्ठीमा बोल्दै उहाँले विकूले अब गर्दिन, हुन्न, सक्दिन भनेर पन्छिन नमिल्ने बताउँदै ‘उई नेभर से नो’ ( We Never Say No ) को अवधारणा अघि सारेका बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा गैंडाकोट क्षेत्र र चितवनका गरि ६ वटा सेवा केन्द्रका उप समितिका पदाधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम सञ्चालक समितिका सचिव प्रेमप्रसाद सापकोटा (राजु) ले प्रस्तुत गर्नुभएको थियो । उहाँले २३ प्रकारका वित्तीय कार्यक्रम र ४० प्रकारका गैर वित्तीय कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा छलफलपछि उप समितिका तर्फबाट कालिगण्डकी, भैंसाखोरी, मेलमिलाप, नवजागरण, दियालो र केन्द्रीय सेवा केन्द्रका संयोजक, उप संयोजक सदस्यहरुले सुझाव पेश गरेका थिए । सेवा केन्द्र व्यवस्थापन उप–समितिबाट आएका सुझावलाई समावेश गर्दै सञ्चालक समितिको तर्फबाट प्रस्ताव गरिएको नीति तथा कार्यक्रमलाई केन्द्रिय उप–समिति एवंम व्यवस्थापन तहमा छलफल पछि अन्तिम रुप दिईने सञ्चालक समितिका सचिव प्रेमप्रसाद सापकोटा (राजु) ले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष एवं सञ्चालक इन्द्रराज ज्योति पौडेलले सदस्य समृद्धिको आधार विकूले बनाउने उल्लेख गर्दै सबैजनाको साथ र हातेमालो सँगसँगै हुनुपर्ने बताउनुभयो । विकूको नीति तथा कार्यक्रमले समग्र सहकारी अभियानलाई प्रतिनिधित्व गर्ने बताउँदै विकू सहकारी अध्ययन गर्ने थलो भएको बताउनु भयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । विकूको संक्षिप्त जानकारी गराउँदै प्रमुख अधिकृत माधव प्रसाद पौडेलले संस्थामा करिब ६ अर्ब पुँजी, ८० हजार सदस्य पुगेको बताउनुभयो । संस्थामा कुल ५१ करोड सेयर पुँजी रहेको उहाँले बताउनुभयो । १९ वटा सेवा केन्द्रमार्फत सहकारीले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । यसअघि संस्थाले कावासोती र अमरापुरी क्षेत्रमा गोष्ठि सम्पन्न गरि सकेको छ ।

Share.

Leave A Reply