रजहरको प्राकृतिक चिकित्सालयबाट एकै दिन ६३ जना कोरोना संक्रमित निको

0

नवलपुर, ७ साउन । नवलपुरको देवचुली नगरपालिकामा रहेको जिल्लाको एक मात्रै अस्थायी कोरोना अस्पताल रजहर प्राकृतिक चिकित्सालयबाट आज एकै दिन ६३ जना कोरोना संक्रमित निको भई घर फर्किएको चिकित्सालयका निर्देशक डा.बिनोद पौडेलले जानकारी दिनुभयो ।

रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचाररत गैंडाकोट नगरपालिकाका ११ पुरुष र २ महिला गरी १३ जना , देवचुली नगरपालिकाका ८ पुरुष र १ महिला गरी ९ जना ,कावासोती नगरपालिकाका ८ जना पुरुष र १ महिला गरी ९ जना ,मध्यविन्दु नगरपालिकाका ८ जना पुरुष र १ महिला गरी ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् ।

त्यसैगरी, बौदीकाली गाउँपालिकाका ४ जना पुरुष, बुलिङटार गाउँपालिकाका १२ जना पुरुष , हुप्सेकोट गाउँपालिकाका ५ जना पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका २ जना पुरुष उपचारपछि निको भएर घर फर्किएका छन् ।

चिकित्सालयका निर्देशक डा पौडेलका अनुसार आज सम्म २१२ जनालाई निको बनाई घर पठाइएको छ । उनीहरु सवैको अन्तिम पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाइएको हो । अहिले ७८ जना उपचाररत छन् । अवको ४देखि ५ दिनमा ५० जनालाई निको वनाउने लक्ष्य रहेको उहाँको भनाई छ । खोप र औषधि पत्ता नलागेको यो भाइरसको संक्रमणबाट मुक्त गराउन प्राकृतिक चिकित्सालयले खेलेको भूमिकाको सवैले प्रशसा गरेका छन् । अध्ययन समेत गर्ने लक्ष्य राखेको चिकित्सालयले प्राकृतिक खानपान र नियमित अभ्यास संक्रमितहरुलाई गराउदै आइएको छ । विना कुनै लक्षण कोभिड १९ पुष्टी भएका उनीहरुको निको हुने दर तिव्र छ । यसले प्राकृतिक उपचार विधिलाई थप सफलता मिल्न सक्ने आकलन गरिएको छ ।

 

चिकित्सालयमा रहेका अन्य संक्रमितको अवस्था पनि सामान्य रहेको र आउँदो शुक्रबार पुनः स्वाब परीक्षण गरिने व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । अहिले जिल्ला भित्र ७८ जना कोरोना संक्रमितको उपचार भैरहेको छ भने नवलपुरका २ जना संक्रमितको चितवनमा उपचार भैरहेको छ । नवलपुरमा कोरोना निको हुनेको संख्या २ सय २० पुगेको छ । जिल्ला भित्र कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म जिल्लामा ३५ सय ११ जनाको स्वाव परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार ३२ सय १३ जनाको रिपोर्ट नेगेटिभ रहेका छ ।

Share.

Leave A Reply