नगर प्रमुख विरुद्ध कांग्रेसको विरोध कायमै

0


गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोटले गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेललाई सार्वजनिक माफी मागेर आत्मालोचना गर्न अल्टिमेटम दिएको छ ।
कांग्रेस गैंडकोटका सभापति तारापति खरेलले आज जारी गरेको प्रेस बिज्ञप्तीमा नगरप्रमुख पौडेलले आफुलाई नसच्चयाए परिणाम दुर्भाग्य हुने उल्लेख गरिएको छ । नगरपालिकाले कानुनी सल्लहाकार राखेको बिषयमा नगरप्रमुख पौडेलले आफुले अहिले सम्म कसैलाई पनि कानुनी सल्लहकार नराखेको, राखेको भए देखाउन चुनौती दिएको र आफनो मानमर्दन हुने काम गर्नेहरु कुकुर भएको भनि दिएको अभिव्यक्तिपछि यसको विरोध हुँदै आएको छ ।
कांग्रेस गैंडाकोटले नगरउपप्रमुख सहित ६३ जना बहुमत सदस्यहरुको अपमान हुने गरि नगरपालिकालाई अल्पमतबाट चलाएर नगरबासीको मतमाथि गम्भीर खेलवाड गरेको विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तिमा नगर प्रमुखले अनियमितता, स्वेच्छाचारिता र भ्रष्टाचारी प्रवृत्तिको पर्दाफास भएकोले झुटको खेती नगर्न भनिएको छ ।
नगर प्रमुखको अभिव्यक्तिपछि कांग्रेस समर्थकले आन्दोलन गर्दै आएका छन् । आज पनि उनीहरुले नगरपालिकाको गेटमा नगरप्रमुख बिरुद्ध नाराबाजी गरेका थिए । आज विरोध सभामा बोल्ने वक्ताहरुले नगर प्रमुख छत्रराज पौडेलले माफी माग्नु पर्ने धारणा अघि सारेका थिए । विरोध कार्यक्रममा संयोजक राजेश पौडेल, गोकुल सापकोटा, गणेश सापकोटा, अमृत भट्टचन, गोविन्द घिमिरे, किसान गुरुङ, नेतृ संगिता घिमिरे लगायतले सार्वजनिक रुपमा माफी नमागे सम्म आन्दोलनबाट पछि नहटने चेतावनी दिएका थिए ।

यसअघि नगर प्रमुख छत्रराज पौडेलले आईतबार एक प्रेस विज्ञप्ती जारि गर्दै समृद्द गैंडाकोट निर्माणको विकास विरोधी, त्रसित मानसिकता बोकेका र आनो चरित्र हत्या गर्नेलाइ सोही किसिमको भाषा प्रयोग गरेको र त्यो शव्द नगरबासी प्रती लक्षित नभएको बताउनुभएको थियो । नगरप्रमुखको पद र मर्यादालाई तेजोबध (शक्ति घटाउने काम) गर्न खोजिएको उल्लेख गर्नुभएको छ । समृद्ध गैंडाकोट निर्माणको महाअभियानमा जुटिरहेको उल्लेख गर्दै उहाँले राजनैतिक पूर्वाग्रहले पिल्सीएका आनै सहकर्मीहरुबाट साथ र सहयोग पाउन नसकेको समेत बताउनुभएको छ ।

Share.

Leave A Reply