गैँडाकोट १ र ५ मा होम क्वारेण्टीनमा बस्न नपाउने

0

प्रेम क्षेत्री
साउन १, गैंडाकोट । गैंडाकोटमा आज होम क्वारेण्टीनमा रहेका समेत गरि १८ जनामा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमण देखिएपछि गैँडाकोट नगरपालिकाका केही वडाहरुले होम क्वारेण्टीनमा बस्न नपाउने गरि सुचना जारी गरेका छन् ।

होम क्वारेण्टीनमा बस्दा न्युनतम मापदण्ड पनि पुरा नगर्ने गरेको र सावधानी नअपनाउँदा कोभिड १९ समुदायमा फैलिने सम्भावना प्रवल रहेको हुँदा वाड नं. १ क्षेत्र भित्र होम क्वारेण्टीनमा बस्न बन्द गरिएको गैंडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिका वडा नं. १ भित्रका ९ जना वडाबासीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ जना निको भइसकेका छन् । बाँकी उपचाररत रहेका छन् । कोभिड पुष्टि भएका परिवारका सदस्यहरुले समेत घरमै सुरक्षित रुपमा बसी जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

त्यस्तै गैंडाकोट ५ ले पनि वडामा होम क्वारेण्टीनमा बस्न नपाउने गरि सुचना जारी गरेको छ । नगरका ठाउँ ठाउँमा व्यवस्थित होम क्वारेण्टीन सञ्चालनमा रहेको अवस्थामा थाहै नदिई होम क्वारेण्टीनमा बसेको पाईएकाले त्यसो गरेको पाईएमा वडा नम्बर ५ ले जरिवाना सहित घर शिल गर्ने जनाएको छ । गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले होम क्वारेण्टीनमा रहेकाहरुमा समेत कोभिड १९ पुष्टि भइसकेको अवस्थामा परिवार र समुदायको स्वास्थ्य सुरक्षाका लागि सचेतना अपनाउन अझ बढी आवश्यक देखिएको बताउनुभयो । यदि अटेर गरेको पाईएमा ५ हजार जरिवाना सहित घर शिल गरिने पनि उहाँले बताउनुभयो । कोभिड १९ को संक्रमण पुष्टि भएका परिवारका सदस्य प्रति सामाजिक तथा भावनात्मक सद्भाव कायम राख्न समेत उहाँले अपिल गर्नुभएको छ ।

गैंडाकोट नगरपालिका नै शिल गर्नुपर्ने चर्को दवाव आईरहेको छ । यस विषयमा आजै बैठक बसि नगरपालिकाको हकमा के गर्ने भन्ने निर्णय लिईने गैंडाकोट नगरपालिका नगर प्रमुख छत्रराज पौडेलले बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा हाल सम्म करिब ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

Share.

Leave A Reply