गैंडाकोटमा १८ संक्रमित मध्ये ७ होम क्वारेनटाइनका (सवै विवरण सहित)

0

प्रेम क्षेत्री/डोलराज रानाभाट, गैंडाकोट, १ साउन । केही दिन पहिले चितवनको भरतपुर स्थित एक वडाका वडाअध्यक्षले पहुँचको आधारमा एक व्यक्तिलाई होम क्वारेनटाइनमा राखे । स्थानीयवासीको विरोधका वीच वडाअध्यक्षले ‘म जिम्मेवारी भएँ’ भन्दै होम क्वारनेटाइनमा राखेका थिए । न खोप न औषधि पत्ता लागेको कोभिड १९ को जोखिममा पनि म जिम्मेवारी भएँ भन्नु आफैमा गैर जिम्मेवारीपन थियो ।

स्थानीयले तिव्र विरोध गरेकावीच वडाअध्यक्षको हठका कारण त्यसरी होम क्वारेनटाइनमा वसेका व्यक्तिमा केही दिनपछि को स्वाव परीक्षणमा रिपोर्ट पोजेटिभ देखियो । होम क्वारेनटाइनमा रहदा उनले न्यूनतम शर्त समेत पुरा गरेका थिएनन् । गाई वस्तुलाई घाँस खुवाउने देखि खेतवारीको काममा सम्लग्न थिए । एक हप्ता अवधिपछि गरिएको परीक्षणमा त्यसरी हिँडेका उनमा कोरोना देखियो । समुदायमा फैलने डरले स्थानीयले वडाअध्यक्षलाई र्याख र्याख्ती पारे र वडाअध्यक्ष नाजावाफ भए ।

यस्ता उदाहारण गैंडाकोटमा पनि देखिएका छन् । सम्पन्नशाली, पहुँचको आधारमा क्वारेनटाइनमा राख्नलाई विभेद गरिएको छ । नगरपालिकामा व्यवस्थित क्वारेनटाइन हुँदा हुँदै पनि आफन्तजन, नातागोतालाई होम क्वारेनटाइनमा राख्न दिएको दवावले गैंडाकोमा समुदाय स्तरमा कोभिड १९ को संक्रमण देखिएको छ ।

 

त्यति मात्रै होइन भारतबाट आएकाहरु व्यवस्थित क्वारेनटाइनमा रहदा कम संक्रमण पुष्टी भएको नगरपालिकामा अहिले खाडी मुलुक सहित विकसीत देशबाट आएकाहरु होम क्वारेनटाइनमा रहदा संक्रमितको सख्या पनि वढेको छ ।

 

आज गैंडाकोटमा देखिएका १८ मध्ये ७ जना त होम क्वारेनटाइनमा रहेका छन् । होम क्वारेनटाइनमा वस्नेहरु परिवारसँगको सम्पर्क, छिमेकीसँगको भेटघाटले समुदाय स्तरमा कोभिड १९ फैलन सक्ने त्रासलाई वढवा दिएको छ । केही होम क्वारेनटाइनमा कोरोना सक्रमण पुष्टी भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङले पनि यसलाई पुष्टी गर्दछ ।

विद्यालयहरु र सार्वजनिक सवारी मात्रै नचलेको हो गैंडाकोटमा । अन्यथा न लकडाउनको कुनै ख्याल राखियो न लकडाउन कार्यान्वयन भए नभएकोमा कडाई गरियो । आज एकै पटक इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत प्रहरीहरु सहित १८ जनामा कोरोना संक्रमण देखिएपछि गैंडाकोटमा कोरोनाको अवस्थावारे ठूलै विपती हुनसक्ने गरी झस्काएको छ । अहिले सम्म होम क्वारेनटाइनमा रहेकाहरुसम्म देखिएको कोभिड १९ को संक्रमण अहिले नियमित काममा रहेका प्रहरीहरुमा समेत देखा परेको छ । उनीहरुमा कहाँबाट संक्रमण हुन पुग्यो केही पत्ता लागेको छैन ।

होम क्वारेनटाइमा वसेकाहरुवाट समुदाय स्तरमा जोखिम वढेको नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुहुन्ुछ । उहाँ भन्नुहुन्छ,“समुदायमा गयो भन्ने अवस्था आयो । ” होम क्वारेनटाइनमा रहेकाहरुमा संक्रमण देखिएपछि सवै घर सिल गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

नगरप्रमुख छत्रराज पौडेलले पनि स्थित थप संवेदनशील भएको भन्दै अव छिट्टै बैठक वसेर थप निर्णय गर्ने बताउनुभयो । होम क्वारेनटाइनले जोखिम र खर्च दुवै वढाउने गरेको छ । परिवारसँग सम्पर्क रहने जोखिमले अन्यमा फैलन डर हुन्छ भने होम क्वारेनटाइनमा रहेकाहरुको सदस्यहरुको पनि स्वाव संकलन र परीक्षण गर्दा त्यसले समय र खर्च दुवै बढाएको छ । त्यसैले होम क्वारेनटाइनमा नभई नगरपालिकाले व्यवस्थापन गरेको क्वारेनटाइनमा राखेर पीसीआर नेगेटिभ आएमात्रै घर पठाउनुपर्नेमा जोड दिनुपर्ने देखिएको छ ।

५ जना प्रहरीलाई कहाँबाट कोभिड १९ सर्यो भन्ने अन्योल कायमै छ । अहिले इलाका प्रहरी कार्यालयबाट वाहिर दिने सेवा वन्द गरिएको छ । जिल्लाबाट थप छुट्टै युनिट पठाएर सुरक्षाको निगरानी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी दिपक रेग्मीले बताउनुभयो । अव इलाका प्रहरीमा रहनुभएका सवैको पीसीआर परीक्षण पछि मात्रै सवै सेवा दिने तर अहिले अत्यावश्यक सेवा मात्रै भित्रवाट प्रदान गरिने एसपी रेग्मीले बताउनुभयो ।

गैंडाकोटमा असार ३१ गते १८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । पहिलो पटक यति धेरै सख्यामा पोजेटिभ देखिएको हो । जसमा इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत २४, २७, २९, ३४ र ३६ वर्षीय पुरुषहरु रहेका छन् ।

अन्यमा गैंडाकोट नगरपालिका वडानम्वर १ का २७ वर्षीय पुरुष रहेका छन् । उनी होम क्वारेनटाइनमा रहेका थिए । गैंडाकोट २ का ५ वर्षीय र ३८ वर्षीय पुरुष तथा १२,१४, र ३५ वर्षीय महिला रहेका छन् । पाँचै जना एकै परिवारका हुन् । उनीहरु नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा थिए भने भारतबाट गैंडाकोट आएका थिए ।

गैंडाकोट ४ को होम क्वारेनटाइनमा रहेका ३३ र ३५ वर्षीय पुरुष, गैंडाकोट ५ का होम क्वारेनटाइनमा रहेका ३६ वर्षीय पुरुष रहेका छन् । क्वारेनटाइनमा रहेका गैंडाकोट ६ का एक पुरुषमा पनि सक्रमण देखिएको हो । उनी नेपालगन्जबाट गैंडाकोट आएका थिए । उनीसँगै क्वारेनटाइनमा सँगै रहेका श्रीमती र दुई छोरामा भने संक्रमण देखिएको छैन । यद्यपी परिवारलाई थप १४ दिन क्वारेनटाइनमा राखिने भएको छ ।

गैंडाकोट ८ मा होम क्वारेनटाइनमा रहनुभएका २८ वर्षीय महिलामा सक्रमण देखिएको छ । उनी गर्भवती समेत छिन् । गैंडाकोट ८ कै होम क्वारेनटाइनमा रहेका ७८ वर्षीय पुरुष र ६७ वर्षीय महिलामा कोभिड १९ संक्रमण पुष्टी भएको छ । उनीहरु अष्ट्रेलियाबाट आएर होम क्वारेनटाइनमा वसेका थिए । उनीहरु श्रीमान श्रीमती हुन् ।

संक्रमण देखिएको सवैमा कोरोना सम्वन्धी कुनै पनि लक्षण नदेखिएको स्वास्थय शाखा प्रमुख पौडेलले बताउनुभयो । उनीहरु सवैको स्वाव हेटांैंडामा परीक्षण गरिएको थियो ।
उनीहरु मध्ये केहीलाई रजहर स्थित आइसोलेसनमा लैजाने तयारी भइरहेका छ भने केहीलाई भरतपुर लगिने भएको छ ।यो सँगै नगरपालिकामा कोरोना संक्रमितको सख्या ५० पुगेको छ । अहिले सम्म ६ जनाले कोरोनालाई जितसक्नुभएको छ ।

Share.

Leave A Reply