शैक्षिक गुणस्तर वृद्धि गर्ने अठोटका साथ दुई दिने कार्यशाला सम्पन्न

0

डोलराज रानाभाट,३० असार । गैंडाकोट नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्ने अठोटका साथ शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालन गरिएको दुई दिने नतिजा प्रवेधिकरण तथा सार्वजनिक शिक्षा सवलिकरण कार्यशाला २०७७ सम्पन्न भएको छ ।

हिजो सोमवारदेखि सुरु भएको कार्यशालामा नगरभित्रका कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुको गणित र विज्ञान विषयको सिकाई उपलब्धीवारे तथ्याङ्क प्रस्तुत गरिएको थियो । विजय सामुदायिक शिक्षा सदनको सभाहलमा सम्पन्न कार्यक्रममा शाखा प्रमुख उपसचिव बालकृष्ण चापागाईले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार नगरभित्र सामुदायिक भन्दा निजी विद्यालयको नतिजा राम्रो देखिएको र छात्र भन्दा छात्रामा सिकाई उपलब्धी वढि पाइएको छ ।

 

नगरभित्र कक्षा ५ भएका सामुदायिक ३० र संस्थागत १६ विद्यालयका १५३४ जना विद्यार्थी रहेका छन् । ती मध्ये सामुदायिक ११ र संस्थागत ७ वटा विद्यालयका ५१६ जना छात्रछात्रालाई नमुना लिएर उपलब्धी मापन गरिएको थियो । जसमा गणितमा समग्र ३९ दशमलव ७ प्रतिशत र विज्ञान विषयमा ४५ दशमलव १७ प्रतिशत सिकाई उपलब्धी हासिल भएको चापागाईले बताउनुभयो ।

त्यसरी प्राप्त सिकाई उपलब्धीमा सामुदायिक तर्फ गणित विषयमा ३५ दशमलव ७ प्रतिशत रहेको छ भने सोही विषयमा निजी तर्फ भने ४३ दशमलव २ प्रतिशत रहेको छ । त्यस्तै विज्ञान विषयमा सामुदायिक तर्फका विद्यार्थीहरुको सिकाई उपलब्धी ३४ दशमलव ८ प्रतिशत रहदा संस्थागत तर्फ भने ५४ दशमलव ४५ प्रतिशत सिकाई उपलब्धी हासिल भएको शाखा प्रमुख उपसचिव चापागाईले बताउनुभयो ।

गैडाकोट १ देखि ९ सम्मका विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु सहभागीता रहेको कार्यशालाको समाप्तीमा बोल्दै वडाअध्यक्ष ध्रुवराम पौडेलले विशेष परिस्थितीमा वडाअध्यक्षनै सामुदायिक विद्यालयको अध्यक्ष वनेको भन्दै नतिजा सुधारमा आफूहरु निरन्तर लाग्ने बताउनुभयो । शिक्षा शाखाले प्रस्तुत गरेको तथ्याङ्कले विद्यालयको शिक्षा २१ औँ शताव्दी स्तरको वनाउन वाधक केके रहेछन् भन्ने पत्ता लागेको र अव यसको सुधारमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा नगरशिक्षा समितिका सदस्यहरु मिलन श्रेष्ठ, कमल पराजुली, सरस्वती आधारभुत विद्यालयका अध्यक्ष केशवराज शर्मा पौडेल, गैंडाकोट इग्लिस स्कुलका प्रिन्सिपल हिरालाल अर्याल लगायतले शिक्षा शाखाले संकलन गरी प्रस्तुत गरेको तथ्याङ्क सम्पती रहेको र यसले देखाएको नतिजालाई स्वीकार गरी थप सुधारर्दै नगरको शैक्षिक गुणस्तर वृद्धि गर्न सवै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत मोतिप्रसाद रिजालले गर्नुभएको थियो ।

 

नगरशिक्षा समितिका अध्यक्ष नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षतामा सुरु भई सम्पन्न भएको कार्यक्रममा नगरउपप्रमुख विष्णुकुमारी कडेँल, गैडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, गैडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्याय,पूर्व जिल्ला शिक्षा अधिकारी खड्ग कमालको पनि उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply