अव्यवस्थित ढल र भल , हिजोदेखिको पानी निकास नहुँदा गैंडाकोट ४ का स्थानीय त्रासमा, बासको समेत टुंगो लागेन

0

डोलराज रानाभाट, गैंडाकोट,२८ असार,। शनिवार रातिको अविरल वर्षाले गैंडाकोट जलमग्न भएपछि नगरवासी समस्या सहित त्रासमा वस्न वाध्य छन् । हिजो देखि थुप्रिएको पानी अझै निकास भएको छैन । हिजो राति ११ बजेदेखि नै रातभर जागराम वस्नुपरेको भन्दै गैंडाकोट ४ का स्थानीयले जम्मा भएको पानी अझैसम्म पनि निकास नगरिदिएको भन्दै सम्वन्धित निकायसँग आक्रोश पोखेका छन् ।

समृद्धि गैडाकोट महाअभियान वर्ष जारी रहेको पटक पटक भनेपनि भल निकासको उचित प्रवन्ध समेत नभएको शहरमा हिजो राति परेको पानी धेरै नगरवासीको घरघरमा पसेको छ । कतिपयले आफ्ना सामान जोगाउन भ्याए पनि अधिकाँशले भने पानी छिरेपछि मात्रै थाहा पाएका थिए । स्थानीय तेज वहादुर थापा र केशर कुमालले वाढि पस्दा कुखुरा मरेको बताउनुभयो । ठूलो भल आएर ताल परेपछि घरभित्रै पानी वसेको थियो । जसका कारण चामल, धान, विस्तारा सवैमा क्षती पुगेको स्थानीय थापाले बताउनुभयो । रोपेको खेत भरिएर घरभित्र एक्कासी भल पसेको थियो ।

पूर्व पश्चिम राजमार्ग भएतापनि भल छिर्ने गरी कल्भट सम्म छैन । कल्भर्ट टालिएको अवस्थामा रहदा आज वल्ला जेसीवी लगाएर खोलीएको थियो । व्यवस्थित नाला नरहेको नगरभित्र जेसीविले पानी निकासका लागि दिनभर काम गरेको थियो । तर न पानीले पूर्ण निकास पायो न नगरवासीको घरभित्र पसेको पानी घटेको छ । केही सतह घटेपनि वस्न पनि नमिल्ने स्थानीय बद्री रानाभाटले बताउनुभयो ।

जेसीविले खनेर अस्थायी नाला बनाउने वाहेक अन्य काम आज भएन । स्थानीयले भने ठूलो पाइप मगाएर मोटर मार्फत सतह नघटेको ठाउँको पानी घटाउन भनेका छन् भने ठूलो भल जाने गरी अस्थायी नाला वनाउन माग गरेका छन् । जेसीविले खनेर वनाएको नालाबाट आज पनि पर्याप्त पानी निकास भएको छैन । कल्भर्ट हालेर पानीको निकास दिन सक्ने भएपनि यसप्रति खासै चासो दिएको पाइएको छैन ।

अहिले पानीको सतह घटेपनि वस्न मिल्ने अवस्था अझै नभएको स्थानीय बद्री रानाभाटले बताउनुभयो । उहाँ सहित तुलीमाया रानाभाट, शारदा शाही ठकुरी, रिषिराम पौडेल, वोझराज श्रेष्ठ लगायतका स्थानीयको घरमा पसेको पानी केही घटेपनि वस्न मिल्ने अवस्था अझै भएको छैन । यता टोलविकास संस्थाका अध्यक्ष हर्क भुजेलले मुख्य सडकबाट निकासको काम सकेर काँग्रेस चोक पुगेको तर स्थानीयहरुको घरबाट निकास निकाल्ने वारे कुनै काम नभएको बताउनुभयो । त्यस्तै टाइम फर्मासिटीकल्स नजिकका वस्ती देखि ठाडो बाटामा रहेका घरहरु प्रायमा पानी पसेको छ ।

अन्य क्षेत्र भन्दा गैंडाकोट ४ को झपर्दी वढि प्रभावित भएको छ । वडा अध्यक्ष कृष्ण न्यौपानेका अनुसार एक्कासी भएको घटनाले करिव ५०० घरभित्र पानी पसेको र अहिले मुख्य राजमार्गको नाली वाट पानीको निकास निकाल्ने काम भइरहेको बताउनुभयो । वडावासीलाई धैर्य गर्न र आफूले सकेसम्म प्रयास गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले सडक आयोजनाको ढिलाईले वडाले आफूखुशी पानी तथा ढल निकासको निर्माण गर्न नसक्दा थप समस्या भएको बताउनुभयो ।

वडाअध्यक्ष न्यौपानेले दुई वटा जेसीवीले दिनभर खनेर काँग्रेस चोकसम्म अस्थायी नाला ल्याएको भन्दै भोलि पनि काम भएपछि समस्याको समाधान नजिक पूग्ने बताउनुभयो । नगरप्रमुख छत्रराज पौडेलले भल पानी रहेकोले त्यसको निकास भएको बताउँदै लकडाउनका कारण समस्या भएकाले पक्की नाला वन्न नसकेको बताउनुभयो । नाला वनेमात्रै यी समस्या समाधान हुने भन्दै उहाँले नगरपालिकाले सकेको सहयोग गरेको बताउनुभयो ।

वडाको कालिगण्डकी चोक, सहज चोक, झपर्दी, मुख्य राजमार्गसँग जोडिएको अधिकाँश ठाडो बाटोका वडावासी वढि प्रभावित छन् । अहिले बचेका सामान छिमेकीको घरमा सार्दै छन् भने आज पुन पानी परेपछि उनीहरु आत्तिएका छन् ।

Share.

Leave A Reply