शून्य र दर्शन शून्य (गणित) को दार्शनिक विवेचन

0

आनन्दवाची शिव शब्द बाट औणादिक् डून्यत् प्रत्यय भएर शून्य शब्द बनेको हो, जसको अर्थ हुन्छ सदा आनन्दप्रद अवस्था । अमरकोश को रामाश्रमी टीका अनुसार श्वन् शब्द देखि यत् प्रत्यय भई सम्प्रसारण र विकल्प ले दीर्घ भएर शून्य शब्द बन्दछ । शुने हितं शून्यम् – यो शून्य शब्द को अर्थ हो, निर्जन वन जहाँ वन्यजन्तु को हितसाधन हुन्छ । तेस्तो एकान्त जंगल लाई शून्य भनिन्छ । आज शून्य लाई जुन अर्थ मा प्रयोग गरिंदै छ त्यो प्रत्यक्ष दृष्ट पदार्थ को अभाव का रुप मा लिइएको छ । अर्थात् प्रशस्त वन्यजन्तु भएको वन मा वन्यजन्तु रहेनन् भने यो वन वनजन्तु ले शून्य छ अथवा यो वन वन्यजन्तु ले शून्य भयो, भनेर भन्न थालिन्छ । अर्थात् उक्त उदाहरण ले वन त छ तर जन्तु छैनन् भन्ने बुझिन्छ । पदार्थशून्यता को नाम शून्य हो । जसको रुप देखाउन पर्दा ० (जीरो) लेखिन्छ । यो त एक संकेत मात्र हो, चिह्न मात्र हो । वस्तुतः शून्य भनेको अनन्त तत्त्व हो । जसको कुनै अन्त नै छैन । शून्य त कुनै रेखा ले घेर्न सकिने तत्त्व नै हैन । यो त अनादि हो, अनन्त हो । तन्त्रशास्त्र मा त स्पष्ट रुप ले शून्य लाई सच्चिदानन्द ब्रह्म भनिएको छ । जस्तै ः
शून्यं तु सच्चिदानन्दं शब्दं तद् ब्र≈म संज्ञितम् ।
बौद्ध दर्शन को माध्यमिक धारा ले पनि शून्य लाई महत्त्वपूर्ण एक तत्त्व मान्दछ । उपनिषद् ले ब्रह्म लाई ः सत्यं ज्ञानमनन्तं ब्र≈म, अर्थात् सत्य, ज्ञान, अनन्त स्वरुप तत्त्व नै ब्रह्म हो, भनेको छ । एस शून्य लाई नितान्त पदार्थ अभाव का रुप मा देख्नु भनेको सही मूल्यांकन नगरेको ठहर्छ । शून्य भनेको कुनै पनि परिधि नभएको, सीमा नभएको, पदार्थ विशेष को अभावरुप नभएको, तर्क र कल्पना बाट अतीत रहेको, कुनै को गुणविशेष नभएको, निर्गुण गुण को आधार स्वरुप भएको, एक अस्तित्व सम्पन्न सत्त्व विशेष भएको, अनन्त पद को वाच्य हो ।
एस शून्य लाई अर्को भाषा मा भन्ने हो भने आकाश को कारणभूत परावाक् रुप ओंकार शब्दरुप तन्मात्रा नै शून्य हो । एसलाई अक्षर अर्थात् कहिल्यै नाश नहुने तत्त्व भनिन्छ । ज्योतिषशास्त्र मा शून्य का पर्यायवाची शब्दहरु धेरै छन् । जस्तैै ः आकाश, व्योम, गगन, वियत् आदि । ई जति पनि आकाशवादी शब्द छन् ती सबै शून्य का पर्यायवाची मानिन्छन् । शून्य को पर्यायवाची प्रमुख शब्द आकाश हो । आकाश को पर्यायवाची शब्द ब्रह्म हो । भनिएको पनि छ – आकाशस्तल्लिंगात् (ब्रह्मसूत्र) । एसरी शून्य शब्द को वास्तविकता तर्फ विचार गर्ने हो भने शून्य नितान्त सर्वाभावरुप तत्त्व होइन । शून्य लाई गणितीय दृष्टि बाट आँकलन गर्नुपर्छ ।
अंकगणित को प्रथम आविर्भाव चेतनब्रह्म बाट भएको हो । सृष्टि को विलोम क्रम ले लय हुँदा पृथिवी जल मा, जल तेज मा, तेज वायु मा, वायु आकाश मा, आकाश अहं मा, अहं महत् मा, महत् अव्यक्त मा, अव्यक्त (मूल प्रकृति) सत् मा लीन हुन्छन् । केवल एक मात्र सत् शेष रहन्छ । जसले एस सत् तत्त्व को धरातल बुझेका छैनन् तिनले एसलाई निरा शून्य भन्ने गर्दछन् ।
एकै सत् मा स्व–स्व निजात्मक संस्कार सहित विलीन भएका भौतिक तत्त्व लाई पुनः जागृत गर्न सर्वमूल सत् ले संकल्प गर्यो र एकोहं अर्थात् म एक छू भन्यो । एसरी भन्दा एक (१) अंक को उत्पत्ति भयो । एस पछि तेही सत् ले संकल्प गर्यो र भन्यो बहुस्याम् अर्थात् म धेरै हुन्छू किन्तु मेरो एकत्व कहिल्यै मेटिंदैन । एसको पुष्टि श्रुति ले एसरी गरेको छ–
एकमेवाद्वितीयम् ।
एस श्रुतिवाक्य मा अद्वितीय पद ले दुई (२) अंक को अस्तित्व बताएको छ । अझ अगाडी वेद भन्छ ः
एकं सद्विप्रा बहुधा वदन्ति ।
अर्थात् तेस एउटै सत् लाई विद्वान्हरु ले नामरुप का आधार मा धेरै छन् भनी वाद विवाद गर्छन् । एसरी गणित विज्ञान पनि अध्यात्म दर्शन को रहस्योद्घाटन गर्ने प्रमुख साधन हुन गएको छ ।
अझै एसलाई स्पष्ट रुप मा एसरी विचार गरौं ः
एकोहं भन्दा एक (१) अंक ब्रह्म हुन आयो । बहुस्याम् धेरै हुन्छू भन्दा प्रकृति पदवाच्य शून्य शक्ति आयो । यो शून्य शक्ति एक्लै आएको छैन । दशगुना शक्ति लिएर आएको छ । एक अंक को बायाँ तर्फ एक शून्य लेख्दा दश हुन जान्छ । अंकानां बामतो गतिः भने अनुसार एक भन्दा पछि लेखिएका जुन सुकै अंक वा शून्य भए पनि बायाँ तर्फ बाटै गन्नुपर्छ । द्विपरार्ध पछि अंकमान नभएकाले एक को स्थानीय मान अनन्त ब्रह्म हुन जान्छ । सम्भवतः एही नै प्रकृति पुरुष बाट हुने सृष्टि को क्रम हो । शक्ति को नाम पहिल्यै लिए पनि आसन मा बस्दा शक्तिमान् एक (१) दायाँ र शक्तिशून्य शून्य (०) बायाँ नै बस्नु पर्छ । गन्दा शक्ति कै तर्फ बाट गन्नुपर्छ । अर्थात् यहाँ शून्य लाई नै शक्ति भनिएको हो । वस्तुतः यो एक तथ्यपूर्ण दर्शन हो । भगवान् ले एही गणितीय दृष्टि बाट गीता मा गणित संख्या को निर्धारण गर्नु भएको छ, एक देखि नौ सम्म । जस्तै ः
१) पृथ्वी २) जल ३) अग्नि ४) वायु ५) आकाश ६) मन
७) बुद्धि ८) अहंंकार ९) पराप्रकृतिपदवाच्य जीवात्मा
एस कुरा लाई भगवद्गीता मा एसरी भनिएको छ । जस्तै ः
भूमिरापोनलो वायुः खं मनो बुद्धिरेव च ।
अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा ।।
अपरेयमितस्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।। –(गीता अध्याय– ७)
वेदान्त दर्शन मा ब्रह्म लाई अनादि अनन्त मानिन्छ । मायाप्रधानादि पदवाच्य मूल प्रकृति लाई अनादि भनिन्छ । तर कुनै दर्शन ले सान्त मान्छ । कसैले अनन्तै मान्छन् । कसैले ब्रह्म एक (१) छ र त्यो अनन्त छ भन्छन् । तेस एक (१) मा बायाँ बस्ने अनेक बीजात्मिका शून्यरुपा (०) प्रकृति को संख्या सत्रह (१७) पुगे पछि उसको हलचल समाप्त हुन्छ । तेसै भएर एसलाई अनन्त भनिएको हो । एक को दायाँ भाग मा स्वभावतः अनन्त छँदै छ । एही अनन्त ब्रह्म अंक को स्थानीय मान हो । तेसैले ब्रह्म लाई– एकमेवाद्वितीयम् भनिएको हो ।
आकाश लाई पनि शून्य भनिन्छ र तेस शून्यरुप आकाश को गुण शब्द हो । शब्द भन्नाले परावाक् ओम् लाई सम्झनु पर्छ । आकाश लाई आँखा ले देख्न सकिंदैन । आकाश को अस्तित्व आखिर शब्दगुण ले नै सिद्ध गरेको छ । पृथिवी, जल, तेज, वायुहरु लाई सर्वसाधारण व्यक्ति ले पनि जान्न सक्दछन् । किन्तु आकाश को अस्तित्व सिद्ध गर्ने शक्ति सर्वसाधारण मा नहुन सक्छ । आकाश मा चरा उडेका छन् भन्दा आकाश रहेछ कि भन्ने मात्र थाहा छ । प्रमाण द्वारा जान्न गाहारो पर्छ । एसै कारण ले वर्तमान कतिपय दार्शनिकहरु ले पनि इतर पदार्थ को अभाव नै आकाश हो भनेका छन् । किन्तु न्यायदर्शनवेत्ताहरु आकाश लाई सिद्ध गर्न अनुमान प्रमाण अगि सार्छन् । न्यायशास्त्रीहरु भन्छन् शब्द एक विशेष गुण हो । गुण द्रव्याश्रित हुन्छ । आखिर शब्दरुप गुण को आश्रयभूत द्रव्य कुन हो त भन्दा ठूलो उहापोह का साथ शब्दाश्रयीभूत द्रव्य आकाश हो भन्ने कुरा सिद्ध गरेका छन् । अतः आकाश को लक्षण एसरी गरिएको छ ः
शब्दगुणकमाकाशम्,
अर्थात् आकाश को गुण शब्द हो ।
निष्कर्षतः शून्य मा परावाक् नाम गरेको गुण हुनु नै निराशून्यता रहित हुनु हो । त्यो परावाक् हो ः ओम्रुप परावाक् वाच्य ब्रह्म । अतः वाच्यवाचक भाव ले ब्रह्म र ओंकार मा भेद सहिष्णु अभेद सम्बन्ध मान्न कर लाग्छ । भौतिक विज्ञान जगत् त एसै गणित रेखा मा आधारित छ । माथी उल्लेख गरिएको शून्य सम्बन्धी पूर्वीय चिन्तन ले के कुरा को पुष्टि गरेको छ भने वर्तमान भौतिक विज्ञान ले पूर्वीय चिन्तन बाट धेरै कुरा सिक्न बाँकी छ । एति मात्र होइन भौतक विज्ञान ले आध्यात्मिक विज्ञान को पद पद मा पुष्टि पनि गरेको छ । एसका केही उदाहरण हेरौं ः
दृश्यमान शून्य आकाश को गुणभूत शब्दतन्मात्रा बाट भौतिक जगत् को सृष्टि शुरु हुन्छ । अहम् पछि इदम् पदवाच्य आकाश को सृष्टि भएको हो । कारण अति सूक्ष्म भएकाले केही नदेखिने हुँदा आकाश लाई शून्य भनिएको हो । आकाश पछि को वायुशब्द ले स्पर्शगुण लिएर आउँछ र छाला लाई छुन्छ । तेस पछि शब्द, स्पर्शरुप गुण लाई लिएर तेजस्तत्त्व आउँछ । अनि तेस पछि शब्द, स्पर्श, रुप, रस गुण लाई लिएर जलतत्त्व आउँछ । तेस पछि शब्द, स्पर्श, रुप, रस, गन्धरुप गुण लाई लिएर पृथिवी प्रकट हुन्छ । ई तत्त्वहरु को विलोम क्रम ले अव्यक्त मा लीन हुँदा शून्य जस्तो लागेको हो, वस्तुस्थिति त्यो होइन ।
जब शून्य मा एक (१) अंक आउँछ तबै शून्य को शक्ति थाहा पाइन्छ । एक (१) अंक का बायाँ तिर लेखिने शून्य ले एक (१) लाई दश गुणा बनाई दिन्छ । एक (१) का साथ मा लेखिने शून्य (०) को महत्त्व बताउने क्रम मा गोस्वामी तुलसी दास जी ले लेखेका छन् ः
नाम राम को अंक है सब साधन हैं सून ।
अंक गए कछु हात नहीं अंक रहे दश गून ।।
भगवान् श्रीराम को नाम एक (१) अंक हो । अरु सबै साधन शून्यरुप हुन् । यदि साधन का साथ रामनाम रुपी अंक रहन्न भने हात मा केही लाग्दैन । साधन का साथ रामनाम रुपी अंक रहन्छ भने शून्य साधनहरु दश गुना फलदायी हुन्छन् ।
निष्कर्ष मा भन्नु पर्दा सत्त्व, रज, तमोगुण को साम्यावस्था लाई मूल प्रकृति भनिन्छ । एसैमा सम्पूर्ण तत्त्वहरु अव्यक्त रुप ले अन्तर्भूत हुन्छन् । त्यो अव्यक्त चर्मचक्षु ले नदेखिने हुनाले तेस लाई शून्य भन्न थालिएको हो । विना कारण कार्य को उत्पत्ति नहुने सिद्धान्त लाई सबैले स्वीकार गर्न वाध्यता छ । शून्य भन्नाले लोकप्रसिद्ध सर्वाभावरुप लाई भन्न खोजिएको हैन अपितु शून्य सर्वकारणभूत मूल प्रकृतिरुप शून्य हो ।
एसै प्रसंग मा कुनै एक जिज्ञासु ले एस ब्रह्माण्ड अर्थात् पृथिवी को तल, माथी, पूर्व, पश्चिम, उत्तर, दक्षिण (मा) के छ ? भनेर सोध्यो भने उत्तरदाता को उत्तर हुन्छ ः शून्य छ । अर्थात् केही छैन । किन्तु तेस शून्य को नाम आकाश हो । आकाश को गुणभूत परावाक् वाच्य अनन्त ब्रह्म तेसमा छ । निराशून्य हैन । एस सम्बन्ध मा विद्वान्हरु भन्छन् ः
ब्र≈माण्ड गोलं परितः किमस्ति,
किञ्चिद् विदः प्राहुरनन्त शून्यम् ।
न केवलं शून्यमिदं परावाक्,
वाच्यो भवानस्ति चराचरात्मा ।।
ब्रह्माण्ड को चारै तिर के छ ? एस प्रश्न को उत्तर केही बुद्धिजीवी ले एसरी दिन्छन् ः चारै तिर अनन्त शून्य छ । किन्तु विशेष विज्ञहरु निराशून्य हैन परावाक् वाच्य चराचरात्मा मा भगवान् छन् भन्ने कुरा उल्लेख गर्छन् ।

 

 

Source  https://balsirjana.com/

Share.

Leave A Reply