भिडिआरसीको ४२ औँ स्थापना दिवशमा वृक्षारोपण

0


गैंडाकोट, २६ असार । विजय विकास स्रोत केन्द्रले शुक्रबार आज ४२ औं स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा गैंडाकोट २ नारायणी नदि किनार स्थित विजय युवा वृक्षारोपण क्षेत्रमा बिहान वृक्षारोपण गरेको छ । विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले दिवसका अवसरमा वृक्षारोपण गरि वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो । वि.सं. २०४६ साल देखि गैँडाकोट २ नारायणी किनारमा संस्थाले हरेक वर्ष वृक्षारोपण गर्दै आएको छ ।

गैँडाकोट २ का स्थानीय, विजय विकास स्रोत केन्द्रका पूर्व अध्यक्षहरु, पदाधिकारी, विजय परिवारका सदस्य संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागितामा वृक्षारोपण गरिएको हो ।

विजय विकास स्रोत केन्द्रले बिगत ३० वर्ष देखि गर्दै आएको वृक्षारोपणको कामले आफ्नो वस्तीलाई नारायणीको भेलबाट जोगाउन मद्धत पुयाउँदै आएको स्थानीयको भनाइ रहेको छ । वृक्षारोपण हुँदै आएको स्थानमा २०३० को दशकमा ठूलो खोल्सो रहेको र जसमा पनि डुंगाबाट वारपार गर्नुपर्ने अवस्था रहेको गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । सापकोटाले विजय विकास स्रोत केन्द्रको वृक्षारोपण तथा संरक्षणको कामले अहिले आसपासको बस्तीलाई ठूलो फाइदा पुगेको विजय एफएमसंगको कुराकानीका क्रममा बताउनुभयो ।

विजय विकास स्रोत केन्द्रले वार्षिकोत्सवका अवसरमा भोली भुर्चुवल संवाद कार्यक्रमको आयोजना गरेको छ । कोरोना माहामारिको संकटमा नागरिक संस्थाको भूमिका विषयक संवाद कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष गौतमले जानकारी गराउनुभएको छ ।

४२ औँ स्थापना दिवश मनाउदै गरेको संस्थाले विभिन्न संस्थागत चरणहरु पार गर्दै सर्वागिंण सामुदायिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । यो गैरनाफामूलक, गैर राजनैतिक, सदस्यतामा आधारित र स्वयंसेवी भावनाले अभिप्रेरित भएको नागरिक समाजको प्रतिनिधिमूलक संस्था हो ।

यस संस्थाले स्थानीय स्तरमा फरक प्रकृतिको सहकारी संस्थाहरु प्रवर्धन गरि उनीहरु मार्फत आर्थिक कारोबार, सूचना संचार, शिक्षा, लघुवित्त, उपभोक्ताको सहजता लगायतका क्षेत्रमा सघनरुपमा काम गर्दै आएको विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले बताउनुभयो । यस संस्था मार्फत विकू बचत, विजय एफएम, विजय खबर पत्रिका, विजय सामुदायिक शिक्षा सदन, विजय लघुवित्त, विजय कन्सल्टिङ कम्पनी, विजय फाउण्डेसन र विजयश्री उपभोक्ता सहकारी लगायतका संस्थाहरुको प्रवर्धन भइ सामाजिक हितका लागि कार्यरत रहेका छन् ।

Share.

Leave A Reply