गैंडाकोटमा नगर प्रमुख र उप प्रमुखलाई देखाए युवाहरुले नमुना नगर सभाको अभ्यास

0


प्रेम क्षेत्री
असार २३, गैंडाकोट । गैंडाकोट नगरपालिकामा नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई पछाडी राखेर युवाहरुले नमुना नगर सभाको अभ्यास गरि देखाएका छन् । युवा सञ्जाल गैंडाकोटको समन्वयमा गैंडाकोट नगरपालिकाले नै युवाहरुलाई नमुना संसद्को अभ्यास गराएको हो । विजय सामुदायिक शिक्षा सदनको सभाहलमा तीन दिनको अभ्यासपछि मंगलबार उनिहरुले नमुना प्रस्तुत गरेका थिए । कार्यक्रमको अवलोकन पछि गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले युवाहरुले देखाएको सो अभ्यासको सिको गर्न जरुरी रहेको बताउनुभयो । नगर सभामा पेश भएको सोही शिक्षा ऐन देवचुली नगरपालिकामा सर्वसम्मत पास हुनु तर गैंडाकोटमा नहुनु विडम्बना रहेको उल्लेख गर्दै उहाँले समृद्ध गैंडाकोटका लागि सबै जुट्नुपर्ने बेला आएको बताउनुभयो । यस्तो विषयमा अब युवाहरुले आवाज उठाउनु पर्ने बेला आएको उहाँको तर्क छ ।
कार्यक्रममा नगर उप प्रमुख विष्णुकुमारी कंडेलले नमुना संसद्को यस अभ्यासले युवाहरुको क्षमता विकास गरेको प्रष्ट पार्दै नगरका गतिविधिबारे जानकारी प्राप्त गर्न सफल भएको बताउनुभयो । साथै उहाँले युवा संसद् अभ्यासमा युवाहरुले व्यक्त गरेको अभिव्यक्तिले युवाहरु सक्षम छन् भन्ने देखिएको प्रष्ट पार्नुभयो ।


प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले नगर सभा सञ्चालन गर्दा अझै ध्यान दिनुपर्ने कुराहरुका बारेमा सचेत गराउँदै सभा ऐन सम्मत हुनुपर्ने बताउनुभयो । उहाँले युवाका सृजनशिल अभिव्यक्तिले युवाहरुमा बोल्ने बानीको विकास भएको प्रष्ट हुने बताउनुभयो ।
सहभागीको तर्फबाट बोल्दै विराट सापकोटाले संसदका गतिविधि सुनेको, हेरेको र देखेको भएपनि सहभागी हुँदा फरक महशुष भएको बताउनुभयो । विपना परियार नगरका ऐन, नीति, नियम र बजेट निर्माण प्रक्रियाबारे जानकारी मिलेको बताउँदै युवाको भुमिकाका विषयमा ज्ञान प्राप्त भएको बताउनुभयो ।


समापन कार्यक्रममा वडाअध्यक्षहरु हरिप्रसाद सापकोटा, ध्रुवराम पौडेल, शिवकान्त तिवारी, चोलानाथ उपाध्याय, पदमलाल पौडेल, विजय सामुदायिक शिक्षा सदनका कार्यकारी प्रमुख खेमराज सापकोटा, युवा सञ्जालका नगर अध्यक्ष श्याम वन लगायतको उपस्थिती रहेको थियो ।
यसअघि कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाई, अधिकृत मोतिप्रसाद रिजाल, प्रशासकिय अधिकृत पुष्पराज शर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो । नगरका १८ वटै वडाका ३६ जना युवायुवतीले यो कार्यक्रममा सहभागी जनाएका थिए । उनिहरुले नगर सभामा गठन हुन नसकेका विभिन्न समितिबारे नगर प्रमुख उपप्रमुख एवं कार्यपालिका सदस्यको ध्यानकर्षण गराएका थिए । कार्यक्रमको सहजिकरण युवा सञ्जालका उपाध्यक्ष ईन्द्रज्योती पोखरेलले गर्नुभएको थियो ।

गैंडाकोट नगर प्रमुख, उपप्रमुखलाई पछाडी राखेर युवाहरुले देखाए नमुना नगर सभाको अभ्यास

गैंडाकोट नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई पछाडी राखेर युवाहरुले देखाए नमुना नगर सभाको अभ्यास, अवलोकन पछि सुन्नुहोस् उहाँहरुको धारणा ।

Posted by 101.6 Vijaya FM on Tuesday, July 7, 2020

Share.

Leave A Reply