गैंडाकोटमा नमुना युवा संसदको अभ्यास शुरु

0


प्रेम क्षेत्री,
असार २१, गैंडाकोट । गैंडाकोट नगरपालिकामा युवाहरुले नमुना युवा संसदको अभ्यास शुरु गरेका छन् । युवा सञ्जाल गैंडाकोटको समन्वयमा गैंडाकोट नगरपालिकाले नै युवाहरुलाई नमुना संसद्को अभ्यास गराउँदै छ । ३ दिन सम्म चल्ने नमुना संसद् अभ्यासको एक कार्यक्रमका बीच आईतबार गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो । विजय सामुदायिक शिक्षा सदनको सभाहलमा शुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले समृद्ध गैंडाकोटका लागि विकासका पूर्वाधारहरुको काम गर्दा युवाहरुसँग सहकार्य गर्दै अघि वढ्ने बताउनुभयो । उहाँले वडा तहमा गएको बजेटमा युवा वर्गले विशेष निगरानी गरि दिगो विकासमा टेवा पु¥याउन आग्रह गर्नुभयो ।


कार्यक्रमबारे प्रकाश पार्दै शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत मोतिप्रसाद रिजालले युवाको क्षेत्रमा भएको लगानी, ३ दिनको अवधिमा गरिने क्रियाकलापबारे जानकारी गराउनुभएको थियो ।
पहिलो दिन कार्यक्रममा कार्यक्रममा नगर उप प्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाई, प्रशासकिय अधिकृत पुष्पराज शर्माले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख विष्णुकुमारी कंडेलले नगर सभाको आयोजनाको कानुनी र व्यवहारगत पक्षहरु, नीति तथा कार्यक्रमको विकासबारे प्रकाश पार्नुभएको थियो ।


प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले बजेट निर्माण प्रक्रिया, समितिहरुको निर्माण प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । त्यस्तै शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बालकृष्ण चापागाईले स्थानीय सरकार सञ्चालन ऐनले व्यवस्था गरेका कार्यहरु, संवैधानिक तथा कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । त्यसैगरि प्रशासकिय अधिकृत पुष्पराज शर्माले विभिन्न समिति र पदाधिकारीको चयन र सभा सञ्चालनबारे जानकारी गराउनुभएको थियो । सोही बमोजिम युवाहरुले नमुना संसद्को अभ्यास गर्नेछन् । १८ वटै वडाका ३६ जना युवा यो कार्यक्रममा सहभागी छन् ।


आईतबार उद्घाटन सत्रमा गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, विजय सामुदायिक शिक्षा सदनका कार्यकारी प्रमुख खेमराज सापकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण युवा सञ्जालका उपाध्यक्ष ईन्द्रज्योती पोखरेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply