हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको दोस्रो झुण्ड प्रवेश गर्ने सम्भावना छैन :हुमागाईँ

0

असार २० , काठमाण्डौ ।

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईँले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताउनुभएको छ ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित हुनुभएका कार्यदलका संयोजक एवं प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईँले यस्तो बताउनुभएको हो ।

उहाँले भारतको राजस्थानबाट हावाको गति दक्षिणतर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराउनुभयो । उहाँले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज ९शुक्रबार० भारतको मध्यप्रदेशतिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताउनुभयो ।

भारतको इटहवा भैरहवा नाकादेखि पाँच सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा सात सय ६७ किलोमिटर टाढा पुगेको बताउनुभयो । उहाँले मनसुन तथा हावाको दिशामा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने बताउनुभयो ।

उहाँले सलह नियन्त्रणको लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताउनुभयो । मानवबस्ती नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उहाँले स्पष्ट पार्नुभयो ।

Share.

Leave A Reply