प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाईएको ताला खुल्यो

0


प्रेम क्षेत्री,
असार १८, गैंडाकोट । गैंडाकोट नगरपालिकाको तीन वटा कार्यकक्षमा लगाइएको ताला मध्ये प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलेको छ । सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुले असार १६ गते ताला लगाएका थिए ।


सेवाग्राहीको चर्को दवाव पछि असन्तुष्ट नगर सभा सदस्यहरुले नै ताला खोलेका हुन् । आर्थिक वर्षको अन्तिम समयमा अति आवश्यक ठाउँमा ताला लागेकाले जनतालाई समस्या परेको गुनासो आएपछि ताला लगाउने जनप्रतिनिधिहरुसँग छलफल गरी ताला खुलाउन पहल गरिएको नेपाली काँग्रेसका नगर सभापति तारापति खरेलले जानकारी दिनुभयो । ताला खोल्ने क्रममा कांग्रेस पक्षिय जनप्रतिनिधि, कांग्रेस नगर सभापति तारापति खरेल, क्षेत्रिय सभापति द्रोण वन, नेविसंघका जिल्ला अध्यक्ष राजेश पौडेल लगायतको उपस्थिति रहेको थियो । नगर सभा सदस्य राजेन्द्र उपाध्यायले प्रमुख प्रशासकीय अधिकृतले नगर सभामा कानुनी रुपमा सहजिकरण नगरेको आक्रोशमा ताला लगाईएको भएपनि सचेत नगर सभा सदस्य र नागरिकका हैसियतले हाललाई ताला खोलिएको बताउनुभयो ।


नगरप्रमुख छत्रराज पौडेलको कार्यकक्ष, उपप्रमुख विष्णु कुमारी कंडेलको कार्यकक्षमा लगाईएको ताला भने खोलिएको छैन ।
राजनीति मुद्दामा कर्मचारिलाई मुछेको भन्दै प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले असन्तुष्ट व्यक्त गर्नुभएको छ । उहाँले नगरपालिकाबाट प्रदान गरिने सेवामा अवरोध गर्दा नगरको विकासमा नै अवरोध सिर्जना हुने भएकाले यस्ता कार्य रोक्नुपर्ने समेत बताउनुभयो । अहिले नगरपालिकाको सेवा प्रवाहमा कुनै अवरोध नरहेको र नियमित रुपमा नै सेवा प्रदान भईरहेको नगरपालिकाका सुचना अधिकारी लिलाधर शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply