प्रमुख प्रशासकीय अधिकृत कक्षको ताला आज खोलीने

0

१८ असार । गैंडाकोट नगरपालिकाको तीन वटा कार्यकक्षमा लगाइएको ताला मध्ये प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलाईने भएको छ । सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुले असार १६ गते ताला लगाएका थिए ।

नगरप्रमुख छत्रराज पौडेलको कार्यकक्ष, उपप्रमुख विष्णु कुमारी कडेँल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो । जसले दैनिक सेवा प्रवाहमा समस्या भएको गुनासो बढेपछि आज प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खुलाइने नेपाली काँग्रेसका नगर सभापति तारापति खरेलले जानकारी दिनुभयो । अहिले विहान साँढे ९ बजे त्यहाँ गएर ताला खुलाउने उहाँले बताउनुभयो । अति आवश्यक ठाउँमा ताला लागेकाले जनतलाई समस्या परेको गुनासो आएपछि ताला लगाउने जनप्रतिनिधिहरुसँग छलफल गरी ताला खुलाउने पहल भएको खरेलले विजय एफएमलाई जानकारी दिनुभयो ।


यता नगरसभा सदस्य राजेन्द्र प्रसाद उपाध्यायले असन्तुष्टी के मा हो भन्ने छलफल र वार्ता गर्न नगरप्रमुख, उपप्रमुखले आह्वान नगरेसम्म अन्य कार्यकक्षको ताला नखोल्ने बताउनुभएको छ । नगरको अभिभावक भएर अन्य सदस्यहरुको गुनासो र असन्तुष्टी सम्वोधन नगर्दा मात्रै अहिलेको समस्या उत्पन्न भएको र यदि वार्ता र छलफलमा वोलाएर कुराकानी गरे चुड्कीमै समस्याको हल हुने बताउनुभयो । तर अधिकाँश नगरसभा सदस्यहरुको मागलाई सम्वोधन गर्न नखोज्ने र एकलौटी अघि वढ्न खोज्दा आफूहरुको यो वाध्यात्मक परिस्थितीले ताला लगाउनुपरेको उहाँको भनाई छ । विकास निर्माणमा आफूहरु वाधक नभएको र आफूहरुको विरोध नगरप्रमुख मात्रै नभई बजेट निर्माणमा संयोजक भई वस्नुभएका उपप्रमुख सहित कानुन र प्रकृया सिकाउने दायित्व रहेको प्रमुख प्रशासकीय अधिकृत प्रति रहेको बताउनुभयो ।

उहाँले नीति कार्यक्रम बजेट पारित गराउने नगरप्रमुखको कानुनी आधार ठिक नभएको भन्दै नगरसभा सदस्यलाई उठाएर वहुमत पुग्यो भन्नु गलत भएको दावी गर्नुभयो । उहाँले गण्डकी प्रदेशको स्थानीय तहको सभा संञ्चालन सम्बन्धी कार्यविधि विद्येयकको परिच्छेद २ को बैठक सम्बन्धी व्यवस्थाको दफा १४ को उपदाफा १ मा प्रस्तावको पक्षमा हुने सदस्यहरुलाई हुन्छ र विपक्षमा हुने सदस्यहरुलाई हुन्न भन्ने शब्द सुनिने गरी उच्चारण गर्नु भनी अध्यक्षले कार्यसूचीका विषय क्रमश ः निर्णयार्थ पेश गर्नेछ भन्ने व्यवस्था विपरीत भएको बताउनुभयो ।

साथै चालु आर्थिक वर्ष २०७६÷०७७ का लाग छुट्याइएको कुल बजेटको असार १६ सम्म जम्मा ५६ दशमलव ७७ प्रतिशत मात्रै खर्च गर्न सकेको जसमा चालु तर्फ ६२ दशमलव ७२ र पुँजीगत तर्फ ४८ दशमलव ५८ प्रतिशत रहेको भन्दै बजेटको आकार बढाएर मात्रै नहुने र कार्यान्वयनमा सफल हुनुपर्नेमा जोड दिनुभयो ।

अहिले कोरोना महामारीमा बजेट केन्द्रीत गर्नुपर्नेमा छरिएर आएको जसले भोलि शीर्षकबाट बजेट रकामान्तर गर्न कठिन हुने, समृद्ध गैडाकोट महाअभियान वर्षलाई सार्थक वनाउने कालिगण्डकी को पानी गैडाकोटको लगानी, विश्व विद्यालय निर्माण जस्ता महत्वपूर्ण योजना नीति तथा कार्यक्रमबाट हट्नुमा आफूहरुको मुख्य असहमति रहेको उहाँको भनाई थियो ।

कुराकानी ।।

गैंडाकोट नगरपालकामा लगाइएको ताला कहिले खुल्छ ? कोरोना महामारी नियन्त्रणमा नगरसभा सदस्यहरुको भूमिका के हुन्छ ?

Posted by 101.6 Vijaya FM on Wednesday, July 1, 2020

Share.

Leave A Reply