गैंडाकोट १८ जाने सडकमा रुख काटिएको मुद्दाः अभियोग लागेका पूर्वाधार कार्यालयका प्रमुख धरौटीमा रिहा, डिएफओ सुवेदी मन्त्रालय तानिए

0

श्रीराम सिग्देल, १७ असार, कावासोती । सडक वनाउदा सालका रुख काटेको अभियोग लागेर जिल्ला वन कार्यालयको हिरासतमा रहेका जिल्ला पूर्वाधार कार्यालय नवलपुरका प्रमुख लक्ष्मीप्रसाद भण्डारी धरौटीमा रिहा हुनुभएको छ ।
सरकारी कार्यालयहरु बीच समन्वय नहुँदा डिभिजनल बन कार्यालय नवलपुरले जिल्ला पूर्वाधार कार्यालय नवलपुरका प्रमुखलाई रुख काटेको आरोपमा नियन्त्रणमा लिएको थियो । कार्यालय प्रमुखलाई विना समन्वय नियन्त्रणमा लिएको भन्दै जिल्ला बन अधिकृत पूर्णेश्वर सुवेदीलाई मुख्यमन्त्रीको कार्यालयले मंगलवारै मन्त्रालयमा तानेको छ ।
५ दिनदेखि बन कार्यालयको नियन्त्रमा रहेका पूर्वाधार कार्यालय नवलपुरका प्रमुख भण्डारी मंगलबार जिल्ला अदालतमा ४ लाख रुपैया धरौटी बुझाएर छुट्नुभएको छ ।
गत चैत्र २१ गते गैडाकोट नगरपालिका वडा नं. १८ स्थित मुकुन्दपुर आहाले सडक खण्ड निर्माणको क्रममा साल प्रजातिका ४६ वटा सहित ७६ वटा रुख काटेको आरोपमा जिल्ला पूर्वाधार कार्यालयका प्रमुखलाई बन कार्यालयले ५ दिन अगाडि नियन्त्रणमा लिएको थियो ।
प्रदेश मातहत रहेका दुवै कार्यालयबीच समन्वय नभएको र कार्यालय प्रमुखलाई नियन्त्रणमा लिएर मुद्धा चलाउदा कुनैपनि निकायसंग समन्वय नगरेको भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निर्देशनमा प्रमुख सचिव हरिप्रसाद वस्यालले जिल्ला बन अधिकृत सुवेदीलाई प्रदेश मन्त्रालयमा हाजिर हुन बोलाएको उद्योग वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश स्रोतले जनाएको छ ।
पूर्वाधार कार्यालयका प्रमुख भण्डारीलाई वन ऐन को दफा ४९ (ग) बमोजिम ५ बर्ष कैद र एक लाख रुपैया जरिवाना को मागदावी गर्दै बन कार्यालयले जिल्ला अदालत नवलपुरमा अभियोग पत्र दर्ता गरेको थियो । बन कार्यालयले अभियोग पत्र दर्ता गरेपछि मंगलवार जिल्ला न्यायधीस अर्जुन अधिकारीको इजलासमा भएको थुनछेक बहसपछि पूर्वाधार कार्यालय प्रमुख भण्डारी ४ लाख रुपैया धरौटी जम्मा गरेर वन कार्यालयको हिरासत मुक्त भएका छन् भने गैडाकोट १८ का स्थानीय चुम बहादुर चितौरे एक लाख रुपैया र हुमराज सुर्पाक एक लाख ५० हजार रुपैया धरौटीमा रिहा हुनुभएको छ ।
स्थानीय भेडावारी सामुदायिक वन उपभोक्ता समूहको उजुरीको आधारमा अनुसन्धान गर्दा कहि कतैवाट पनि इजाजत नलिई काँचा रुख काटेकोले भण्डारी सहित ११ जनालाई नियन्त्रणमा लिन वन कार्यालयको अनुसन्धान टोलीले सिफारिस गरेको थियो । टोलीको सिफारिसको आधारमा भण्डारीलाई नियन्त्रणमा लिइएको डिभिजनल वन कार्यालय नवलपुरका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
वन कार्यालयले उक्त आरोपमा स्थानीय चुम बहादुर चितौरे र हुमराज सुर्पाक मगरलाई जेठ २१ गते नियन्त्रणमा लिएको थियो। उक्त अभियोगमा संलग्न गैडाकोट नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष तिल बहादुर चितौरे सहित अन्य ९ जना फरार रहेका छन् ।
फरार रहनेहरुमा प्रकाश सारु, समर बहादुर चितौरे, मनोज गरम्जा , खेमराज गरम्जा, गगनसिंह सुनारी मगर, पदम बहादुर आले र बाटो निर्माणको ठेक्का लिएको संरक्षण जे.भी.का केशव लामिछाने रहनुभएको छ ।  उनीहरु सवैलाई बन ऐन अन्तरगत दफा ४९ (छ) अनुसारको कसुर लगाउदै अभियोग दर्ता भएको जिल्ला अदालत नवलपुरका श्रेष्तेदार शिव प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply