गैंडाकोट नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित, असन्तुष्ट नगरसभा सदस्यहरुद्धारा नगरपालिकामा तालावन्दी

0

प्रेम क्षेत्री/ डोलराज रानाभाट, १६ असार । गैंडाकोट नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम ,बजेट सहित दुई विद्येयक वहुमतले पारित भएको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभएको छ । आज दोस्रो पटक वसेको सातौँ नगरसभामा ३३ जना नगरसभा सदस्यहरुले आआफ्नो भनाई राखेपछि त्यसको सम्वोधन गर्दै नगरप्रमुख पौडेलले पास भएको घोषणा गर्नुभयो ।

लगत्तै बजेट संशोधनको मागलाई वेवास्ता गरेको आरोप लगाउदै असन्तुष्ट नगरसभा सदस्यहरुले नगरपालिकामा तालावन्दी गरेका छन् । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नीति तथा कार्यक्रम र बजेट पारित भएको घोषणा गरे लगतै असन्तुष्ट सदस्यहरुले नारावाजी गरेका थिए ।

गत असार १० गते आयोजित नगरको सातौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट अध्ययन गरी आज शंसोधन गर्न माग गरेका अधिकाँश नगरसभा सदस्यहरुले आफनो मागहरुलाई सम्वोधन नगरेको आरोप लगाएका छन् । नगरप्रमुखले एकलौटी पारित भएको घोषणा गरेको भन्दै माग सम्वोधन नभएसम्म ताला नखोल्ने बताएका छन् ।

असन्तुष्ट मध्येका प्रकाश सापकोटाले पटक पटक आग्रह गर्दापनि नगरप्रमुखले आफूहरुको माग सुनुवाई नगरेको बताउनुभयो । जनतालाई कोरोनाबाट जोगाउदै विकास निर्माणका कार्य अघि वढाउने अहिलेको अवस्थामा विभिन्न समितिहरुले आआफ्नो पक्षमा बजेट राखेको भन्दै शंसोधन गरी प्राथमिकता र आवश्यकताका आधारमा बजेट विनियोजनको माग गरेका थिए ।

 

नगरसभा सदस्य कान्तिमाया पुरीले नगरप्रमुख कार्यपालिका बैठकमा पनि एकलौटी गर्दै असन्तुष्ट पक्षलाई सुन्नै नचाहादा समस्या उत्पन्न भएको बताउनुभयो । विषयगत समितिहरुमा गहन छलफल गर्न पटक पटक माग गर्दापनि जवरजस्त नगरसभामा ल्याएको तर आफूहरुको माग सुन्न तयार नहुँदा ताला लगाउनु परेको बताउनुभयो । नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला लगाइएको हो । बजेट निर्माणका लागि भएको कार्यपालिका बैठकका निर्णयमा असन्तुष्ट जनाउँदै आठ जनाले नोट अफ डिसेन्ट लेखेको नगरसभा सदस्यहरुले बताएका छन् ।

सभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, उपप्रमुख विष्णुकुमारी कडेँलले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०७७, विनियोजन विद्येयक २०७७, बजेट तथा योजना वहुमतले पारित भएको भनी घोषणा गर्दै सभा सम्पन्न भएको बताउनुभएको थियो । सधैँ ध्वनी मतले पारित गर्दै आइएको नीति तथा कार्यक्रम यस पटक भने पक्षमा रहेका र विपक्षमा रहेकाहरुलाई उठाएर टाउको गनेर वहुमत पुगेको हिसाव प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले पारित भएको घोषणा गर्नुभएको थियो । पारित हुनु हुँदैन भन्दा ३८ जना नगरसभा सदस्यहरु उठ्नुभएको थियो भने हुन्छ भन्दा जम्मा २० जना सदस्य उठ्नुभएको थियो । तर कार्यपालिका सदस्य २७ र हुन्छ भन्ने २० भई ४७ जना वहुमतले पारित भएको नगरप्रमुख पौडेलले घोषणा गर्नुभएको थियो । तर नगरसभा सदस्यहरुले भने यो कानुन सम्मत नरहेको र नगरप्रमुखले आफुखुशी कानुनको व्याख्या गरेर अधिकाँश नगरसभा सदस्यहरुको अवमूल्यन गर्नुभएको बताएका छन् । नगरउपप्रमुख विष्णुकुमारी कडेँलले कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट लेखेका सदस्यहरु विपक्षमा हुने नियम हुँदा हुँदै नगरप्रमुखले आफूखुशी कानुनको व्याख्या गरेर नीति तथा कार्यक्रम पारित भएको भनेपनि कानुन सम्मत पारित नभएको बताउनुभयो । अर्को नगरसभा बोलाउँदै असन्तुष्ट सदस्यहरुको माग सम्वोधन सहित बजेट तथा नीति कार्यक्रम ल्याउन उहाँले माग गर्नुभयो । कार्यपालिका सदस्यहरुलाई सभामा बोल्नै नदिने सम्मको प्रयास भएको भन्दै नगरप्रमुख सधैँ एकलौटी हिँड्न खोज्दा समस्या भएको उपप्रमुखको भनाई छ ।

यता नगरप्रमुख छत्रराज पौडेलले विजय एफएमसँगको कुराकानीमा आफूले नियमसँम्मत नीति कार्यक्रम, बजेट र विद्येयक पास गरेको बताउनुभयो । अहिलेको मुख्य कामनै कोरोनाबाट जनतालाई जोगाउने भएको भन्दै भोलि आवश्यक बजेट नगरले विभिन्न कार्यक्रम कटौती गरेर भएपनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कानुनी रुपम आफू अघि वढेको र सोही अनुसा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्दै जाने उहाँको भनाई छ ।

Share.

Leave A Reply