भोली खण्डग्रास सूर्य ग्रहण, सूतक आज रातिदेखि नै, कुन राशिलाई के फल ?

0


असार ६, काठमाडौं । असार ७ गते अर्थात आइतबार भोली औँसीको दिन आकाशमा खण्डग्रास सूर्य ग्रहण लाग्दैछ ।

सूर्यमा लाग्ने ग्रहण सबै देश अनुसारको समय फरक हुने भए पनि नेपालमा भोली बिहान १०ः५० देखि सुरु हुने देखिन्छ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे हुनेछ । र ग्रहण मोक्ष अर्थात् ग्रहण दिउँसो २ः२३ हुनेछ । नेपालमा आइतबार लाग्ने खण्डग्रास सूर्य ग्रहण ३ घण्टा ३३ मिनेटको हुनेछ । ग्रहणको समयमा नकारात्मक विकिरणहरुको प्रवाह बढी हुने भएकाले यस समयलाई सूतक लाग्ने समयको रुपमा मान्ने शास्त्रहरुको प्रमाण छ ।

भोली लाग्ने खण्डग्रास सूर्य ग्रहणको सूतक आज राति १०ः५० बजेदेखि नै शुरु हुने भएकाले आज राति १०ः५० देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ । नेपाली आकाशमा लाग्ने यो ग्रहण २०७७ सालभरिको एक मात्र ग्रहण हो भने यो वर्ष नेपालबाट अरु कुनै पनि ग्रहण देखिने छैनन् । यो खण्डग्रास सूर्य ग्रहण नेपालबाट मात्र नभइ विश्वका अन्य देशहरुबाट पनि देख्न सकिन्छ । ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ ।

ज्योतीषिका अनुसार आइतबारको ग्रहणको फल मेष, सिंह, कन्या, र मकर राशिलाई शुभ र अन्य राशिलाई अशुभ देखिन्छ । मेष राशिलाई श्रीप्राप्ती, वृष राशिलाई क्षति, मिथुन राशिलाई घात, कर्कट राशिलाई व्यय, सिंह राशिलाई लाभ, कन्या राशिलाई सुखम्, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सौख्यम्, कुम्भ राशिलाई चिन्ता र मीन राशिलाई व्यथा लाग्ने जनाईएको छ ।

Share.

Leave A Reply