मौसमी फलफूल उत्पादनमा जोड दिँदै गैंडाकोटको कृषि शाखाद्धारा ८ हजार विरुवा वितरण

0

डोलराज रानाभाट, ३ असार । नगरवासीहरुलाई आफ्नै करेसावारीमा मौसमी फलफूल फलाउन प्रोत्साहीत गर्ने उद्देश्यले गैंडाकोट नगरपालिकाको कृषि शाखाले विरुवा वितरण गरेको छ । एक घर एक फलफूलको विरुवालाई सफल पार्दै मौसमी फलफूल किनेर खान नपर्ने उद्देश्यले नगरवासीका लागि निःशुल्क विरुवा वितरण गरेको नगरप्रमुख छत्रराज पौडेलले बताउनुभयो । नगरपालिकाले बाटो देखाउने प्रयास गरेको र त्यसले व्यक्तिलाई व्यवसायीक रुपमै अघि वढ्न प्रेरित गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । धेरै प्रकारका फलफूल अन्य जिल्ला तथा देशबाट खरिद गर्नुपर्ने अवस्था रहेको भन्दै व्यवसायिक रुपमा फलफूल खेती गर्न इच्छुक व्यक्तिलाई नगरबाट विशेष अनुदान पनि उपलब्ध गराउने नगरप्रमुख पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो,“कमसेकम आफूलाई आवश्यक पर्ने मौसमी फलफूलका लागि बजार जान नपरोस् । हामीले केही विरुवा दियौँ भने अन्य विरुवा आफै खोजेर रोप्ने वानीको विकास होस् भन्ने उद्देश्यका साथ वितरण गरेका हौँ ।”


अहिले सुन कागती, आँप र लिचिका विरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख राजु शर्माले जानकारी दिनुभयो । नगरका १८ वटै वडालाई विरुवा हस्तान्तरण गर्ने र त्यसपश्चात वडाले करेसावारी भएका नगरवासीलाई लक्षित गरेर विरुवा वितरण गर्ने शर्माको भनाई छ । कृषि शाखाले व्यवसायिक फलफूल खेती गर्ने र करेसावारीका लागि गरी विरुवा वितरण गर्ने कार्यक्रम मध्ये मापदण्ड अनुसार व्यवसायिक खेती गर्ने व्यक्तिहरु भने नपाइएको जानकारी दिनुभयो ।

लागतका आधारमा वढिमा १ लाख सम्मको अनुदान दिने उक्त कार्यक्रमका लागि गत भदौमा सूचना प्रकाशित गर्दा जम्मा २ जनाले निवेदन दिनुभएको थियो ।

तर दुवैजनाले कम्तिमा ५ कठ्ठामा खेती गर्नुपर्ने मापदण्ड पुरा गर्न नसक्दा कार्यक्रम सफल हुन नसकेको शर्माको भनाई छ । अहिले करेसावारीका लागि विरुवा वितरण गरिएको हो । जसमा सुन कागती ४ हजार, लिचि र आँप दुई ÷दुई हजार रहेका छन् । आज देखिनै वडालाई हस्तान्तरण गर्न सुरु गरिएको शाखा प्रमुख शर्माले बताउनुभयो ।

Share.

Leave A Reply