नन्दन वनले विपन्न २४ घरधुरीलाई खानेपानी धारा जडान गरिदिने

0


प्रेम क्षेत्री, जेठ ३२ गैंडाकोट ।
नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले आफ्ना विपन्न उपभोक्तालाई खानेपानीको धारा जडान गरिदिने भएको छ । गरिब विपन्नको जीवनस्तर उकास्न आफ्नो कार्य क्षेत्रका विपन्न २४ घरधुरीलाई खानेपानी धारा जडान गर्न लागेको वनका जिविकोपार्जन उप समितिका संयोजक विष्णुकुमारी मल्लले जानकारी दिनुभयो । गैंडाकोट ६ का १४ घरधुरी, गैंडाकोट ९ को १ घरधुरी र गैंडाकोट ८ का ९ घरधुरी गरि २४ घरधुरीमा धारा जडान गरिने जिविकोपार्जन उप समिति सदस्य तेजेन्द्र चालिसेले जानकारी दिनुभयो ।
सो कार्यका लागि एक कार्यक्रमका बीच आईतबार गैंडाकोटमा रहेका २ वटा खानेपानी संस्थालाई आवश्यक रकम हस्तान्तरण गरेको छ । धारा जडानका लागि आवश्यक रकम २ लाख ३२ हजार ५ सय विजयनगर पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र १ लाख १ हजार ४ सय ७५ रुपैयाँ बराबरको चेक गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई हस्तान्तरण गरिएको हो ।


चेक हस्तान्तरण गर्दै सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सुर्यसिंह गुरुङले वनले आफ्नो वाचा र कर्तव्य पुरा गरेको बताउनुभयो । साथै उहाँले अब उपभोक्ताले पनि आफ्नो दायित्व बिर्सन नहुने बताउँदै वन संरक्षणमा चासो दिन आग्रह गर्नुभयो ।
चेक ग्रहण गर्दै विजयनगर पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुवास चापागाईले वनको कार्य सराहनिय रहेको बताउनुभयो । गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका व्यवस्थापक रविन्द्रराज घिमिरेले यसले विपन्न परिवारलाई ठुलो राहत मिल्ने बताउनुभयो ।
वनका अध्यक्ष घनश्याम कंडेलले वनले जीविकोपार्जनका लागि विभिन्न कार्यक्रम गर्दै आएकोमा कोभिड १९ को असर र यसले खानेपानी धारा जडान गर्न नसक्ने अवस्थाको उपभोक्तालाई राहत होस् भन्ने हेतुले यस खालको सहयोग गरेको बताउँदै आगामी दिनमा आयआर्जन र उत्पादनमुखी कार्यक्रमलाई जोड दिईने बताउनुभयो ।
खानेपानी संस्थाले वनका तोकिएका उपभोक्ता सदस्यको घरमा धारा जडान गर्नेछन् । वनका पदाधिकारी एवं सदस्य तथा उपभोक्ताको उपस्थिती रहेको सो कार्यक्रमको सहजिकरण लिला थापा मगरले गर्नुभएको थियो ।

नन्दन सामुदायिक वन उपभोक्ता संस्थाले आजै अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । गैंडाकोट ६ का कृष्ण सुवेदीलाई ५ हजार रुपैयाँ सहयोग गरेको हो ।

नन्दन वनले विपन्न २४ घरधुरीलाई खानेपानी धारा जडान गरिदिने

नन्दन वनले विपन्न २४ घरधुरीलाई खानेपानी धारा जडान गरिदिने

Posted by 101.6 Vijaya FM on Sunday, June 14, 2020

Share.

Leave A Reply