चितवनमा वेवारिसे शवको जिम्मा लिने ‘एक्सन फर सोसीयल चेन्ज’ को उद्घोष

0

डोलराज रानाभाट, ३१ जेठ ।

एक्सन फर सोसीयल चेन्ज (वेवारिसे व्यवस्थापन तथा पुनस्र्थापना केन्द्र) ले चितवनमा वेवारिसे वनेका शवको जिम्मा लिने भएको छ । जिउदो हुँदा मात्रै मानिसलाई मानविय सम्मान दिने तर मरेका शरिरलाई हेला गर्ने र अलपत्र छोडिदिने प्रवृति वढ्दै गएपछि केन्द्रले जिम्मा लिने गरी सहकार्य भएको अभियान्ता विनयजङ वस्नेतले जानकारी दिनुभयो ।

आज भरतपुरमा पत्रकार सम्मेलन गरेर वस्नेतले सडकमा मागेर खाने, सडकमै मृत्यु वरण गरेकाहरु जसको आफन्त हुदैनन मलामी हुँदैनन ती व्यक्तिहरुको जिम्मा लिने बताउनुभयो । देवघाटमा रहेको जय भोले कुटीसँगको सहकार्यमा कार्यक्रम सुरु गरिने उहाँको भनाई छ ।
धनी र नाम कमाएका व्यक्तिको मृत्यु हुँदा मलामी नवोलाएपनि व्यक्ति सहभागी हुने तर नाम ठेगाना पत्ता नलागेका व्यक्तिको सडकमै मृत्यु भए वास्तै नगर्ने समाज भएका कारण मृत व्यक्तिको पनि राम्रोसँग व्यवस्थापन हुनुपर्छ भन्ने मान्यता सहित आफूहरुले यसको जिम्मा लिने बताउनुभयो । काठमाण्डौमा विगत ६ वर्षदेखि संस्थागत रुपमै वेवारिसे शवको जिम्मा लिएर दागवत्ति सहित काजकिरीया समेत गरिरहेको बताउँदै वस्नेतले अव चितवनमा पनि सोही अनुसारको जिम्मा लिने बताउनुभयो ।

मृत आत्माले चिरशान्ति पाउने गरी सवै प्रकृया पुरा गरेर शवको व्यवस्थापन गर्ने उहाँको भनाई छ । सरकारले दुखी गरिव सडकमा वस्नुनपर्ने बताएपनि बजेट नआइन्जेल सडकबाट उठाउने र केही दिन व्यवस्थापन गर्ने तर बजेट निकासा पछि फेरि वेवारिसे छोडिदिने गर्दा व्यहारीक कार्यान्वयन नभएको वस्नेतले बताउनुभयो । प्रहरीले सवै कानुनी प्रकृया पुरा गरेपछि पनि मृतकको आफन्त फेला नपरेपछि मात्रै शवको जिम्मा लिने गरी निर्णय भएको उहाँले बताउनुभयो ।

चितवन प्रहरी, महानगरपालिका र अस्पतालका प्रमुख सहितको छलफल पछि देवघाटमा कार्यालय राखेर काम सुरु भइसकेको उहाँले बताउनुभयो । अहिले सम्म काठमाण्डौमा २४१ वेवारिस शवको पूर्ण व्यवस्थापन सहित काजकिरीया नै गरेको बताउँदै उहाँले एउटा शव व्यवस्थापन गर्दा करिव १२ हजार खर्च लाग्ने र सो रकम केही साथीहरुको सहयोग वाहेक सवै व्यक्तिगत खर्चले व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

 

आफू पनि सडकमै आएर पछि परिवर्तन हुन सकेको बताउँदै वस्नेतले वेवारिस पनि जनता नै हुन भन्ने कुराको अवगत गराउन विभिन्न पटकका स्वास्थ्यमन्त्रीलाई भेट्ने खोजेपनि उनीहरुले चासो नदिएको गुनासो गर्नुभयो । यो सरकारले आगामी वर्षमा भने केही बजेट निकासा गरिदिने विश्वास व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply