गैंडाकोटका युवाहरुको सरकारलाई प्रश्न ः १० अर्व खोइ ? क्वारेनटाइनमा वस्नेले त सिटामोल पनि पाएनन् !

0

डोलराज रानाभाट, २९ जेठ । गैंडाकोटका युवाहरुले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै १० अर्व खर्चको विवरण माग गरेका छन् । केपी ओली नेतृत्वको वलियो सरकार हुँदा पनि महामारी नियन्त्रणमा नभई भ्रष्टचारमा लिप्त देखिएको भन्दै यहाँका युवाहरुले विरोध जनाएका हुन् ।

मानिसको मृत्यु भएपछि पीसीआर परीक्षण गर्ने,उचित उपचार अभावमा क्वारेनटाइनमै नेपालीको मृत्यु हुने, परीक्षणको दायरा बढाउन छोडेर राष्ट्रपतिलाई कार्पेट खरिदमा व्यस्त हुने भन्दै सरकारको विरोध गरेका हुन् । नगरपालिका अघिको चौतारामा प्ले कार्ड सहित नारा लगाएका उनीहरुले जनताको जीउ जोगाइदिन आग्रह गरे ।

गत जेठ २१ गते कोरोना नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्व ८७ करोड रुपैयाँ खर्च भएको सरकारले जनाएपछि यसको व्यापक विरोध भएको छ । क्वारेनटाइनमा रहनेले सिटामोल समेत नपाउने तर कोरोना नियन्त्रणमा यति ठूलो रकम के मा खर्च भयो हिसाव चाहिने युवा गोकुल सापकोटाको माग छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी लगत्तै चीनबाट नेपाली विद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सामग्री खरिद, क्वारेन्टाइन निर्माण लगायतमा केन्द्र तहबाट ६ अर्व ३ करोड, प्रदेश तहबाट १ अर्व ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्व ७६ करोड खर्च भएको समितिका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभएको थियो ।


विरोध कार्यक्रममा बोल्दै युवा गोकुल सापकोटाले गैडाकोटका कोरोना संक्रमित व्यक्तिले भेन्टीलेटर नपाई मृत्यु हुन पर्यो, आइसोलेसन नपाएर उपचारबाट वञ्चित हुने अवस्था नआओस भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नगरभित्र पर्याप्त आइसोलेसन वेड र भेन्टीलेटर सहितको व्यवस्था खोइ भन्दै जनताले कर तिर्ने तर उपचार नपाउने अवस्था नल्याउन जनप्रतिनिधिको ध्यानाकर्षण गराउनुभयो ।

 

युवा सरोज चालिसेले सरकारले गरेका खर्चहरु पारदर्शी नभएको, क्वारेनटाइनको व्यवस्थापन नसुधारिएको, सीमा निर्धारणमा सरकार कमजोर देखिएको आदि कारण सरकारलाई सच्चिन प्रदर्शन गरेको बताउनुभयो । कार्यक्रममा युवाहरुको सहभागिता थियो ।

Share.

Leave A Reply