रजहरमा कोरोना अस्पताल बनाउने भनेपनि गति लिन सकेन

0


होमराज रानाभाट
जेठ २८ नवलपरासी ।
पूर्वी नवलपरासीमा कोरोना संक्रमणका बिरामी बढन् थालेपछि यहाँका बिरामीलाई भरतपुर अस्पतालले समेत भर्ना गर्न आनाकानी गर्न थालेपछि र जिल्लामा रहेको आईसोलेशन कक्ष पर्याप्त नहुँदा गण्डकी प्रदेश सरकारले नै देवचुली नगरपालिकाको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेपनि बजेट अभावका कारण कोरोना विशेष अस्पतालले गति लिन सकेको छैन ।
देवचुली नगरपालिका वडा नं १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई कोभिड १९ अस्थायी अस्पताल बनाउने निर्णय भएपछि हाल अस्पतालको आईसोलेशनमा २५ कोरोना भाईरसका संक्रमित बिरामी भर्ना भै उपचारमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय व्यवस्थापन समितिका सचिव प्रदिपराज घिमिरेले बताउनुभयो ।
अहिले पूर्वी नवलपरासीको जिल्ला अस्पताल डण्डामा चार बेड, दुम्कौलीमा दुई र पितौंजीमा दुई बेड आईसोलेशन कक्ष रहेकोमा सो पर्याप्त नहुने भएपछि जिल्लामा रहेको कोभिड १९ संक्रमण व्यवस्थापन समितिकोे सिफारिसमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा चार सय बेड क्षमताको आईसोलेशन कक्ष स्थापना गर्ने गरि प्रदेश स्वास्थ्य निर्देशनालयले समेत अनुगमन गरि अगाडि बढाउने निर्णय भएपनि अहिले खर्च कसले दिने भन्ने समस्याले थप चिन्ता थपेको चिकित्सालयका सचिव घिमिरेले बताउनुभयो ।
सामुदायिक चिकित्सालयलाई कोरोना अस्थायी अस्पताल बनाईएपछि अहिले यहाँ अन्य बिरामी आउन बन्द भएका कारणले यहाँका कर्मचारी समेतलाई तलब ख्वाउन धौ धौ हुन थालेपछि र यो कहिले सम्म रहने भन्ने कुनै निश्चितता नभएकाले चिकित्सालयले सहयोगका लागि सबैलाई अनुरोध गरेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो ।
चिकित्सालयले कोराना बिरामीका लागि अस्पताल नै उपलब्ध गराएपछि यहाँ आउने बिरामी र कर्मचारीका लागि सहयोग जुटाउने उद्देश्यले कृषि बिकास बैंक रजहर शाखामा कोभिड १९ अस्थायी अस्पतालको खाता संचालन गरेर स्वदेश र विदेशमा रहनु हुने सबै दाजुभाई तथा दिदी बहिनहिरुलाई सहयोग जुटाउन अपील गरेको सचिब घिमिरेले जानकारी दिनुभयो ।
कोरोना अस्पतालको आईसोलेशनमा उपचार गर्ने बिरामी र कर्मचारीलाई सहयोग जुटाउने उद्देश्यले ०४१५१००६३०६०००३० नम्बरको कृषि बिकास बैंक रजहर शाखाको खातामा सहयोग उपलब्ध गराईदिन चिकित्सालयले सबैलाई आग्रह गरेको व्यवस्थापक सापकोटाले बताउनुभयो ।
कोेरोना अस्पतालको आईसोलेशनमा रहेका बिरामीहरुको उपचार र यहाँका कर्मचारीको व्यवस्थापन कस्ले गर्ने भन्ने बिषयमा गण्डकी प्रदेश सरकार, जिल्लाका स्थानीय तहहरु मौन रहनुले थप चिन्ता थपीएको र अब सहयोग जुटाउन सार्बजनिक आह्वान गरिएको चिकित्सालयका सचिव प्रदिपराज घिमिरेले बताउनुभयो ।

Share.

Leave A Reply