कविता : ऊ मेरो साथी “पत्रकार”

0

– अजिता अधिकारी

भिरैभिर अप्ठ्यारो बाटो
गोल्डस्टार जुत्ता पड्काउँदै
जब पुग्छिन् उनी
कालिकोट, डोल्पा, रोल्पा हुँदै
रुकुमको लुकुम गाउँ

जनयुद्ध ताका प्वाल परेका
छातीहरुको अमिलो कथा
आँखा गुमाएका,
हात गुमाएका
गुमनामहरुको व्यथा सुनाउँछिन्
आमा उनलाई
गोलीले छेंडिएका पोलहरु अझै
लड्खडाउँदै उभिएका छन्
वर्षाैँदेखि गाउँ भरी
दिनरात सम्झि बस्छन् आमाहरु
खोसिएका कोख
वर्षले बिर्साउँदो रहेनछ
छातीभरीको घाउ

हो,
पहाड पुग्दा निदाउनै सक्दैन पत्रकार
गाउँभरी दुखेका मुटुसँगै
बेस्सरी दुख्छ ऊ
र उनै मुटु बन्छन् समाचार
जो झुटो र वनावटी हुनै सक्दैन।

ऊ मेरो साथी पत्रकार
बोकेर क्यामेरा, डायरी र कलम
हुइँकिन्छ रात्री बसमा बाँके
….
चर्को पानीले चुट्छ बेस्सरी
तर दुख्दैन उसलाई
बरु देखेर दुख्छ भिजेका बस्ती
हिलैहिलो गाडिँदै हतार हतार
पुग्छ उ नरैनापुर
बस्ती त थियो केही छिन
अघिसम्म फाँटभरी धान थियो
खुसी जहान थियो
तर,
अब बस्ती डुबानमा छ
भरिएका आँखाहरुको लाम छ
झम्मक्कै पर्छ साँझ
बर्सिरहन्छ पानी
झरिरहन्छ आँसु
छट्पटाइरहन्छन् डुबेका सपनाहरू
रातभर निदाउनै सक्दैन पत्रकार
र बन्छ सिङ्गो बस्ती समाचार
जो झुटो र बनावटी हुनै सक्दैन

उ मेरो साथी पत्रकार
मन त छ उसलाई कत्ति हो कत्ति
छातीमै टाँसिएकी छोरीलाई
हत्केलामै सुताइरहने
बिहानभरी नानीकै सपना सुनिरहने
अहँ,
फेरि पनि ऊ सखारै हुइँकिन्छ कार्यालय
राखेर छातीमा देश
सम्झेर कर्मको धर्म
डुलाउँछ आँखा कम्प्युटरका स्कृनमा
दौडाउँछ औंला रफ्तारले किबोर्डमा
इमेलहरु……….
… सडक बनेको छ
… सिन्धुलीको जुनार खेती
… कालिकोटको झडप
… रुकुम नरसंहार
… नरैनापुर डुबान
… स्वास्थ्य चौकीको राम्रो व्यवस्था
… विद्यालय निर्माण
… गोली चल्यो
… भोकले ढल्यो सिङ्गो देश।

हो इमेल …।
समाचार बनाउँछ र भन्छ ऊ
जो झुटो र बनावटी हुनै सक्दैन


यता सरकार भनिबक्सिन्छ
… कसरी थाहा पाउँछ पत्रकारले?
… कसरी पुग्यो पत्रकार?

सरकार सुनिबक्सेला
ऊ तपाई जसरी निदाउँदैन मस्त
र निदाएको बहाना गर्दैन।

ऊ मेरो साथी  “पत्रकार”

Share.

Leave A Reply