४५ सय २० वालवालिकालाई खोप लगाउने लक्ष्य सहित गैडाकोटमा आजबाट दादुरा रुवेला खोप अभियान सुरु

0

डोलराज रानाभाट, २१ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाको १८ वटै वडाका ४ हजार ५ सय २० जना वालवालिकालाई दादुरा रुवेला खोप लगाउने लक्ष्य सहित आजबाट अभियान सुरु भएको छ । यस अघि २०७६ चैत्र १६ देखि २४ गतेसम्म अभियान संचालन गर्ने तयारी हुँदा कोरोना भाइरस कोभिड १९ को संक्रमणको डरले स्थगित हुन पुगेको थियो । आज गैडाकोट १ को वडाकार्यालयमा रहेको खोप केन्द्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले खोप सामाग्री हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा गैडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल,गैडाकोट स्वास्थ्य चौकी प्रमुख घनश्याम भट्टराई, प्रकाश पोखरेल सहित स्वास्थ्यकर्मीको सहभागीता थियो ।


सन् २०२३ सम्म नेपालबाट दादुरा रुबेला रोग पूर्ण रुपमा निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले यो अभियानको सुरुवात गरेको हो । देशैभरका ५ वर्ष मुनि , ९ महिना माथिका वालवालिकालाई यो खोप लगाउने र देशलाई दादुरा रुवेला रोग मुक्त घोषणा गर्ने उद्देश्यले सुरुवात गरिएपनि लकडाउन कारण स्थगित हुन पुगेको थियो । नवलपुरमा दुई चरण गरि अभियान थालनी गर्ने गरी पहिलो अभियान चैत्र ३ देखि ११ गतेसम्म कावासोती, देवचुली, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा सम्पन्न भइसकेको छ ।
चैत्र १६ देखि २४ सम्म दोस्रो चरण अन्तर्गत गैडाकोट, बुलिङ्टार र वौदीकालिमा संचालन गर्ने भनिएपनि कोरोना भाइरसको महाहारी फैलिएपछि रोकिएको थियो । अहिले खोप लगाउने स्वास्थ्यकर्मीहरुको कोभिड १९ रहे नरहेको परीक्षण पछि मात्रै परिचालन गरिएको र सामाजिक दुरी कायम सहित मास्क लगाएर आफ्ना वालवालिकालाई खोप केन्द्र लैजान शाखा प्रमुख पौडेलले आग्रह गर्नुभयो । नियमित खोप लगाएपनि खोपको रेकर्ड भएको कार्ड लिएर सम्वन्धित वडामा जान आग्रह गरिएको छ । खोप लगाउने उमेरका कसैलाई नछुटाउने अभियानको मुख्य काम रहेको छ ।
आज जेठ २१ गते गैडाकोट १ बाट सुरु भएको अभियान जेठ २९ गते सकाउने कार्यतालिका रहेको छ ।

खोप लगाउने वडा गत कार्यतालिका

गैडाकोट नगरपालिकामा कुन वडामा कतिलाई खोप लगाउने ?

Share.

Leave A Reply