आश्रममा खाना खुवाएर चितवनमा मनाइयो विश्व दुध दिवस

0

Q

डोलराज रानाभाट, १९ जेठ । मानव सेवा आश्रममा रहेका वृद्धवृद्धा र श्री राम जानकी वालिका आश्रम देवघाटमा रहनुभएका वालिकाहरुलाई खाना खुवाएर २० औँ अन्तराष्ट्रिय तथा १० औँ राष्ट्रिय दुध दिवस आज मनाइएको छ ।

कोरोना भाइरस कोभिड १९ का कारण जारी लकडाउनमा ठूलो औपचारिक कार्यक्रम नगरी आश्रममा रहनुभएका व्यक्तिहरुलाई दुध जन्य परिकार सहित खाना खुवाएर मनाइएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड भरतपुर १० को आयोजना तथा भेटरीनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रको सहकार्यमा कार्यक्रम सम्पन्न भएको र आश्रममा आएर खाना खुवाई सामाजिक कार्य गर्न पाएकोमा संघका अध्यक्ष रत्नमण्ी न्यौपानेले खुशी व्यक्त गर्नुभयो ।

आश्रममा रहेर पनि वालिकाहरुले देखाउनुभएको क्षमताको सम्मान गर्दै आगामी दिनहरुमा पनि सहयोग गर्न आफूहरु तयार रहेको उहाँको भनाई थियो । साथै कोभिड १९ का कारण दुग्ध किसानहरु सवैभन्दा वढि समस्यामा रहेपनि समाधानमा राज्यले सहजीकरण गर्न कन्जुस्याई गरेको भन्दै तत्काल राहत तथा बजारीकरणको व्यवस्था नगरे कृषक नै पलायन हुने खतरा रहेको बताउनुभयो । दुध विक्रि नभएर सडकमा वगाउनुपर्ने वाध्यता हुँदा पनि राज्यले सम्वोधन नगर्नु दुखद भएको बताउनुभयो ।

चितवन दुधमा आत्मनिर्भर रहेको घोषणा गरेको एक वर्षमै यति ठूलो समस्यामा पर्दापनि सरकारले आफूहरुले दिएको सुझावलाई कार्यान्वयन नगरेको भन्दै समयमै दुग्ध किसानको हितमा निर्णय गर्न सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै बरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईले भेटेरीनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र चितवनको वार्षिक स्वीकृत कार्यक्रम अनुसार नियमित दुध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता वढाऔँ भन्ने नारा सहित दिवस मनाइएको बताउनुभयो ।

विना विभेद आश्रममा राखेर वेद लगायतका शिक्षामा बालिकाहरुको सीप र क्षमता वढाउने कार्य गरेको भन्दै आश्रमलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।  कार्यक्रममा बोल्दै आश्रममका महासचिव रामेश्वर प्रसाद खनालले कृषकहरुले आफ्नो उत्पादन सडकमा फालेको देख्दा दुख लागेको बताउँदै यसरी आश्रममा आई सहयोग गरेकोमा आभार व्यक्त गर्दै आश्रममा २८ जना वालिकालाई गुरुकुल शिक्षा सहित आधुनिक औपचारिक शिक्षा पनि प्रदान गर्दै आएको बताउनुभयो । सो अवसरमा आश्रमका वालिकाहरुले स्वागत गान र स्वस्ती वाचनबाट अतिथिहरुलाई स्वागत गरेका थिए ।कार्यक्रममा दुग्ध विकास वोर्डका सदस्य भागिरथ तिमिल्सेना, अन्नपूर्ण दुग्ध उत्पादक सहकारीका अध्यक्ष ऋषिराम चापागाई, सहकारी संघका सचिव किशोर वगाले, आश्रमकी सावित्रि टण्डन सहित पत्रकारहरुको उपस्थिती थियो ।

Share.

Leave A Reply