आर्थिक वर्ष २०७७/७८ मा गैंडाकोटलाई ४८ करोड ६२ लाख रुपैंया विनियोजन, नवलपुरका कुन स्थानीय तहले कती पाउँछन् ? (हेर्नुहोस् विवरण)

0


प्रेम क्षेत्री
जेठ, १७ गैंडाकोट । नेपाल सरकार अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७७/७८ मा स्थानीय तहलाई दिने अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत गैंडाकोट नगरपालिकालाई ४८ करोड ६२ लाख रुपैंया विनियोजन गरेको छ ।

गैंडाकोटका लागि विनियोजित कुल बजेटमध्ये समानीकरण अनुदानमा १६ करोड १७ लाख, सशर्त अनुदानमा २९ करोड ६५ लाख, विशेष अनुदानमा २ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । अन्य स्थानीय तहका लागि समपुरक अनुदानको व्यवस्था गरिए पनि गैंडाकोटका लागि समपुरक बजेट भने छुट्याईएको छैन । गतवर्ष पनि पनि समपुरक अुनदान दिईएको थिएन ।

गतवर्ष समानीकरण अनुदान १६ करोड ४३ लाख थियो । सर्शत अनुदान २२ करोड २१ लाख थियो भने विशेष अनुदान दिईएको थिएन ।
नवलपरासी (वर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिकालाई कुल ५८ करोड १९ लाख, देवचुली नगरपालिकालाई ४४ करोड ५३ लाख, मध्यविन्दु नगरपालिकालाई ४५ करोड ६८ लाख विनियोजन गरिएको छ ।

बौदीकाली गाउँपालिकालाई २६ करोड ३१ लाख, बुलिङटार गाउँपालिकालाई २३ करोड ६१ लाख, विनयी त्रिवेणी गाउँपालिकालाई ३१ करोड ७२ लाख र हुप्सेकोट गाउँपालिकालाई २५ करोड ४२ लाख रुपैंया बजेट विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अर्थ मन्त्रालयका चारवटै अनुदान शीर्षकमा बजेट पाउने स्थानीय तहहरुमा देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र बौदीकाली गाउँपालिका मात्रै रहेका छन् । जिल्लाका स्थानीय तहका लागि विनियोजित रकम मध्ये सबैभन्दा बढि कावासोती नगरपालिकामा र सबैभन्दा कम बुलिङटार गाउँपालिकामा रहेको छ ।

संसदीय प्रक्रिया पुरा भएपश्चात आउँदो साउन १ देखि नयाँ बजेट कार्यान्वयनमा आउनेछ । यहि बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्नुभएको थियो ।

Share.

Leave A Reply