कोरोना नियन्त्रण तथा राहतमा गैडाकोट नगरद्धारा कुल ५२ लाख ६९ हजार खर्च

0

डोलराज रानाभाट, १६ जेठ, गैडाकोट । गैडाकोट नगरपालिकाले राहत तथा कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि हालसम्म गरेको खर्च विवरण सार्वजनिक गरेको छ । आज नगरपालिकामा नगरप्रमुख छत्रराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रसासकीय अधिकृत रामप्रसाद आचार्यले हालसम्म भएका खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।

नगरले हालसम्म वडाहरुको सहित कुल ५२ लाख ६९ हजार १ सय ९४ रुपैया खर्च गरेको छ । प्रदेशको १० लाख तथा नगरपालिकाको आफ्नै ५४ लाख गरी कुल ६४ लाख र विभिन्न संघ संस्था व्यक्तिबाट प्राप्त ९ लाख ५७ हजार १ सय ९९ सहित कुल ७३ लाख ५७ हजार १९९ रुपैया राहत कोषमा जम्मा भएको र उक्त कोषबाट क्वारेनटाइन निर्माण तथा राहतमा कुल ४३ लाख ६७ हजार ४ सय ८५ रुपैया खर्च गरेको छ ।

त्यस्तै नगरबाट प्रदान गरिएको राहतले नपुगेर वडानम्वर १, २, ६, १३ र १८ ले विकास बजेट काटेर राहत वितरण गरेका छन् । जुन ९ लाख १ हजार ७ सय ९ रुपैया रहेको छ । यसरी वडाले गरेको यो खर्च सहित उक्त रकम खर्च हुन पुगेको आचार्यले बताउनुभयो ।

बैठकमा नेकपाका अध्यक्ष षडानन्द लामिछानेले क्वारेनटाइन थप गरी व्यवस्थित गराउन आग्रह गर्दे नरपालिकामा देखिएका शिक्षा सहित अन्य विवादहरु छलफलबाटै मिलाएर अघि वढ्न आग्रह गर्नुभयो ।

त्यस्तै नेपाली काँग्रेसका सभापति तारापती खरेलले राहत वितरणलाई पारदर्शी गराउन, कोरोनाको महामारीका वीच वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिम्मा दिने लगायतका निर्णय पिर्ता लिन आग्रह गर्दे नीति र कानुन अनुसार चल्न सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण सापकोटाले ठूला दलहरु नेकपा र काँग्रेस ले जन निर्वाचित मेयर उप मेयरलाई स्वतन्त्र भई काम गर्न दिन आग्रह गर्नुभयो । पार्टीले ह्वीप लगाएर नभई सुझाव र सल्लाह दिएर काम गर्ने वातावरण मिलाइदिन आग्रह गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर स्तरीय क्वारेनटाइन व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सुवेदीले विदेशबाट आउनेहरु थपिदो क्रममा रहेकाले तत्काल ठूलो सख्यामा क्वारेनटाइन निर्माणमा केन्द्रीत हुन आग्रह गर्नुभयो । यो समय अन्य विषयमा विवाद गर्ने नभई कोरोना विरुद्ध लड्न एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा उठेका विषयलाई सम्वोधन गर्दै नगरप्रमुख छत्रराज पौडेलले आफूले शपथ खाएको दिन देखि पार्टी ले नभई जनताले भने अनुसार काम गरेको भन्दै कुनै पार्टीले दिएको निर्देशनको पालना नगर्ने बताउनुभयो । आफू कानुन र विधिसम्मत अघि वढेको भन्दै सुझाव सल्लाह दिन तर निर्देशन नदिन आग्रह गर्नुभयो । नगरलाई कारोना भाइरस संक्रमण फैलन नदिन पीसीआर परीक्षणको दायार वढाएको भन्दै अहिले यसैमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । साथै नगरबाट वितरित राहत लगायत विकास निर्माणका योजनाहरुमा पूर्ण पारदर्शीता रहेको बताउनुभयो ।

बैठकमा नगर उपप्रमुख विष्णु कुमारी कडेँलले क्वारेनटाइको सुधारका कामहरु भइरहेको भन्दै कुनै पनि निर्णयहरु गर्दा छलफल र सल्लाह भए विवाद नहुने बताउनुभयो । नगरप्रमुख एक्लै अघि वढ्न खोज्दा नगरभित्र समस्या आइरहेको उहाँको भनाई थियो ।

बैठकमा जनता समाजवादी नेपालका अध्यक्ष टेक वहादुर गुरुङ, राप्रपाका अध्यक्ष सोम वहादुर भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य के एल सिँह राना, नगरअध्यक्ष चीन वहादुर सारु लागयतले क्वारेनटाइन बढाएर व्यस्थित गर्न सुझाव दिनुभयो । बैठकमा गैडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्याय, गैडाकोट १० का वडाअध्यक्ष देवीदत्त कडेँल, गैडाकोट ७ का वडासदस्य इश्वरी प्रसाद चापागाई, सशस्त्र प्रहरी नायव उपरीक्षक भानुभक्त लम्साल,डा रमेश प्रसाद आचार्य,जनस्वास्थ्य अधिकृत झलकराज पौडेल, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply