चोरीमा संलग्न २ जना पक्राउ, ७ जना फरार, सोही विद्यालयमा अध्ययनरत, खोजी कार्य जारी

0


प्रेम क्षेत्री,
जेठ १३, गैंडाकोट । गैंडाकोट ५ स्थित जनक नमुना माध्यामिक विद्यालयमा चोरीको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एकजनालाई रंगेहात पक्राउ गरिएको हो भने अर्का एक जनालाई लुकिछिपि बसेका समयमा बिहान ३ बजेको समयमा सोही स्थान नजिकबाट पक्राउ गरिएको हो । राती स्थानीयले देखेपछि उनिहरुलाई पक्राउ गर्न सफल भएको हो । घटनामा चोरको गिरोह नै संलग्न रहेको पाईएको छ ।
स्थानीयको सहयोगमा चोरीमा संलग्न ती व्यक्तिहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । घटनामा संलग्न अन्य ७ जनाको खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।
घटनामा संलग्न व्यक्तिहरु केही स्थानीय र केही बाह्य क्षेत्रका रहेको भएपनि उनिहरु गैंडाकोटमा नै बस्दै आएको खुलेको उहाँले बताउनुभयो । केही भने सोही विद्यालयमा अध्ययनरत रहेको समेत खुल्न आएको छ ।
५ वटा सिसि क्यामेरा तोडफोड र चोरी भएकोमा २ वटा सिसि क्यामेरा भने बरामद गरिएको प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । घटनामा संलग्न व्यक्तिहरुले मादक पदार्थ सेवन गरेको समेत पाईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको र पक्राउ परेका व्यक्तिलाई म्याद थप गरि अनुसन्धान कार्य अघि बढाईएको उहाँले बताउनुभयो ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनका समयमा गैंडाकोटमा चोरीका घटना बढिरहेका छन् ।
यसै सातामात्रै गैंडाकोट ५ राधा दामोदर चोकमा घर बाहिर राखिएको एक मोटरासाईकल र खोरबाट रातको समयमा एक खसी चोरी भएको थियो ।  गत १ गते गैंडाकोट दर्शनचोक भन्दा थोरै भित्रबाट गर्भिणी बाख्रा समेत चोरी भएको थियो ।

Share.

Leave A Reply