चितवनमा हिरासतमा राख्नुपर्ने आरोपितलाई श्रव्यदृश्यमार्फत म्याद थप

0

चितवन, १२ जेठ  : जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रहेकाको जिल्ला अदालतमा म्याद थप श्रव्यदृश्यमार्फत गर्न शुरु गरेको छ ।

कार्यालय र मातहतका गरी चार मुद्दाका सात जना आरोपित म्याद थपसमेत सोही प्रक्रियाबाट गरिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार इलाका प्रहरी कार्यालय खैरहनीबाट दुई वटा मुद्दा, इलाका प्रहरी कार्यालय टाँडीबाट एउटा र जिल्ला प्रहरी कार्यालयबाट एउटा मुद्दाको श्रव्यदृश्यमार्फत म्याद थप गरिएको हो ।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने भएकाले यसको जोखिमको न्यूनीकरणका लागि जिल्ला अदालतको निर्देशनमा कार्यालयले प्रविधिको प्रयोग शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यसअन्तर्गत अनुसन्धानका क्रममा प्रहरी हिरासतमा राख्नुपर्ने आरोपितलाई म्याद थपका लागि अदालत नलगी प्रविधिको प्रयोग गरी प्रहरी कार्यालयबाटै श्रव्यदृश्यमार्फत उपस्थित गराइने कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । (रासस)

Share.

Leave A Reply